घरबेटीको उर्दीः ‘भाडा तिर्ने भए तिर, नत्र पुलिस बोलाउँछु’



बागलुङ । पाँच वर्षको जापानको बसाइपछि नेपालमै केही गरौं भन्ने सोचका साथ बागलुङ बजारमा लाखौं लगानी गरी रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका काठेखोला गाउँपालिका–१ पालाका दिल थापालाई कोरोनाले नराम्ररी गिजोल्यो ।

बागलुङ बजारको गोल्डेनगेट चोकमा मासिक ६० हजार भाडा तिर्ने गरी २०७६ पुस महिनाबाट ‘एम्मी किचन’ नामक रेस्टुरेन्ट शुरू गर्नुभएका थापाको व्यवसाय कोरोनासँगै बन्दाबन्दी र निषेधाज्ञाले धराशयी त बन्यो नै, भाडा तिर्नसमेत समस्या परिरहेको छ ।

थापा भन्नुहुन्छ– ‘पाँच महिनाको भाडामध्ये जम्मा ३० हजार मात्रै छुट भयो, अन्य भाडा ऋण–धन गरेर तिरें ।’ व्यवसाय ठप्प हुँदासमेत भाडा तिर्न पर्ने अवस्थाले अहिले थापालाई जापान छोडेर नेपालमा बेकार आएछु भन्ने लाग्न थालेको छ ।

थापा मात्र होइन, बागलुङ बजारमा मासिक १० हजार भाडा तिर्नेदेखि १ लाख भाडा तिर्ने सयौं व्यवसायी छन् । जसको कोरोनाका कारण बन्दाबन्दी र निषेधाज्ञाले उठिबास नै लगाएको छ । व्यवसाय सञ्चालनमा नआउँदासमेत घरभेटीलाई भाडा तिर्नुपर्ने समस्याले बागलुङका करिब दुई दर्जन बढी व्यवसायी व्यवसायबाटै पलायन भएका छन् ।

जसमध्ये सुनचाँदी पसल, इलेक्ट्रोनिक्स, फेन्सी तथा अन्य पसल गरी दुई दर्जन व्यवसायीले सटर खाली गरिदिएको उद्योग वणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

तीन महिनासम्म व्यवसाय बन्द गरेर घरबेटीलाई भाडा तिर्दै आउनुभएका बागलुङ बजारको फेसबुक इलेक्ट्रोनिक्सका सञ्चालक शंकर जिसीको कहानी पनि उस्तै छ । व्यवसाय ठप्प भएपछि ऋणधन गरेर घरभेटीलाई भाडा तिरी सामान पोको पारेर सटर खाली गर्न बाध्य भएको उहाँको भनाइ छ ।

लामो समय विदेशमा रोजगारी गरेर इलेक्ट्रानिक्स सामान मर्मत गर्दै आउनुभएका जिसीको कोरोनाका कारण १० वर्षदेखि सञ्चालनमा आएको पसल बन्द भयो ।

‘व्यवसाय सञ्चालनमा आएपछि भाडा मागेको भए पनि हुन्थ्यो’, शिवधारा चोकमा सुनचाँदी व्यवसाय गर्दे आउनुभएका मनबहादुर विकले भन्नुभयो– ‘व्यवसाय ठप्प भएको अवस्थामा भाडा दिने भए दे, नत्र प्रहरी बोलाउँछु भनेपछि बाध्य भएर सटर खालि गरको हुँ ।’

बागलुङका युवा व्यवसायी सुवास श्रेष्ठले बागलुङ र पोखराको विभिन्न व्यवसाय गरेबापत मासिक ३ लाख बढी भाडा तिर्दै आउनुभएको छ । श्रेष्ठले चैत महिनादेखि घरधनीलाई भाडा नदिएको बताउनुभयो ।

‘हामीले भाडा छुट दिनका लागि व्यवसायीलाई आग्रह गर्दै आएका छौं, केही घरबेटीले भाडा छुटसमेत गर्दै आएका छन्’, उद्योग वणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले भन्नुभयो– ‘सटरै खालि गरेर व्यवसाय छोडेका व्यवसायीको हकमा घरभेटीलाई समन्वय गरेर पुनः छुटका लागि पहल गर्छौ ।’

व्यवसायीहरूले समस्या परेमा उद्योग वाणिज्य संघमा जानकारी गराउनका लागि राजभण्डारीले अनुरोध गर्नुभयो । सर्वोच्च अदालत समेतले भाडा छुट दिन आदेश दिए पनि कार्यान्वयनमा आएको छैन ।

कोरोना महामारीका बीचमा सरकारले घरजग्गा भाडामा लगाउनेले भाडा मिनाह गर्न अनुरोध गरेरमात्र नागरिक प्रतिको जिम्मेवारी पूरा नहुने बागलुङ नगरपालिका–२ का घरधनी अरुण श्रेष्ठ बताउनुहुन्छ । ‘सरकारले शहर बजारमा ठडिएका घर मात्र देख्यो’, श्रेष्ठ भन्नुहुन्छ– ‘बैंक र सहकारीमा भएको लाखाैं ऋण कसले देख्छ ।’

घरबेटीबाट भाडामा लिएका संरचना पुनः भाडामा लगाउनेहरूको समस्या पनि उस्तै छ । बागलुङ नगरपालिका–३ हल्लनचोकका डिबी कार्की आफूलाई घरधनी छुट दिए मात्र आफूले घरमा भाडा लगाएकालाई छुट दिन सक्ने बताउनुहुन्छ ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले घरबेटीले भाडामा बसेकालाई जति प्रतिशले भाडा छुट गर्छन् सोही मात्रामा नगरपालिकाले घरबहाल करमा छुट दिने बताउनुभयो ।

विषम परिस्थितिमा नाफा–घाटा हैन व्यवसायलाई बचाउन आवश्यक पहल गर्नुपर्ने प्रध्यापक डा. सुदर्शन सिलवालले सुझाव छ । एउटा व्यवसाय बन्द हुँदा व्यवसायीलाई मात्र नभएर घरबेटी, व्यवसायीका परिवार, स्कुल–कलेजको फिदेखि करसम्मका कुरा जोडिएको हुने उहाँको भनाइ छ ।

त्यस्तै बैंकको ब्याजमा छुट, राहतका कार्यक्रमलाई जोड्न सकेमा मात्रै आजको अवस्थामा व्यवसाय टिकाउन सकिने प्रध्यापक डा. शिलवालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्