श्रीमतीलाई सम्बन्ध जोड्न लगाएर ‘युवक’ अपहरण



मोतीराम तिमल्सिना, काभ्रे ।

आफ्नै श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर यौन सम्पर्कका लागि तयार भए पछि रकम बार्गेनिङ्ग गर्ने र रकम नदिए अपहरण गरी मारिदिने योजनामा संलग्न भएको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ भने दुई जना फरार भएका छन् । पैसाका लागि मान्छेले के सम्म गर्ने रहेछ भन्ने उदाहरण बनेको छ यो घटना ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ परेका ब्यक्तिहरुलाई अपहरण तथा शरिर बन्धक सम्वन्धी मुद्दा दर्ता गरेको प्रहरी प्रमुख एसपी रवि पौडेलले बताउनु भयो । ‘प्रहरीले प्राप्त गरेको सूचनाका आधारमा अपहरणमा परेका युवकको उद्धार र अपहरणमा संलग्नलाई पक्राउ गर्न सफल भयो’–प्रहरी प्रमुख एसपी रवि पौडेलले बताउनु भयो–‘पक्राउ परेका ब्यक्तिहरु यस अघि पनि यस्तो कार्यमा संलग्न हुने गरेको प्रारम्भिक बयाउनबाट खुलेको छ ।’

प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका १८ बर्षिय आकाश परियार उनकै श्रीमती २१ बर्षिया सविना तामाङ परियार र रोशी गाउँपालिका वडा नम्वर १२ भिमखोरी माईती भई बनेपामा डेरा गरी बस्ने उमा परियार रहेका छन् । उमाका श्रीमान र भाई फरार छन् । घटनाको अनुसन्धान शुरु गरिएको डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

२०७७ भदौ २४ गते राति ९ बजेको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका २२ बर्षिय राजकुमार दनुवारलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने ३/४ जना युवाहरुको समुहले अपहरण गरेको सूचना प्रहरीले प्राप्त गर्‍यो । प्रहरी अपहरणकारी पक्राउ गर्न र अपहरणमा परेका युवकलाई उद्दार गर्न खटियो । ५० हजार रुपैया माग गर्ने उक्त समुह राति फरार भयो तर अपरहणमा पर्ने राजकुमारको उद्दार भयो । प्रहरीले उनलाई आफ्नो नियन्त्रणमा राखेर अनुसन्धान शुरु गर्‍यो ।

श्रीमानहरुकै योजनानामा उमा र सविनाले यस्तै काम गर्न थालेको केहि महिना भई सकेको छ । राजकुमार र सविनाको मोवाईलबाट चिनजान भएको थियो । मोवाईलमा च्याट गर्दा गर्दै शारिरिक सम्वन्ध राख्ने प्रस्ताव सविनाले राजकुमारलाई गरिन् । राजकुमार तयार भए । भाद्र २४ गते दिउसो राजकुमार घरबाट बनेपा आए । उनिहरुले अरनिको राजमार्गको २८ किलोमा बोलाए । सविना र राजकुमार बीच शुरुमै पैसाको बार्गेनिङ्ग भयो । उसले १० हजार साथमा भएको र काम सकिए पछि त्यहि दिने बताएका थिए । अरनिको राजमार्गको २८ किलोबाट उमा र सविना राजकुमारसँगै बुडोल माथी रहेको जंगलमा पुगे । जंगलमा पुगेपछि उमालाई कुर्न लगाईयो ।

त्यो सबै योजनामै भईरहेको थियो । यता राजकुमार र सविना झ्याङ्गमा जाँदै थिए । शारिरिक सम्वन्धका लागि वातावरण बन्दै थियो । सविना र उमाका श्रीमानले राजकुमारलाई च्याप्प समाते । मेरो श्रीमतीलाई ललाई फकाई जर्बजस्ति गर्ने ? राजकुमार सहमतिमै आएका भए पनि अर्काको श्रीमतीसँग सम्वन्ध राख्ने प्रयासमा थिए । उनलाई केहि मुक्का प्रहार भयो । उनिहरुले पैसाको बार्गेनिङ्ग गरे । शुरुमै ५० हजार दिन्छु भनेपछि राजकुमारले एटिएमबाट निकालेर दिने केहि नगरिदिने बताए । उनिहरुले पैसा नदिए मारिदिने धम्कि दिए । हाम्रो काम नै यस्तै भएकाले पैसा दिए छाडिदिने भने पछि एटिएम आएका थिए । एटिएममा उनले पैसा भएर पनि मिलेन भन्दै फर्काए । त्यस पछि उनले दाजुलाई पैसा लिएर आउन र आफु अपहरणमा परेको खवर गरे ।

पैसा नआउञ्जेल उनिहरुले राजकुमारलाई शौचालयलमा थुनेर राखेका थिए । ५० हजार पैसा तयार भए पछि दाजुले प्रहरीलाई सूचना दिए । प्रहरी र उनिहरु पैसा बोकेर २८ किलो माथीको जंगलमा पुगे । प्रहरी सादा पोशाकमा थियो । तर पनि उनिहरुले धेरै मान्छे भए पछि चाल पाए । झ्याङ्ग नजिकै पैसा राखिदिनु भनेकाले पैसा राखिदिएर फर्कदा उनिहरु फरार भए । प्रहरीले एकजना मान्छेलाई दैख्यो तर समाउन सम्भव भएन । राजकुमारको उद्धार भयो । भाद्र २५ गते विहान देखि नै उनिहरुको फलो प्रहरीले गरिरह्यो । प्रहरी निरिक्षक सुरेश खत्रीको कमाण्डमा प्रहरी सादा पोशाकमा परिचालन गरिए । साँझ ७ बजे उनिहरुको समुह भर्खरै डेरा सरेको नयाँ घरमा आएको खवर प्रहरीले पायो ।

प्रहरी सादा पोशाकमै पुग्दा उनिहरु घर भित्र चुकुल लगाएर खुकुरी सहित तयारी अवस्थामा थिए । प्रहरीले ढोका ढकढक गर्ने वितिक्कै उनिहरु खुकुरी लिएर प्रहार गर्न थाले । प्रहरीलाई उल्टै चोर आयो भनेर गाउँलेहरु भड्काउँदै उनिहरु भाग्ने प्रयास गरे । प्रहरीले हवाई फायर गरेर उनिहरु मध्ये आकाश र उनको श्रीमती सविनालाई राति नै पक्राउ गरेको प्रहरी प्रमुख एसपी रवि पौडेलले बताउनु भयो । थप सहयोगका लागि बनेपाबाट प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाको टोली पनि घटनास्थल पुगेको थियो । भाद्र २६ गते शुक्रबार प्रहरीले उमा परियारलाई कोठाबाटै नियन्त्रणमा लिएको छ । उनका श्रीमान र भाई फरार भएका छन् ।

बेरोजगारी र अपराधिक मानसिकताबाट उक्त घटना गराईएको उनिहरुले बताएका छन् । पटक पटक यस्ता घटनाबाट आफुहरुले पैसा लिने गरेको उनिहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्