अमेरिकामा बिच्याट र टिकटक प्रतिबन्धित हुने



न्युयोर्क, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयसम्म सम्झौतामा सहमति व्यक्त नगरेको खण्डमा आइतबारदेखि अमेरिकी एप स्टोर्सबाट टिकटक र बिच्याट प्रतिबन्धित हुने भएका छन्। अमेरिकाको वाणिज्य विभागले अमेरिकामा रहेका सबैलाई कुनै पनि प्लेटफर्मको कुनै पनि एप स्टोरमार्फत भिडियो शेयरिङ तथा मेसेजिङ एपहरू डाउनलोड गर्न नदिने जनाएको छ।

ट्रम्प सरकारले ती कम्पनी राष्ट्रिय सुरक्षामा आँच पु¥याउने खतरा रहेको तथा युजर डाटा चीनलाई उपलब्ध गराउन सक्ने बताउँदै आएको छ। तर, चीन र ती दुवै कम्पनीले अमेरिकी भनाइलाई अस्वीकार गर्दै आएका छन्। आइतबारदेखि बिच्याटलाई अमेरिकामा पूर्णरूपमा बन्द गरिनेछ। तर, आगामी १२ नोभेम्बरसम्म अझै पनि अमेरिकामा रहेका सबैले टिकटक चलाउन सक्नेछन्। तर, सो मितिदेखि टिकटक पनि पूर्णरूपमा प्रतिबन्धित हुन सक्ने बताइएको छ।

टिकटकले भनेको छ– ‘सरकारी आदेश र वाणिज्य विभागप्रति हाम्रो असन्तुष्टि र असहमति रहेको छ। हामीले यसअघि नै राष्ट्रपति ट्रम्पको सुरक्षा चिन्ताप्रति मध्यनजर राख्दै आवश्यकभन्दा बढी मात्रामा पारदर्शिता अपनाउने प्रतिबद्धता जनाइसकेका छौं। अमेरिकी जनतालाई हाम्रा सेवाबाट वञ्चित गराउन दिइएको अन्यायपूर्ण कार्यकारिणी आदेशविरुद्ध हामीले निरन्तररूपमा चुनौती दिनेछौं।’

गत अगस्टमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यवसायीलाई ती दुवै चिनियाँ कम्पनीसँग सहकार्य गर्न छोड्न ४५ दिने म्यादसहितको उक्त प्रतिबन्ध आदेशपत्रमा हस्ताक्षर गरेबमोजिम वाणिज्य विभागले यो कदम चाल्न लागेको हो।

तर, यदि अमेरिकी प्राविधिक कम्पनी ओराकल र टिकटकका मालिक बाइटडान्सबीचको प्रस्तावित साझेदारी सहमति ट्रम्पबाट अनुमोदित भएको खण्डमा भने एपमाथि प्रतिबन्ध लगाइने छैन। तर, ट्रम्पले यस सम्झौतामाथि अनुमोदन गर्ने कुरा स्पष्ट भइसकेको छैन। तर, उनले आइतबारको अन्तिम घडीअघि नै यसबारे पुनरावलोकन गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्