महानगरदेखि गाउँसम्म प्रहरीको पेटिका



न्युज अफ नेपाल,हेटौंडा ।

नागरिकबाट प्रहरीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने निर्णयअनुरुप तयारी गरेको छ । प्रथम चरणअन्तर्गत् असोज १ गतेबाट प्रदेशभरका २५ नगरपालिका, १ महानगरपालिका, १ उपमहानगरपालिका र १ गाँउपालिका गरी २८ वटा स्थानीय तहमा पेटिका राखिने छ ।

प्रहरी कार्यालयका साथै प्रहरीबाट सम्पादन भएका कामकारबाहीका सम्बन्धमा आमनागरिकबाट प्राप्त हुने सल्लाह/सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह/सुझावअनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्धेश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालन सम्बन्धी कार्ययोजनासमेत निर्माण गरिएको छ ।

कार्ययोजनामा उल्लिखित व्यबस्थाअनुसार तीन चरणमा गरी सबै स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडास्तरसम्म पेटिका राखिने छ । प्रथम चरणमा महानगर, उपमहानगर र सदरमुकाममा रहेको गाउ“पालिका, दोस्रो चरणमा सबै गाउँपालिका र तेस्रो चरणमा सबै वडा कार्यालयमा पेटिका राखिने छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमका प्रमुख सहयोगी स्थानीय निकायसँगको सहकार्यमा सञ्चालन गरिने योजनाअन्तर्गत् स्थानीय निकायमा पेटिका स्थापना गरी नागरिकबाट प्रहरीसँग सम्बन्धित सूचना संकलन गर्ने कार्य गरिने छ ।

नेपाल प्रहरीले नागरिकबाट पृष्ठपोषणप्राप्तिका लागि नागरिक सुनुवाइ कार्यक्रम, सूचना अधिकृतको व्यबस्था, सम्पर्क टेलिफोन नम्बर, प्रविधि प्रयोगलगायत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आए पनि सूचना संकलनका कार्यलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयले नागरिकको सहज र नियमित पहँुच हुने स्थानीय निकायमा प्रहरी सम्बन्धित सूचना प्राप्त गर्ने संयन्त्र विकास गर्नु उपयुक्त हुने महसुस गरी कार्ययोजना तयार गरेको हो ।

स्थानीय निकायसँगको सहकार्यलाई थप दरिलो बनाउँदै दीगो र दीर्घकालीन साझेदारी संयन्त्र निर्माण गने, सर्वसाधारणको प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्ने, प्रहरी सेवा सञ्चालनमा रहेका त्रुटि, कमीकमजोरी पहिचान गर्दै सो कार्यमा आबश्यकतानुसार सुधार गरी प्रहरी सेवालाई सुदृढ बनाउने, प्रहरी दायित्वको प्रभावकारी सम्पादनका लागि आगामी रणनीति तयार गर्न पृष्ठपोषण प्राप्त गर्ने र आचरणविरुद्धका कार्य गर्ने प्रहरी पहिचान गरी संगठन शुद्धीकरण अभियानलाई सवल बनाउने र सुशासन पाउने नागरिकको अधिकारलाई व्यबहारमा उतारी कार्यान्यनमा ल्याउनु लक्ष्य छ ।

गुनासो तथा सुझाव संकलन एवम् व्यबस्थापनका सम्बन्धमा प्रत्येक १ गते सम्बन्धित पालिकाका प्रतिनिधि तथा जिल्ला प्रहरी कार्यालय वा नजिकको युनिटका प्रहरीको संयुक्त रोहबरमा पेटिकामा रहेका पत्रहरु निकाली दस्तखतसहित खामबन्दी गरी संकलन गरिनेछ ।

पत्रहरु प्रदेश प्रहरी कार्यालयका लागि संकलन गरिने भएकोले उजुरीकर्ताको गोप्यतालाई ध्यानमा राखी पेटिकामा भएको पत्र नखोली, नपढी सुरक्षितसाथ जिल्ला प्रहरी कार्यालयले विभिन्न पालिकाहरुबाट एकमुष्ठ संकलित पत्र प्रदेश प्रहरी कार्यालयले प्राप्त गर्ने गरी पठाउने छन् ।

पत्रमार्फत् प्राप्त गुनासो÷सुझावको उचित सम्बोधन र सुनुवाइ गर्ने उत्तरदायित्व प्रदेश प्रहरी कार्यालयको हुनेछ । प्रदेश कार्यालयमा रहने गुनासा तथा सुझाव व्यबस्थापन शाखाले संकलन भएका सुझाव तथा गुनासाउपर छानबिन गरी आबश्यक कारबाही अघि बढाउने छ ।

प्रत्येक प्रदेश तथा जिल्लास्तरका प्रहरी कार्यालयहरुमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गुनासो तथा सुझाव संकलन तथा व्यबस्थापन शाखा रहनेछ । उक्त शाखाले तालुक कार्यालय तथा अन्य विभिन्न स्रोतमार्फत् प्राप्त सुझाव तथा गुनासाको उचित कारबाही एवम् व्यबस्थापनको गर्नेछ । सुझाव तथा गुनासाउपर गरिएको कारबाहीको विवरण प्रदेश प्रहरीको वेबसाइटमा राखिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्