विवादमा शहरी खानेपानी आयोजना



रामधन राई, खोटाङ

खोटाङको दिक्तेलबजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजना विवादित बनेको छ । स्थानीयको मागप्रति उदासीन बनेर जबरजस्ती मुहानको पानी लैजान खोजेको भन्दै स्थानीयले विरोध जनाएपछि विवादले उग्र रूप लिएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र वडा नम्बर–६ नेर्पास्थित काहुले मुहानको पानी सञ्चालनमा आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

खानेपानी आयोजनामा पानीको मुहान उपभोग गरिरहका सोल्मा र नेर्पाका स्थानीयले आफूहरूका माग पूरा नगरेसम्म कुनै पनि हालतमा पानी लैजान नदिने स्थानीयको अडान छ ।

खानेपानी निर्माण उपभोक्ता समितिले स्थानीयसँग गरेको १२ बुँदे सम्झौताविपरीत छेपेखोला र काहुले मुहानको समेत पानी लैजाने तयारी गरेकाले विरोध गरिएको छेपेखोला काहुले मुहान संघर्ष समितिका संयोजक हर्कबहादुर पराजुलीले बताउनुभयो ।

सोल्माको रम्बाखोला र माझखोलाबाट पानी दिने सहमति भए पनि मुहानै थुन्नुका साथै छेपेखोला र काहुले मुहानबाटसमेत जबरजस्ती पानी लैजाने तयारी गरेकाले अवरोध गरिएको खानेपानी समन्वय समितिका संयोजक धनीराम राईले बताउनुभयो । खानेपानीको मुहानमा बाँध नबाँधी ७५ मिलिलिटरको पाइप राखेर पानी लाने आपसी सहमति भएको संयोजक राईको भनाइ छ ।

अहिले माझखोलामा बाँध बाँधेर पानी लगेकाले स्थानीयलाई पानी अभाव हुने र खेतीयोग्य जमिन प्रभावित हुने देखिएको छ । गत वर्षको सम्झौता पूरा नगरी नगरपालिका र शहरी खानेपानी आयोजनाले हेपाहा प्रवृत्ति देखाएकाले आयोजना नै बन्द गर्न बाध्य बनेको संघर्ष समितिले जनाएका छन् ।

संयोजक राईका अनुसार गत वर्ष नै पानी दिनका लागि उपभोक्ता समिति र स्थानीय बासिन्दाबीच १२ बुँदे सहमति भएको थियो । सम्झौतामा उल्लेख भएअनुसार सोल्मामा पनि उक्त खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने, विभिन्न ठाउँमा रिचार्ज पोखरीहरू निर्माण गर्नुपर्ने, शहरी खानेपानी आयोजना उपभोक्ता समितिमा सोल्माका स्थानीय बासिन्दालाई पनि समेट्नुपर्ने, सोल्मालाई विशेष क्षेत्र बनाई त्यसैअनुसार योजनाहरू सञ्चालन गर्नुपर्नेलगायत सहमति भएको थियो ।

निर्माणाधीन उक्त आयोजनाअन्तर्गत १ हजार ४९ घरधुरीलाई पानी उपलब्ध गराउने योजना थियो । करिब २२ करोड ५६ लाख लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी गत चैतमा शिलान्यास गरिएको थियो ।

एसियाली विकास बैंक (एडीबी) को ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी हुने उक्त आयोजनाको काम अहिलेसम्म करिब ६५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले जानकारी दिनुभएको छ ।

शहरी खानेपानी आयोजनामा देखिएको समस्या केही दिनभित्रै टुङ्गो लगाइने नगरप्रमुख दीपनारायण रिजालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्