डोटीमा जीप दुर्घटना १२ घाईते, दुईको अवस्था गम्भीर



विमल विष्ट,डोटी ।

डोटीको पूर्वीचौँकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किदै गरेका अछामको मल्लेक गाउँपालिका स्थानीय चडेको से १ ज १०६६ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परि गम्भिर घाइते हुँनेहरुमा अछाम मल्लेक गाउँपालिका–६ सोडसा बस्ने वर्ष ४८ का दानसिंह टमटा, सोही गाउँपालिका स्थित नुवाघर बस्ने वर्ष ३४ की कमला खड्का रहेकी छन् ।

घाइतेहरुको ढाँड र टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारका लागि कैलाली तर्फ रिफर गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जीप सडकदेखि कम्तिमापनि १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा परि घाइते भएकाहरुलाई अहिले उपचारकालागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्घटनाका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाएका छौँ, दुईको अवस्था गम्भिर छ ।”

चालक निदाएका कारण दुर्घटना भएको हुँन सक्ने घटनास्थलमा खटिएका प्रहरी टोलीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्