तीनबर्ष पहिले नै असदलाई समाप्त पार्न चाहेको ट्रम्पको खुलासा



वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल असदलाई धरै अघि नै समाप्त पार्न चाहेको खुलासा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले भने – मैले तीन बर्ष पहिले अर्थात २०१७ मा सिरियाली नेता बसर अल असदलाई समाप्त पार्न चाहेको थिएँ । यसका लागि योजना पनि तयार थियो । तर तात्कालिन रक्षा मन्त्री जिम मेटिसले असदको अन्त्य गर्न मलाई रोके ।

मंगलबार अमेरिकी मध्यस्थतामा इजरायलले बहराइन र यूएईसँग कुटनितिक सम्बन्ध स्थापित गर्ने सम्झौतामा हस्ताक्षर गर्न आयोजित समारोहपछि ट्रम्पले उक्त खुलासा गरेको हो । ट्रम्पले यसलाई आफ्नो ठुलो सफलताका रुपमा लिएका छन् ।

एक टेलिभिजन कार्यक्रममा डोनाल्ड ट्रम्पले पहिलो पटक सिरियाली नेतालाई लिएर कडा रुप देखाएका थिए । उनले भने – म उनलाई बाहिर निकाल्न चाहन्थेँ । यसका लागि पुरै तयारी गरिसकेको थिएँ । म उनलाई समाप्त पार्न चाहन्थे ।

सन् २०१७ मा यसका लागि पुरा अपरेसन प्लान पनि गरिसकेको थियो । तर मेटिस यसका लागि तयार थिएन । त्यतिबेला मेटिसलाई धरै महत्व दिइने गरिन्थ्यो । मैले उनलाई पनि हटाईदिएँ ।

मेटिसलाई लिएर पनि ट्रम्पको असन्तुष्टी पहिलो पटक बाहिर आएको हो । दुई बर्ष अघि मात्र उनले ती अमेरिकी जनरलको ब्यवहारमा असन्तुष्टी ब्यक्त गरेका थिए ।

वास्तवमा ट्रम्पले नै मेटिसलाई पेन्टागनमा ल्याएका थिए । तर सिरिया र अन्य केही मुद्दामा ट्रम्प मेटिससँग सहमत थिएन । यद्यपी अमेरिकी राष्ट्रपतिले एक पटक मेटिसलाई महान जनरल पनि भनेका थिए । दुबैले करिब १ बर्ष मात्र सँगै काम गर्न सके । सन् २०१८को अन्त्यतिर मेटिसले राजिनामा दिए ।

सिरियाली नेता असदमाथि सन् २०१७ अप्रिलमा आफ्नैनागरिकमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको थियो । त्यसका केही तस्विरहरु पनि बाहिर आएका थिए । उनीहरु ती नागरिक थिए, जसलाई असदका विरोधी मानिएको थियो । यद्यपी रासायनिक हतियार आक्रमणको पुष्टि कहिल्यै हुन सकेन ।

तर असदले त्यसको मुल्य चुकाउनु पर्ने ट्रम्पले प्रतिवद्धता ब्यक्त गरेका थिए । यसका लागि ट्रम्पले सन् २०१७ को अन्त्यतिर अमेरिकी फौज र कमान्डो दस्तालाई असदको अन्त्य गर्न आदेश दिएका थिए । तर मेटिसका कारण यो सम्भव हुन सकेन । ट्रम्पले भने – असद राम्रो मान्छे त विलकुल होइन ।

प्रतिक्रिया दिनुहोस्