मेडिकलजन्य फोहोरले सफाइकर्मी जोखिममा



न्युज अफ नेपाल,हेटौंडा ।

१० वर्षदेखि हेटौंडा उपमहानगरपालिकामातहतमा सरसफाइको काम गर्दै आउनुभएका ४४ वर्षीय इन्द्रबहादुर लामा आफू कोरोनाका कारण असुरक्षित भएको बताउनुहुन्छ । लामा हरेक दिन अस्पताल तथा मेडिकलजन्य फोहोर संकलन गरी उचितरुपमा विर्सजनको काम गर्नुहुन्छ । यस्तो महामारीको समयमा पनि उहाँले यस्तो कामले मुक्ति पाउनुभएको छैन ।

बरु, अझै जोखिम मालेर काममा लाग्नुको विकल्प छैन । लामालाई सरसफाइको कामबाट पन्छिन मन छैन । तर, सबैले सबैको स्वास्थ्यको ख्याल गरिदिने हो भने सहज र जोखिम कम हुन्थ्यो भन्ने चाहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो–प्रयोग गरिएको मास्क र पञ्जाहरु झोलामा राखिदिए त हामीलाई पनि संक्रमणको जोखिम कम हुन्थ्यो । एउटा पञ्जा र साधारण मास्कको भरमा काम गर्नुपरेको छ । कोरोना लाग्ला भन्ने डर धेरै छ ।

‘जहिले फोहोरहरु झोलामा राखिदिनुस् भन्छु । तर, खुला हुन्छ । मेडिकलका मान्छे भनेकै टेर्दैनन् । कामै यही भएपछि गर्न परिहाल्यो भनेजस्तै गर्छन्,’ उहाँले सरसफाइ कर्मचारीलाई धेरै जोखिम भएको गुनासो गर्नुभयो–मेडिकल सञ्चालक मान्दैनन् । उल्टै गाली पो नै गर्ने गरेका छन् ।

लामामात्र होइन, उहाँजस्तै बाध्यताले जोखिम मोलेर सरसफाइमा जुट्ने कर्मचारी धेरै छन् । उपमहानगरपालिका वातावरण उपशाखा प्रमुख वरिष्ठ सहायक केशब देबकोटाले प्रयोग गरिसकेको मास्क, पञ्जा जथाभावी फालिदिने र मेडिकलका सञ्चालकले झोलामा नराखिदिनाले सफाइ कर्मचारीलाई जोखिम बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो–मानिसहरु आफू सुरक्षित बन्ने अनि अरुको पर्वाह नगर्ने कारण हेटौंडामा कोरोना फैलँदैं गएको छ । लगाइसकेको मास्क सुरक्षितसँग झोलामा राखेर फोहोरको गाडीमा हालिदिए कोही कसैलाई पनि जोखिम हुने थिएन । मेडिकलमा फोहोर संकलन गर्न जाँदा पनि आफंैले उठाएर ल्याउनपरेको गुनासो आइरहेका छन् ।

कोरोना भाइरसको त्रासको समयमा उपमहानगरपालिकाबाट खटिएका सफाइ कर्मचारीको ज्यान निकै जोखिममा रहेको वातावरण उपशाखा प्रमुख वरिष्ठ सहायक देबकोटाको भनाइ छ । वातावरण शाखाबाट ३० जना सरसफाइ कर्मचारी खटिएको उहाँले बताउनुभयो । हेटौंडामा सञ्चालनमा रहेका मेडिकलको लापरबाहीका कारण सफाइ कर्मचारीलाई समस्या परेको देबकोटाले बताउनुभयो ।

सरकारी निकाय तथा आमसमुदायले रोकथामको उपायहरु अपनाउने गरेका छन् । तर पनि सोचेजस्तो रोकथाम भने गर्न सकिएको छैन । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा बजारमा केही दिनयता कोरोना संक्रमणको दर तीव्ररुपमा फैलँदै गएको पाइन्छ ।

हेटौंडा बजारलाई सफा, सुग्घर बनाइराख्न धेरै जना सफाइ कर्मचारी खटाइएको छ । तर, सरसफाइमा खटिने कर्मचारीका लागि जोखिम कम गर्नेतर्फ भने सरकारी निकायले त्यति चासो नदिएको देखिन्छ । हेटौंडामा मास्क लगाउनेको संख्या बढेको छ । मास्क लगाउने बढेसँगै प्रयोग गरिएको मास्कले जथाभावी फोहोर पनि बढेको छ ।

विषेशगरि अस्पताल, मेडिकल तथा स्वास्थ्य चौकीमा कोरोनाको जोखिम धेरै बढेको छ । अस्पतालमा सावधानी अपनाउने, पीपीआर लगाएर सेवा दिने तथा सेनिटाइज गर्ने व्यबस्था मिलाइएको छ । तर, त्यही अस्पताल र मेडिकलजन्य फोहोरलाई सावधानी नै नअपनाई सरसफाइमा जुट्दा जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्