पूर्वराजाकी प्रेमिकाबाट जन्मिएकी छोरी अदालत पुगेपछि…



काठमाडाैँ ।

बेल्जियमका पूर्वराजा अल्बर्ट द्वितीयकी प्रेमिकाबाट जन्मिएकी छोरीले उनका वैध सन्तान सरह अधिकार र राजकीय पदवी अदालतले दिलाउने अपेक्षा गरेकी छन्।

बाउन्न वर्षीया कलाकार डेलफीन बोएलले ब्रसल्सस्थित पुनरावेदन अदालतमा मुद्दा लगेकी छन्।

पैतृक अधिकारका लागि एक दशकभन्दा बढी समययता बोएल सङ्घर्षरत रहेको पृष्ठभूमिमा गत ज्यानुअरीमा अल्बर्टले आफू नै उनका पिता भएको स्वीकारेका थिए।

उनकी आमा ब्यारोनेस सिबिल डु सेलिस लोंशाङ अल्बर्ट राजा हुनुअघि उनीसँग १८ वर्षसम्म आफ्नो सम्बन्ध रहेको दाबी गर्छिन्।

सन् १९९९ मा अल्बर्टकी श्रीमती तथा रानी पाओलाको आधिकारिता पुष्टि नगरिएको जीवनीमा पहिलो पटक अवैध सन्तानबारे चर्चा चलेको थियो।

बोएलले राजा अल्बर्ट आफ्ना जन्मदाता बुवा हुन् भन्ने कुरा सन् २००५ को एउटा अन्तर्वार्तामा बताएकी थिइन्।

राजाविरुद्ध मुद्दा लगाउनेबारे विद्यमान उन्मुक्तिसम्बन्धी व्यवस्थाका कारण सन् २०१३ मा राजा अल्बर्टले राजगद्दी नत्यागुञ्जेल उनीमाथि मुद्दा लगाउन सम्भव थिएन। त्यसपछि मात्रै बोएलले अदालती कारबाही शुरू गरेकी थिइन्।

बिहीवार उनका वकिलले बताए अनुसार बोएलले अल्बर्टका तीन सन्तान सरहकै अधिकार तथा पदवी चाहेकी छन्।

तीन सन्तानमध्ये फिलिप राजा छन् भने लोराँ युवराज र एस्ट्रिड युवराज्ञी छिन्।
“डेलफीनको अडान यो होइन कि उनी युवराज्ञी हुन चाहन्छिन् अथवा चाहदिनन्,” उनका वकिलले भने।

“उनी कुनै स्थान नभएको सन्तानको रूपमा रहन चाहदिनन्। उनी आफ्ना दाजुभाइ र दिदीले जस्तै विशेषाधिकार एवम् मानपदवी चाहन्छिन्।”

अदालतले बोएलको पक्षमा निर्णय गरेमा उनका सन्तानहरू पनि राजकीय पदवीका लागि योग्न हुने विवरणहरूमा जनाइएको छ।

अदालतबाट नभई शाही आदेशबाट मात्रै बोएलले युवराज्ञीको हैसियत पाउन सक्ने अल्बर्टका वकिलले बताएका छन्।

दैनिक पाँच हजार युरो जरिवाना तिर्नुपर्ने अदालतको आदेश नआउञ्जेल ८६ वर्षीय अल्बर्ट डीएनए परीक्षण गराउन मानिरहेका थिएनन्।

डीएनए परीक्षणको नतिजा थाहा पाएपछि गत ज्यानुअरीमा उनले बोएल आफ्नो चौथो सन्तान भएको स्वीकारेका थिए।

बीबीसी

प्रतिक्रिया दिनुहोस्