एसियन हाइवेले छोयो काँकडभिट्टा



उत्तम नेपाल, भद्रपुर ।

एसियाली राजमार्गको नेपाल – भारत सीमा अन्र्तगत सडकसँगै ६ लेनको मेचीपुल निर्माण भएपछि झापाको मुख्य नाका काँकडभिट्टा छुएको छ । यसअघि काँकडभिट्टा र भारतको पानीटयाङकी जोडने दुइ लेनको पुल जीर्ण भएसँगै आवत जावतमा घण्टौ समय लाग्ने गरेको थियो ।

नयाँ पुल निर्माण भइसकेपछि यो समस्या अन्त्य हुने भएको छ । २०७४ सालबाट औपचारिक रुपमा काम शुरु भएको पुलको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणको लागि सम्झौता गरेपछि निर्माण शुरु भएको सो पुलको ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।

३ वर्ष अगाडि भारतीय पक्षले निर्माण थालेको ६ लेनको क्षमता रहेको मेची पुल सम्पन्न हुँदा काँकडभिट्टा आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । सहज वातावरण पश्चात सो पुल चल्दा व्यापारिक कारोबारमा निकै परिवर्तनसँगै पूर्वी नेपालको समृद्धिमा एउटा इटा थप्ने निश्चित भएको स्थानीय निरबहादुर कार्की बताउँनुहुन्छ । पुल र सडकको सम्बन्ध जोडिएयता नेपाल भारत प्रवेशद्वार काँकडभिट्टा पुग्दा नौलो ठाउँको अनुभूति हुन थालेको उहाँको भनाइ छ । नयाँ पुलसँगै काँकडभिट्टा क्षेत्रको संरचनात्मक काँचुली फेरिएको छ ।

सधैं भीडभाड र अव्यवस्थित आवागमन देखिने काँकडभिट्टा पानीट्याङकी सडकलाई नयाँ पुलले काँचुली फेरिदिएको छ । ५ सय मिटर पहुँच मार्ग निर्माणका लागि पुराना संरचना सबै भत्काइएपछि बनाइएका फराकिलो र चिटिक्क परेको सडक सवैको आकर्षणको केन्द्र बनेको छ ।

एशियाली विकास बैङ्कको एक अर्ब तीन करोड ७८ लाख भारतीय रुपैँया लागतमा निर्माण भएको ६ लेन चौडाइ क्षमताको ६ सय ७५ मिटर लामो पुल रहेको छ । भारतको दिनेश चन्द्र आर अग्रवाल कन्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

पुलमाथिको काम लगभग सकिए पनि एसिन हाइवे अन्र्तगत करिब एक किलोमिटर एप्रोच सडक निर्माणको कार्य अन्तिम चरण पुगेको सडक डिभिजन कार्यालय दमकका इन्जीनीयर अनुप साउदिनले बताउँनुभयो । यस बीचमा निर्माण पक्षले पुलदेखि काँकडभिट्टा बसपार्क क्षेत्रसम्म चार लेन सडक, ढलसँगै विद्युतीय पोल राख्ने काम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । भारतीयले ठेक्का लिएकोहुदाँ सवै कुरा जानकारीमा नआएपनि नेपाल तर्फको सडमा कार्यालयले सहजीकरण गरेको उहाँको भनाइ छ । पुलको उद्घाटन चाडै हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्