संकटको समयमा जनताले सरकार छ भन्ने महशुस गर्न पाएनन्ः नेता पौडेल



न्युज अफ नेपाल, तनहुँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली जनताले दुई तिहाइसको सरकार हुँदा पनि सरकार भएको महशुष गर्न नसकेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका ६ को आयोजनामा बिहीबार भएको प्रशिक्षणमा संकटको समयमा जनताले सरकार भएको कत्तिपनि महशुष गर्न नपाएको बताउनुभएको हो ।

‘देशमा दुई तिहाईको सरकार छ, यो बेलामा जनतालाई राहत दिनुपर्ने हो, तर जनताले सरकार छ भन्ने कतिपनि महसुस गर्न सकेका छ्रैनन्,’ उहाँले भन्नुभयो । कोरोनाको संक्रमण देशभर फैलदै गएको अवस्थामा सरकारले ठोस निर्णय समेत लिन नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले कांग्रेसलाई थप मजवुद बनाउन युवापिँढी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

‘बहुमतको सरकार छ, यो बेलामा जनतालाई राहत दिनुपर्ने हो, तर जनताको समस्या बुझ्नुपर्ने बेलामा सरकार मौन छ, यो सरकारले न त गरिब निमुखाको आवाज बन्न सकेको छ, न किसानको, किसानले मल नपाएर सास्ती खेपिरहेका छन् तर उहाँहरुको समस्या समाधानमा सरकार चुकिरहेको छ, किन सरकारले कृषकको समस्या बुझ्दैन,’ उहाँले भन्नुभयो ।

कांग्रेसले प्रधानमन्त्री कोषमा रहेको रकम स्थानीय सरकारलाई दिनुपर्छ भन्ने माग गरेको भएपनि सरकारले अटेर गरेको उहाँले आरोप लगाउनुभयो ।

नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले सरकारले आवश्यकता अनुसारको बजेट व्यवस्थापनमा सरकार चुकेको बताउनुभयो । न्यौपानेले कोभिड १९ को संक्रमणको समयमा स्वास्थ्य सामग्री वा विभिन्न उपकरण खरिदको बहानामा भ्रष्टाचार र कमिसनको खेलमा लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्