मेसीमाथि लागेको प्रतिबन्ध फुकुवा



लन्डन, (एजेन्सी)
अर्जेन्टिनाका कप्तान लिओनल मेसीमाथि लागेको एक अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध फुकुवा भएको छ।

अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापिओले दक्षिण अमेरिकी फुटबल महासंघबाट मेसीको प्रतिबन्ध फुकुवा भएको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

मेसीमाथि लागेको एक अफिसियल खेलको प्रतिबन्ध फुकुवा गर्न अर्जेन्टिनाको फुटबल संघले महासंघसमक्ष अपिल गरेको थियो।

जसमा अर्जेन्टिनी संघको अपिल सुनुवाइ गर्दै महासंघले मेसीको प्रतिबन्ध फुकुवा गरेको महासंघले अफिसियल वेबसाइटमार्फत जानकारी दिएको छ।

गत वर्ष २०१९ को जुलाई महिनामा ब्राजिलमा भएको कोपा अमेरिका फुटबलमा चिलीविरुद्धको खेल दौरान दक्षिण अमेरिकी फुटबल महासंघलाई ‘भ्रष्टाचारको अखडा’ रहेको भन्दै ‘ब्राजिललाई उपाधि जिताउन सेटिङ’ मिलाएको आरोप लगाएपछि महासंघले उनीमाथि अनुशासनको कारबाही गरेको थियो।

उक्त खेलमा मेसीले रातो कार्ड पाएका थिए। तेस्रो स्थानका लागि चिली र अर्जेन्टिना खेल्ने क्रममा मेसी र चिलीका ग्यारी मेडेलबीच झडप पनि भएको थियो।

सो खेलपछि मेसीले दिएको अभिव्यक्तिका कारण उनी कारबाहीमा परेका थिए। त्यसपछि जरिबानासहित महासंघले मेसीलाई प्रतिस्पर्धात्मक खेलमा लागू हुने गरी एक खेलको प्रतिबन्धको फैसला गरेको थियो।

अब प्रतिबन्ध फुकुवा भएसँगै उनले अर्को महिना सन् २०२२ को विश्वकप छनोटअन्तर्गत हुने इक्वेडरविरुद्धको म्याच खेल्न पाउने भएका छन्।

यसअघि अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँग खेले पनि सो खेल अफिसियल नभई मैत्रीपूर्ण मात्र भएकोले मेसीको प्रतिबन्ध फुकुवा भएको थिएन।

अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत आगामी अक्टोबर ८ तारिखमा पहिलो खेल इक्वेडर र दोस्रो खेल अक्टोबर १३ मा बोलिभियासँग खेल्ने तालिका छ। अब मेसीले यी म्याच खेल्न पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्