रोमाञ्चक खेलमा बर्नमाउथको जित



लन्डन, (एजेन्सी)

फुटबलमा कहिलेकाहीं चर्चित टोलीको भन्दा केही नाम चलेका टोलीबीचको खेलले दर्शकलाई मनोरन्जन दिएका हुन्छन्। यसपटक काराबाओ कप (ईएफएल) को एउटा खेल पनि त्यस्तै भयो। तर, कोरोना भाइरसका कारण धेरै दर्शकले सो रोमाञ्चक खेलको भरपुर आनन्द प्राप्त गर्न भने सकेनन्। मंगलबार राति बर्नमाउथ र क्रिस्टल प्यालेसबीचको खेल निकै रोमाञ्चक बनेको थियो।

त्यसो त दुवै टोलीले निर्धारित समयमा गोल गर्न सकेका थिएनन्। खेलको निर्णय पेनाल्टी सुटआउटमा लिनुपरेको थियो। सो पेनाल्टी सुटआउटमा दुवै टोली गरी २० खेलाडीले गोल गरेका थिए। जुन खेलमा बर्नमाउथले क्रिस्टल प्यालेसलाई ११–१० ले हराएको थियो। योसँगै बर्नमाउथले अर्को साता हुने तेस्रो चरणमा इंग्लिस प्रिमियर लिगको महारथी म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ।

सुटआउटमा बर्नमाउथका डाभिड ब्रुक्स, साम सुरिज, फिलिप बिलिङ, ज्याक सिम्पसन, डान गोस्लिङ, जोर्डन जेमुरा, जेफर्सन लेर्मा, डोमिनिक सोलान्के, लोयड केल्ली र नाम्दी आफोबोरले गोल गरे। बर्नमाउथका गोलकिपर यस्मिर बेगोभिचको प्रहार क्रसबारमाथिबाट गएको थियो।

त्यस्तै, क्रिस्टलका लुका मिलिभोजेभिच, एन्डोर्स टाउट, जोर्डन एयु, मामोडोउ साको, मार्टिन केल्ली, रायन इनिस, इभिरेची इजी, म्यास मेयर, मिचे बात्सुयाई र जारोस्ला ज्याकले गोल गरे। तर, गोलकिपर वायने हेनेसीको हानेको प्रहार बर्नमाउथका गोलकिपरले बचाएका थिए।

यसैगरी, रायन पे्रmजरको एक मात्र गोलको सहयोगमा न्युक्यासल युनाइटेडले च्याम्पियनसिप टोली ब्लाकबर्न रोभर्सलाई १–० ले हराएको छ। डेब्यँ गरेका पे्रmजरले ३५औं मिनेटमा गरेको गोल नै टोलीको जितका लागि पर्याप्त भएको थियो। न्युक्यासलले आइतबार ब्राइटनसँग खेल्नेछ।

यसैगरी, सेबास्टियन हालरले ४ मिनेटमा दुई गोल गर्दा वेस्ट ह्यामले लिग वान क्लब चाल्र्टनलाई ३–० ले हराएको छ। फ्रान्सेली खेलाडीले एन्ड्रिय यार्मोलेन्कोको पासमा गोल गर्दै खेलको २२औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए।

त्यस्तै, उनले २६औं मिनेटमा रोबर्ट स्नोडग्रासको क्रसमा गोल गरेका थिए। उक्त गोलसँगै टोली २–० को सुरक्षित स्थितिमा पुगेको थियो। फेलिप एन्डरसनले ८०औं मिनेटमा गोल गरेपछि वेस्ट ह्यामको तेस्रो चरणमा पुग्ने निश्चित भएको थियो।

प्रतिक्रिया दिनुहोस्