पीएसजीले हार्दा ५ जनालाई रातो कार्ड



पेरिस, (एजेन्सी)  
फ्रेन्च लिग वानका महारथी पेरिस सेन्ट जर्मेन पीएसजीले लगातार दोस्रो हार व्यहोरेको खेलमा ५ जनाले रातो कार्ड पाएका छन्।
लिगअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा मार्सेलीसँग १–० गोलअन्तरले पराजित भएको खेलमा मार्सेलीका जोर्ड एमाभी, डारियो बेनेडेट्टो, पीएसजीका लेभिन कुर्जावा, लियान्द्रो पाराडेस र नेयमारले रातो कार्ड पाएका छन्। खेलको इन्ज्युरी समयमा फाउल गरेको विषयलाई लिएर दुई टोलीका खेलाडी झडपमा उत्रिएपछि पाँचजना खेलाडीले रातो कार्ड पाएका हुन्। जसका कारण खेल केहीबेर रोक्नुपरेको थियो। अब यी पाँचैजना खेलाडीले आगामी खेल गुमाउनेछन्।
त्यसअघि पीएसजीको घरेलु मैदानमा भएको उक्त खेलको ३१औं मिनेटमा फ्लोरिएन थोउभिनले गरेको एक मात्रै गोल मार्सेलीको जितका लागि पर्याप्त भएको छ। उनले डिमिट्री पाएटको पासमा गोल गरेका थिए। एक गोलले पछि परेको पीएसजीले खेलमा फर्कनका लागि बारम्बार प्रयास गरेको थियो। तर, पनि  धेरै मौकालाई सदुपयोग गर्न नसक्दा लगातार दोस्रो हार व्यहोर्न बाध्य बन्यो। 
पीएसजीले खेलभरि नै पकड जमाए पनि विपक्षीको रक्षापंक्ति तोड्न सकेन। पीएसजीका केही राम्रा प्रयासलाई मार्सेलीका गोलकिपरले विफल पारिदिएका थिए। ६८औं मिनेटमा पीएसजीका नेयमारले डिबक्सभित्र पाएको अवसरमा गोल गर्न नसक्दा पीएसजी चुकेको थियो। निर्धारित ९० मिनेट र थप समयमा पनि पीएसजीले गोल फर्काउन नसक्दा नतिजा मार्सेलीले १–० ले आफ्नो पोल्टामा पार्न सफल भएको हो।
यसअघि पनि प्रमुख खेलाडीविना पहिलो खेल हारेको पीएसजीले दोस्रो खेलमा नेयमार र एन्जल डि मारियालाई उतारे पनि दोस्रो हार टार्न सकेन। पहिलो खेलमा शीर्ष श्रेणीमा बढुवा भएको टिमसँग हारेको पीएसजीका मुख्य खेलाडी आइसोलेसनमा हुँदा टिमको प्रदर्शन राम्रो हुन सकेको छैन।
अब यो जितपछि मार्सेली दुई खेलबाट ६ अंक जोडेर लिगको पाँचौं स्थानमा उक्लेको छ। पराजित पीएसजी भने दुवै खेल हारेर १८औं स्थानमा छ। तीन म्याच खेलेको मोनाको ७ अंकसहित अंक तालिको शीर्ष स्थानमा छ।
नेयमारले केही खेल गुमाउन सक्ने
फ्रेन्च लिग वानअन्तर्गत मार्सेलीविरुद्धको खेलमा ब्राजिलियन खेलाडी नेयमारसहित पाँचजनाले रातो कार्ड पाएका छन्। उक्त खेलको अन्तिम समयमा विपक्षी खेलाडीमाथि रंगभेद निम्त्याउने शब्द प्रयोग गर्नुका साथै हातपातसमेत भएपछि नेयमारलाई रातो कार्ड देखाइएको थियो। 
२८ वर्षे नेयमारको मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजसँग भनाभन परेको थियो। जसमा नेयमारले अपशब्द प्रयोग गरेका थिए। यसका साथै भिएआरमा हेर्दा नेयमारले उनको टाउकोमा पनि हिर्काएको देखिएको छ। उनले स्पेनिस खेलाडीले आफूमाथि रंगभेदी शब्द प्रयोग गरेकाले हिर्काएको बताएका छन्। यो घटनाले नेयमारमाथि थप केही म्याच प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ। उनले रातो कार्डका कारण एक खेल गुमाउने त निश्चित नै छ तर पनि थप कारबाहीमा समेत पर्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्