कोही त होस्…



  • विपना राई

कोही त होस् जसले समाउँदा हात, स्पर्श मुटुको होस्
कोही त होस् जो रातको अँध्यारोमा मात्र होइन दिनको उज्यालोमा पनि सङ्गै मुस्कुराओस्

हेरेर आँखामा बुझोस् मनको गहिराई
सुनेर आवाज महसुस गरोस् अदृश्य दुखाई

जुन तारा र फूलको कुरा होइन, काँडाहरुको बीचमा बाँच्न सिकाओस्
झरेको आँसु पुछिदिने त भेटिएलान् धेरै, कोही त होस् आँसुलाई मिठो हाँसोमा बदलिदियोस्

समयले भर्न नसकेको घाउलाई हेरेर शङ्का होइन आत्मियता देखाओस्
लेख्दालेख्दै अधुरो रहेको कहानीलाई पुरा गर्नमा होइन सुन्नमा दिलचस्पी होस्

कोही त होस् जसले समाउँदा हात स्पर्श मुटुको होस्
कोही त होस् जो एक दुई पानामा सीमित नभएर पुरै किताब बनोस्

पलभरको खुसी दिएर छोड्नुमा होइन जिन्दगीभरको साथमा बिश्वास गरोस्
मेरो पागलपनलाई देखेर, मेरो ठाउँठाउँमा सिलाइएको मुटुलाई देखेर भाग्नमा होइन, सामिप्यता बढाउनमा उत्सुक होस्
कथा कहानी र कविताबाट बाहिर निस्किएर, यथार्थको धरातलमा उभिएर माया गरोस्

मेरो हरेक गल्तीमा रिसाओस्, चिच्याओस्, कराओस् तर एउटै गल्तीलाई पनि माफ गर्न नसक्ने पत्थरको मुटु नहोस्
कोही त होस् जो एउटा गल्तीमा हात छोड्नमा होइन हातलाई कसिएर समाउनमा बिश्वास गरोस्

मेरो स्वतन्त्रतालाई देखेर ईष्याले जल्ने होइन प्रेमले सुम्सुम्याउने होस्
मेरो निस्फिक्री उडानलाई रोक्नमा होइन, सङ्गै उडान भर्नमा साथ दियोस्
कोही त होस् जसले समाउँदा हात स्पर्श मुटुको होस्

प्रतिक्रिया दिनुहोस्