‘वैज्ञानिकलाई कोभिड केन्द्रित अनुसन्धानमा खटाउनुपर्छ’



नेपाल समाचारपत्र, काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले तत्काल कोभिड–१९को भ्याक्सिन आइहाल्ने अवस्था नभएकोले नागरिक आफै सचेत हुनुपर्ने बताउनुभएको छ । एकअर्काबीच भौतिक र व्यक्तिगत दूरी कायम गरी स्वाथ्य मापदण्ड पूरा गरे कोरोनालाई सजिलै जित्न सक्ने उहाँको धारणा छ ।

आठौं विज्ञान दिवसको अवसरमा बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले स्वस्थ गुणस्तरका लागि विज्ञान आवश्यक रहेको बताउनुभएको छ ।

विज्ञानको सहयोगमा मात्र रूढीग्रस्त समाजलाई परिवर्तन गर्न सक्ने उल्लेख गर्दै उहाँले त्यसकै लागि सरकारले विज्ञानसँगै वैज्ञानिकलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले अब नेपालका वैज्ञानिकलाई कोभिड केन्द्रित अनुसन्धानमा खटाउनुपर्ने धारणा राख्नुभयो ।

अहिले नेपालभर ९० हजारको संख्यामा वैज्ञानिक रहेका र उनीहरुलाई विभिन्न आविष्कारसहित विभिन्न कार्यक्षेत्रमा खटाउनु
आवश्यक रहेको उहाँको भनाइ छ । सरकारले अमृत साइन्स क्याम्पस स्थापना भएको दिन अर्थात् असोज १ गतेलाई विज्ञान दिवसको रुपमा मनाउँदै आएको छ ।

‘अब नेपालका वैज्ञानिकलाई कोभिड केन्द्रित कार्यक्रममा आकर्षित गराउनुपर्छ, यसले गर्दा नेपालको नाम विश्वसामु परिचित गराउन सकिन्छ।’ –मन्त्री पोखरेलको धारणा थियो । विद्यालय तहका विद्यार्थीलाई विज्ञान विषयमा आकर्षित गर्न सरकारले नयाँ योजना ल्याउने तयार गरेको उहाँको भनाइ थियो ।

मन्त्रालयले गएको वर्ष विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकेको विषयमा मन्त्री पोखरेलले सो नीतिलाई कानुन बनाउने र कार्यान्वयनमा लैजाने चरणमा रहेको बताउनुभयो ।

मन्त्रालयले बनाएका यस्ता दर्जनौं नीति कार्यान्वयन हुन कठिन भइरहेको छ। मन्त्री पोखरेलले नीति कार्यान्वयनममा ल्याउने तयार भइरहेको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयका सचिवको अध्यक्षतामा समिति बनेको जानकारी दिनुभयो ।

नीतिमा बायो, न्यानो तथा न्युक्लियर प्रविधिको विकास र उपयोगबाट कृषि क्षेत्रको व्यावसायीकरण, विविधिकरण एवं आधुनिकीकरणमा सहयोग गर्ने, विज्ञान शिक्षणलाई प्रयोगात्मक क्रियाकलापसँग आबद्ध गरी शिक्षणलाई व्यावहारिक र रुचिपूर्ण बनाउनेलगायतका विषय समावेश गरीएको छ ।

उहाँले देशका विज्ञान विषय र वैज्ञानिकलाई काममा लगाउन ६ सय ३७ पालिकामा प्राविधिक विद्यालयको पहुँच पुगेको र थपमा विस्तार गर्ने काम भइरहेको बताउनुभयो । उहाँले गएको वर्षमा भएको कामको प्रगतिको समीक्षा गर्ने र यो वर्ष नयाँ योजना तय गर्न विज्ञान दिवस मनाउन लागिएको उल्लेख गर्नुभयो ।

विज्ञान र वैज्ञानिकको विषय आविष्कार योजनालगायत दीर्घकालीन विकासका लागि पूर्व विज्ञान मन्त्री गणेश शाहको अध्यक्षतामा समिति गठन गरेर सो समितिले दिएको प्रतिवेदनको आधारमा नयाँ योजना तय गर्ने कार्य भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रमममा संग्रहालय विकास समितिले तयार गरेको वेब साइटको शुभारम्भ गर्नुभएको थियो । वेबसाइटमा समितिले गरेका गतिविधि विकास र योजनालगायत विषय समावेश गरिएको छ ।

विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले विज्ञानबाट मुलुक परिवर्तन गर्न अब वैज्ञानिक क्रान्तिको आवश्यक रहेको बताउनुभयो । उहाँले विज्ञानको विकासले नै मुलुकलाई विश्वमा परिचित गराउन सकिने बताउनुभयो ।

विज्ञान र त्यसले गरेको विकासको विषयलाई समेत समावेश गरिने लक्ष्यका साथ तयार गरेको वेबसाइटमा संग्रहालयमा रहेको सबै विवरण राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्