सार्क राष्ट्रका अर्थमन्त्रीहरूको बैठक : सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाउने प्रस्ताव



नेपाल समाचारपत्र, काठमाडौं
सार्क राष्ट्रका अर्थमन्त्रीहरूको १५औं भर्चुअल बैठक बिहीबार भएको छ । नेपालबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधित्व गर्नुभएको थियो ।
बैठकको अध्यक्षता गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ को कारणले विश्व अर्थतन्त्रसँगै दक्षिण एसियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको बताउनुभयो । उहाँले संकटबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राख्नुभयो । नेपाल तथा दक्षिण एसियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्दै उहाँले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्क राष्ट्रहरु क्रियाशील रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा सम्भव हुने धारणा व्यक्त गर्नुभयो । सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाउँदै आर्थिक पुर्नउत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्ने र उनीहरूको मनोसामाजिक समस्यासमेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उक्त बैठकमा सार्कका महासचिव इसाला विराकुन, एसियाली विकास बैंकका उपाध्यक्ष शिसिन चेनले उद्घाटन मन्तव्य राख्नु भएको थियो । ‘कोभिड–१९ र दक्षिण एसियाली अर्थतन्त्र’ विषयमा एसियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासायुक्ती सावादाले प्रस्तुति दिनु भएको थियो । उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरू र प्रतिनिधिमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रलाई क्रियाशील बनाई दक्षिण एसियाली अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली प्रतिनीधिमण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गर्नु भएको हो । एसियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एसियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्