मान्छे किन अपराध गर्छ, खै अनुसन्धान ?



अर्चना शर्मा

केही अपबाद छाडेर हेर्ने हो भने हरेक अपराधको पछाडी एउटा कथा लुकेको हुन्छ । जुन अत्यन्तै पिडादायी हुन्छ। समाजशास्त्रको बिध्यार्थी र पछि सामाजिक कार्यकर्ता भएको नाताले धेरै सामाजिक अपराधहरुलाई नजिकैबाट हेर्ने मौका पाएको छु। पुलिसले चोर, ठग, पकेटमारा, बालबालिका बेचबिखन गर्ने मान्छे लगायत थुप्रै अपराधी समात्छ र उनले गरेको अपराधको लागि सजाय दिलाउछ, अपराध गरेपछि सजाय पाउनै पर्छ तर ती अपराधीले किन त्यो काम गरे भनेर गहिरिएर बुझ्ने हो भने कतिपय अवस्थामा उसको चरम गरिबी, भोक, रोग, पारिवारिक दायित्व, सीप र दक्षताको अभाव, अशिक्षा, बेरोजगारी, कुलत, कुसङत, दुर्ब्यसन जस्ता समस्या त्यहा देखिन्छन।
मान्छे जन्मदा सबै एकैखाले हुन्छन । जब उ हुर्किदै जान्छ त्यो दौरानमा उसले आमाबुबाबाट कस्तो सस्कार पाएको हुन्छ , घरपरिवारबाट कति र कस्तो माया पाएको हुन्छ, स्कुलबाट कस्तो ज्ञान सिकेको हुन्छ, उसको साथीहरू र सङत कस्तो मान्छे सङ छ, घरको आर्थिक पक्ष कस्तो छ पारिवारिक जिम्मेवारीबाट सानैमा पो थिचिएको छ कि , उसले कस्तो शिक्षा पाएको छ, कतै उ दुर्ब्यसनमा फसेको त छैन यी र यस्ता धेरै प्रश्नहरु हुन्छन जसलाई बेलैमा सम्बोधन गर्न सकेको भए एउटा राम्रो मान्छे पक्कै पनि अपराधी बन्ने थिएन ।
लामो समय सामाजिक काम गर्दा मैले सामाजिक अपराधमा जेल परेका धेरै ब्यक्तिहरु भेटेको छु, अन्तरबार्ता गरेको छु । हाम्रो पाटो भनेको उनिहरुले अपराध गर्नुको पछाडिको कारण पत्ता लगाउने र सजाय मुक्त भएपछि कसरी एउटा सुन्दर जीवन बाच्न सकिन्छ भनेर मनोसामाजिक परामर्श दिने र जीवन जिउनेकला सिकाउने रहेको हुन्थ्यो ।
केही अपराधहरु भने मान्छेले आफनो उन्माद रोक्न नसकेर गरेको हुन्छ जसले गर्दा जघन्य घटनाहरु हुन्छन। जस्तै बालत्कार, हत्या, एसिड आक्रमण, आत्महत्या आदि । यी बाहेक अरु अपराधलाई न्युनिकरण गर्न सजिलै सकिन्छ थोरै घरपरिवार र थोरै समाज चनाखो भैदिए ।
मान्छेलाई भोकले चोर्न सिकाउछ, लुट्न सिकाउछ, रोगले हात थाप्न सिकाउछ, दुर्ब्यसनीले आफ्नो पराई चिन्दैन, आमाको तिलहरी होस कि छिमेकीको घरको साईकल होस बेचेर लागुपदार्थ खानै पर्छ ।
सङत पनि तेस्तै चिज हो भनिन्छ नि ? झिंगाको सङत गरे फोहर तिर लान्छ मौरीको सङत गरे फुलतिर लान्छ ।
सस्कार अझै महत्वपुर्ण कुरा हो । छोराछोरी जन्मिएपछि आमाबाबुले उनिहरुलाई दिनु पर्ने तीनवटा ‘स’हो। सस्कार, स्वास्थ्य र शिक्षा यति तीन चिज बेलामा दिन सकियो भने त्यो बच्चा सन्सारको जुनसुकै कुनामा गएर पनि एउटा असल मान्छे भएर गरिखान सक्छ । कतिपय आमाबुबाहरु सम्पती, पैसा, घर, गाडी, सुन र सामाजिक हैसियत बडाउन मरिमेटेर लागेका हुन्छन । यो दौरानमा उनिहरुलाई छोराछोरी कता जादैछन, के खादैछन, कस्तो सङगत गर्दैछन हेर्ने फुर्सद हुदैन । सन्तानको जायज नाजायज सबै मागहरु पूरा गरिदिनुमा गर्व गर्छ्न र एकदिन त्यहि सन्तानले जब मुटुमा कहिलै नपुरिने घाउ लगाउछन त्यसपछि पश्चाताप बाहेक गर्नलाई केही बांकी रहंदैन ।
