पाल्पामा साथीको कुटाइबाट एक युवक घाइते



न्युज अफ नेपाल, पाल्पा ।

पूर्वी पाल्पाको रामपुर नगरपालिकामा साथीको कुटाइवाट एक व्यक्ति घाइते भएका छन । सो नगरपालिकाको वडा नं ६ बिजयपुर स्थित बिजय श्रेष्ठको घरमा भाडामा बस्दै आएका रुपन्देही तिलोत्तमा नगरपालिका ४ का ३२ वर्षीय हरि चौधरी आफूसगै बस्दै आएका साथीको कुटाइबाट घाइते भएका हुन् ।

स्थानीय स्तरमा दैनिक ज्यालादारीमा काम गर्दै आएका कपिलबस्तु बाणगंगा नगरपालिका ११ ओदारीका ४० वर्षीय हरमान चौधरीले सुतिरहेको अबस्थामा हरिलाई एक्कासी रडले टाउकोमा हानि घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते चौधरीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भई रहेको छ । कुटपिट गर्ने हरमानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।

त्यसैगरी निस्दी गाउपालिका वडा नं ५ स्थित अकला प्राथमिक विद्यालयको भवनमा परेको चट्याङ्गले क्षति पुर्‍याएको छ ।
विद्यालय भवनको चारकोठा, शौचालय, ५५ वाटको सोलार प्यानल, कार्यालय कोठामा जडान भएका राष्ट्रिय प्रसारण लाइनका विद्युत तारमा पूर्ण क्षति पुगेको प्रधानाध्यापक सेरबहादुर सोतीले बताउनुभएको छ ।

विद्यालयमा चट्याङ्ग परेर क्षति पुगेपछि गाउपालिका र प्रहरीको टोलीले अनुगमन गरी विद्यालयमा दुई लाख बराबरको क्षति पुगेको अनुमान गरिएको वडा अध्यक्ष भिमबहादुर बयम्बुले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्