नेपाल–भारत सीमा क्षेत्रका एक नेपाली युवामाथि गोली प्रहार



विराटनगर ।

मोरङको नेपाल–भारत सीमा क्षेत्रका एक नेपाली युवामाथि गोली प्रहार भएको छ ।

मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि नेपाल–भारत सीमा क्षेत्र दशगजामा गोली प्रहार भएको हो ।

उनीमाथि भारततर्फको भूमिमा गोली हानिएको छ । भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्ने घटनास्थल मटेरुवा प्रहरी चौकीबाट लगभग ३० मिटर मात्रै पश्चिममा छ । त्यहाँ सशस्त्र प्रहरी पनि परिचालित छ । तर सीमामा खटिएका नेपाल र सशस्त्र प्रहरीले घटना भएका बेला कुनै जानकारी पाउन नसकेको बताएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण अहिले सीमा क्षेत्रबाट दुई देशबीचको आवतजावत बन्द गरिएको छ । सीमाका सुरक्षाकर्मीलाई छल्दै आइतबार दिउँसो ३ बजेतिर भारततर्फ लागेका मण्डलमाथि केही पर पुगे पछि गोली प्रहार भएको खुलेको पाइएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएकाे जानकारी अनुसार सीमा कट्न साथ दशगजाको भारततर्फ क्यारम खेलेर बसिरहेका भारतीय युवाले विवाद गरेर आफूमाथि गोली प्रहार गरेको जानकारी मण्डलले गराएका छन् ।

विवादका क्रममा क्यारम खेलिरहेकामध्ये भारत जोगवनीका अन्दाजी २५–३० वर्षीय मुकेश यादवले आफूसँग भएको पेस्तोल निकालेर गोली प्रहार गरेको खुलेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्