म्याग्दी कोरोना मुक्त जिल्ला



प्रताप बानियाँ, म्याग्दी ।

देशैभर कोभिड–१९ संक्रमणका बिरामीहरुको संख्या बढिरहेको समयमा हिमाली जिल्ला म्याग्दी भने सक्रिय कोरोना बिरामीमुक्त जिल्ला बनेको छ । बेनीको आईसोलेसन अस्पतालमा उपचाररत एक १९ वर्षीय युवाको पछिल्लो स्वाबको नतिजा नेगेटिभ आएसँगै जिल्ला कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

गएको भदौ २८ गते लिइएको १९ वर्षीय युवासहित १७ जनाको स्वाबको प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशको पोखरामा गरिएको परीक्षणको नतिजा बुधबार नेगेटिभ आएको थियो । सक्रिय संक्रमित बिरामीसहित परीक्षण भएका सबै स्वाबको नतिजा नेगेटिभ आएपछि म्याग्दी जिल्ला कोभिड–१९ संक्रमित सक्रिय बिरामीमुक्त बनेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

संक्रमित युवा गएको भदौ १ गते पोखराबाट तालिम सकेर जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यक्षेत्रमा खटिन आएकोमा परीक्षणको क्रममा उनलाई संक्रमण पुष्टि भएको थियो । यसैबीच कोरोना जितेका १९ वर्षीय ती युवालाई कोरोना विशेष आईसोलेसन अस्पतालबाट डिस्चार्ज गरी विदाई समेत गरिएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खादा ओढाएर तथा बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर सागर लामिछानेले डिस्चार्ज प्रमाणपत्र हस्तान्तरण गरी उनलाई विदाई गर्नुभएको थियो । कोरोना जितेका युवालाई विदाई गर्दै प्रजिअ अधिकारीले आईसोलेसनबाट डिस्चार्ज भए पनि कम्तीमा एक हप्तासम्म सुरक्षा सतर्कता अपनाएर होम क्वारेन्टाइनमा बस्न सुझाव दिनुभयो ।

कोरोना जितेर डिस्चार्ज हुने पछिल्लो युवासहित म्याग्दीमा हालसम्म ४९ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । त्यस्तै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको जलजला गाउँपालिकाको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशुको काठमाडौंमा मृत्यु भएकोमा उनको कोरोना पुष्टि भएको थियो । पुरानो ठेगानाअनुसार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीमा एक जनाको मृत्यु कायम गरिदिएपछि उक्त संख्यालाई पनि गणना गर्दा जिल्लामा ५० जना संक्रमित भई एक जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

अहिले म्याग्दीको बेनीमा रहेका दुईवटा क्वारेन्टाइनमा कुल ३५ जनालाई राखिएको छ । सदरमुकाम बेनीबजारस्थित म्याग्दी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा ३१ र माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ४ जना रहेको जिल्ला कोभिड–१९ कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का सदस्य सुरत केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्