क्रिकेटर ललितको उपचार काठमाडौंमा हुँदै



बैतडी, (नेस)

मोटरसाइकल दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय टोलीका खेलाडी ललितसिंह भण्डारीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत ललितको थप उपचारका लागि नेपाल क्रिकेट संघ, खेलाडी, सरोकारवाला सबैको पहलमा कोहलपुरबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्।

ललितको दाइने हात र दायाँ खुट्टा भाँच्चिएको छ। अहिले उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारीमा धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से१ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म२प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा आइतबार साँझ क्रिकेटर भण्डारी घाइते भएका थिए।

सहयोगका लागि अपिल
यसैबीच नेपाल क्रिकेट संघ क्यानले ललितसिंह भण्डारीको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा क्रिकेट संघको तर्फबाट सहयोग हुने बताउँदै उनको उपचारमा संलग्न मेडिकल टिम र अन्य सरोकारवाला सम्पूर्णलाई सहयोगका लागि अपिल गरेका छन्।

क्यानको आधिकारिक फेसबुक पेजमा विज्ञप्ति निकाल्दै चन्दले भनेका छन्– ‘उपचारमा संलग्न सम्पूर्ण डाक्टर एवं मेडिकल टिमलाई उपचारमा सक्रियरूपमा सहयोग गरिदिन हुन अनुरोध गर्दछु र खेलाडी भाइको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै, निजको उपचारका लागि नेपाल क्रिकेट संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित अन्य सरोकारवाला निकायहरूको पनि सहयोग रहने अपेक्षा राखेको छु।’ यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले पनि ललितको सहयोगका लागि अपिल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्