एकैपटक ५६ जनाले जिते कोरोना



घनश्याम बगाले, नवलपरासी । 

पूर्वी नवलपरासीमा शुक्रबार एकै पटक ५६ जना कोरोना संक्रमण निको भएर घर फर्केकाछन् । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको आईसोलेशनमा रहेका २२ महिला तथा ३४ पुरुषमा आर टि पिसिआर नेगेटिभ देखिए पछि डिस्चार्ज गरिएको चिकित्सालयले जनाएको छ ।

कोभिड १९ संक्रमणबाट निको भई घर फिर्नेहरुमा २ वर्षीय बालिका देखि ७६ वर्षीय बृद्ध सम्म रहेको चिकित्सालयका डा. विनोद पोैडेलले बताउनु भयो ।

प्राकृतिक जीवनसैली, सात्विक आहार, योगाभ्यास र मनोरञ्जनात्मक नृत्य सहित आईसोलेशनमा रहेका अन्य विरामीहरु कसैमा पनि स्वास्थ्य समस्या नरहेको चिकित्सालय स्रोतले जनाएको छ ।

कोरोनाका कारण ३१ वर्षीय युवकको मृत्यु

पूर्वी नवलपरासीको देवचुली ११ का कोरोना संक्रमित ३१ वर्षीय युवकको शुक्रबार विहान भरतपुरमा मृत्यु भएको छ ।

स्वासप्रस्वास तथा निमोनियाका कारण चितवन मेडिकल कलेज भरतपुरमा भदौ २५ गते भर्ना भएका युवकमा २६ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

निमोनियाका कारण अवस्था गंभीर भएका युवकलाई सघन उपचारकक्षको भेन्टिलेटरमा राखि उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका निर्देसक प्राध्यापक डा. दयाराम लम्सालले जानकारी दिनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका अनुसार जिल्लामा ६ जनाको कोरोनाका कारण ज्यान गएको छ भने संक्रमित हुनेहरुको संख्या ७ सय ४१ पुगेको छ ।

सदरमुकाम कावासोतीमा १५ संक्रमित

पूर्वी नवलपरासीको सदरमुकाम कावासोती नगरमा शुक्रबार १५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

स्थानीय स्वास्थ्य केन्द्रका दुई स्वास्थकर्मी सहित कावासोती २ का ९ जना ३ का ५ जना र १४ नं. वडाका १ जनामा कोभिड १९ संक्रमण देखिएको नगर स्वास्थ्य प्रमुख कृष्ण नागिलाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्