मेरो लामो अनुभवले भन्छ, छोराछोरीहरुलाई उमेर अनुसारको काम सिकाउदै लानुपर्छ । म आफुपनि तराईमा जन्मेको हुर्केको हुं। मेरो बुवा कृषी र ब्यापार हुनुहुन्थ्यो । मेरो घरमा गाई पालिएका थिए। बुवाले नयाँ गाई किनेर ल्याउदा यो गाई चैं तेरो है भन्नू हुन्थ्यो । घरमा ६–७ जना हली गोठाला भएपनि म त्यो गाईको स्याहार गर्न आफै तम्सिन्थे, आफ्नो भागको भात, फलफुल लुकाएर लगेर गाईलाई खुवाउथे, गोठालाले काटेर थुपारेको घाँस, खोले चोरेर आफ्नो गाईलाई हाल्थे । त्यो गाई नाम मात्रैको मेरो हुन्थ्यो दूध त सबैले खान्थे । तेस्तै गरि बुवाले म र मेरो भदा भदैलाई सानो सानो तरकारी वारी र फुलबारी दिनुहुन्थ्यो र ल कसले राम्रो फलाउछ फुलाउछ है भनेर उक्साउनु हुन्थ्यो । हामी जहाँ गयो त्यहीबाट फुलका हांगा ल्याएर रोप्थ्यौ, आफैं खन्ने, आफै गोड्ने, आफै पानी हाल्ने गर्थ्यौ, केही फलिहाले त्यो आमाले टिपेर पकाएर खाने बेलामा आज फलानाको बारीको तरकारी है यो भनेर पस्किदा आफ्नो पौरखमा कम्ती गौरब लाग्दैन थियो । खेत रोपेको बेला मालिकको छोरीले हिलो कुल्चिदा धेरै धान फल्छ भनेर मलाई २–४ बोट भएपनि घान रोप्न लगाउनु, धान काट्ने साईत हेराएपछि तंलाई पनि जुरेको छ भनेर हसिया बोकाएर काट्न लगाउनु, सामानको लिस्ट दिएर नजिकैको बजारबाट सामान किनेर ल्याउन लगाउनु र हरेक सामानको हिसाब दुरुस्त बुझाउनु पर्ने कुराहरुले, अहिले आफुपनि अभिभावक भै सकेपछि आफ्नो बाल्यकाल सम्झिदा मलाई अचम्म लाग्छ मेरो आमाबुबामा कती ठुलो चेतना रहेछ । त्यो त हामीलाई गरिखान सिकाइएको पो रहेछ । ठाउँ अनुसारका काम हुन्छन ।खेतिपाती गर्ने आमाबाबुले सानै देखि उसले सक्ने काम लगाउदै जाने सिकाउदै जाने। शहरबजारका आमाबुबाले घरायसी काममा छोराछोरीहरुलाई लगाउने, किनमेल गर्न, हिसाब राख्न, पानी, बत्ती, फोन ईन्टरनेट तिर्न सिकाउने, घरको बिग्रेको सामान्य चिजहरु मर्मत गर्न लगाउने, मान्छे आउदा भेट्ने, गाफगाफ गर्ने, आदर अनुसारको शिष्टाचार सिकाउने, जिम्मेवारी दिने र उनिहरुले गरेकोमा खुशी भैदिने, स्याबासी पनि दिने, थोरै अध्यात्मिक बाताबरण दिने, आफ्नो धर्म, सकृती, रितिरिवाज, चाडपर्वको महत्व, जात्रा र पर्बका कथा सुनाउने, धर्मग्रन्थमा भएका राम्राकुराहरु भन्ने, कुन चाडमा के खाने के लाउने सिकाउने, बिहान बेलुकाको पुजामा सामेल गराउने गरे पनि उनिहरुलाई कुबाटो हिड्नबाट रोक्न सकिन्छ। किनकी अध्यात्मले हरेककुरालाई सकारात्मक नजरबाट हेर्न सिकाउछ, आफू र आफ्नालाई नजिकबाट चिन्न सिकाउछ । जसले आफुलाई चिन्छ उसले अरुलाई कहिलै दुःख दिदैन । सबैमा परमात्माको बास देख्न थाल्छ । सन्तानले केही पकाए आहा कति मिठो भनेर खाईदिने पनि गर्नुपर्छ। कामको नाममा सन्तानलाई सिन्को भाँच्न नलगाउने आमाहरु, ओछ्यानमा खाना लगिदिने आमाहरु, हुर्केका छोराछोरीको भित्री लुगापनि धोईदिने आमाहरु, छोराछोरीलाई बसिबसी खुवाई पाल्ने आमाहरु धेरै देखेको छु । आमाले सक्दा त सबै गर्लान आमा बिरामी परेर ढलेको दिन ती हुर्केका छोराछोरी पनि भोकै पर्छन, आमाले एकमुठी तातोपानी सम्म खान पाउदिनन । हाम्रो समाजमा मात्रै हो घरायसी काम महिलाले मात्रै गर्नु पर्दछ भन्ने बिदेश तिर यो चलन नै छैन । उमेर अनुसारको काम सिकाउनु बालश्रमशोषण होईन बच्चाको सामाजिकीकरण हो ।उसलाई गरी खान सिकाउनुहो । गरिखान जानेको मान्छेले अपराध गर्दैन ।हरेक छोराछोरीमा केही न केही प्रतिभा लुकेका हुन्छन । त्यसलाई चिनेर बाहिर निकाल्न सक्यो भने मात्रै बच्चाहरु पढेर बांकी भएको समय त्ययतापट्टि लगाउछन ।
कुर्कम या अपराध उनीहरुले सोच्न नै सक्दैनन ।जस्तोकी खेलकुद, संगित स्विमिङ, डान्स, गार्डेनिङ, खाना बनाउने, घर सिंगार्ने, खेतीपाती आदिआदि । एउटा बयस्क ब्यक्तिले अपराध गर्नुको पछाडिउसको बाल्यकालदेखिको जीवन र कर्महरु जोडिदै आएको हुन्छ । हामीले बेलैमा अलिकति समय र सतर्कता अप्नाउन सके जेलका कोठाहरु अपराधीले भरिदैन थियो । ती सबै मान्छेहरुले बिश्वबिद्यालय भरिथ्यो, सिपालु र दक्ष नागरिकले राज्य भरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्