२० वर्षपछि आयो भाइब्ज ब्यान्डको फेरि कुनै जादु



लोकप्रिय नेप्लिज अमेरिकन रक पप ब्यान्ड द भाइब्ज ब्यान्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ।

२० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल ब्यान्डको कुनै जादु बोलको गीत अनप्लग्ड भर्सनमा आएको हो।

अमेरिकामा रहँदै आएका ब्यान्डका भोकलिस्ट प्रइन सिंहले लकडाउनको समयलाई सदुपयोग गर्दै स्टुडियोमा एक्लै बसेर कुनै जादु बोलको सो गीत यत्तिकै पियानो बजाएर गाई साथीहरूलाई पठाउँदा सबैले मन पराएर पियानोमा त झनै राम्रो सुनियो भन्दै सार्वजनिक गर्न सल्लाह दिएपछि उनले पियानोको भरमा गाएको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

यो गीत पहिला नसुनेका मानिसले पनि कस्तो राम्रो भनेपछि प्रइनसँगै ब्यान्डका सदस्यहरू उत्साहित हुँदै युट्युबमार्फत लिरिकल भिडियोका रूपमा यसको नयाँ भर्सन सार्वजनिक गरिएको हो। २० वर्षअघि चलेका गीत नयाँ पुस्तालाई पनि सुनाउनुपर्छ भनेर युट्युबमा नयाँ भर्सन अपलोड गरेको भोकलिस्ट प्रइनले सुनाए।

यो गीत द भाइब्ज ब्यान्डका भोकलिस्ट प्रइनको पहिलो कम्पोजिसन थियो। प्रइन माइक्रोसफ्टमा हटमेल इन्जियिनरका रूपमा कार्यरत छन्। उनको दाजुभाइ नै संगीतकर्मी हुन्। उनका दाइ मनोज सिंह ग्रामी अवार्ड मनोनयनमा पर्न सफल संगीतकर्मीसमेत हुन्। द भाइब्ज ब्यान्डका हरेक गीतमा मनोजले नै बाँसुरी बजाउँदै आएका छन्। २ दशकअघिको यो गीत अर्चना श्रेष्ठले रचना गरेकी हुन्। संगीत पनि प्रइनको हो।

द भाइब्ज ब्यान्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगीतिक युवाहरूले स्थापना गरेको ब्यान्ड हो। ब्यान्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरीय नेपाली रक गीत–संगीतहरूलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेसनको नाममा रक गीति अडियो एल्बम सार्वजनिक गरेको थियो।

पहिलो एल्बमबाटै वाहवाही पाए पनि ब्यान्डले दोस्रो एल्बम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कु¥यो र सन् २०१३ मा दोस्रो एल्बम को हुँ म बजारमा ल्यायो। पहिलो एल्बम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइब्ज ब्यान्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मुख्यतया ३ उत्साही युवाले गठन गरेका थिए।

ब्यान्डका यी तीन युवा अहिले नेपालदेखि अमेरिकाका विभिन्न प्रतिष्ठित क्षेत्रमा संलग्न छन्। ब्यान्डका ड्रमर कामना न्युज पब्लिकेसन्स्का सीईओ र प्रबन्ध सम्पादक हुन् भने भोकलिस्ट प्रइन सिंह अमेरिकाको क्लालिफोर्नियास्थित हटमेल डट कममा इन्जिनियर छन्। त्यसै गरी गितारिस्ट रूपक लामा उत्तरी क्यालिफोर्नियाको रेस्टुराँ उद्यमीका रूपमा स्थापित छन्।

ब्यान्डले खै के भो, थाकिसकें, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्फत समेत ख्याति आर्जन गरिसकेको छ। यसका साथै उत्कृष्ट सांगीतिक सिर्जनाका कारण हिट्स म्युजिक अवार्ड, इमेज अवार्ड जस्ता सांगीतिक अवार्ड चुम्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्