संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य पूरा हुने उपराष्ट्रपतिको विश्वास



काठमाडौँ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य हो”, उहाँले भन्नुभएको छ, “संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई संविधानभित्रै रहेर सम्बोधन गर्न र यसलाई थप परिष्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जाने विश्वास लिएको छु ।”

उपराष्ट्रपतिले संविधानसभाबाट संविधान जारी गर्ने लामो समयदेखिको जनाकाङ्क्षा पूरा गर्न भएका विभिन्न कालखण्डका जनान्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको यस स्वर्णीम दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ । उपराष्ट्रपतिले आफ्ना अधिकार संस्थागत गरेको संविधानप्रति गौरव गर्न सबैमा अपिलसमेत गर्नुभएको छ ।

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउन सरकार अगाडि बढ्दै छः मुख्यमन्त्री राई

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आजको संविधान दिवसले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने र यसप्रति सबै नेपाली सङ्कल्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न तथा सोही अभियानलाई सफल बनाउन ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने प्रादेशिक मूल नाराका साथ प्रदेश सरकार अगाडि बढिरहेको जनाउँदै सोका लागि समाजका सबै वर्ग, समूह, पेशा र क्षेत्रको सहकार्यमा जोड दिनुभएको छ ।

कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास प्रदेश सरकारको प्राथमिकतामा परेको, समावेशी सहभागिता र न्यायपूर्ण समाज निर्माणलाई महत्व दिइएको तथा सबै समुदायका धर्म, संस्कृति, भाषा, लिपी कलाको संरक्षण गर्दै राष्ट्र निर्माणलाई मजबुत बनाउने अभिप्रायका साथ प्रदेश सरकार आफ्नो मध्यावधि कार्यावधिको समीक्षा गर्दै बाँकी समयमा गरिने कार्यको योजनासहित केही दिनमा प्रस्तुत हुने समेत जानकारी गराउनुभएको छ ।

मुख्यमन्त्री राईले ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ केन्द्रित हुन प्रदेशका सबै राजनीतिक दल र प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीलाई आह्वान गर्दै यस अवसरमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन् सकोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।
संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान

कास्की –गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सःुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

आजको दिनले हामी सबैमा समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले जनतालाई राजनीतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आआफ्ना तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागि आह्वान गर्नुभएकोे छ ।

राष्ट्रिय समृद्धिको प्रमुख बाधक भ्रष्टाचार र कमिशनतन्त्रविरुद्ध जुट्नका लागि राष्ट्रिय सङ्कल्पका लागि आग्रह गर्दै उहाँले कोभिड–१९ को सङ्क्रमणबाट बच्न सजग र सतर्क रहन उहाँले सन्देशमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्