पत्रकार साहका हत्यारा १३ वर्षपछि पक्राउ



न्युज अफ नेपाल, हेटौंडा।

२०६४ असोज १८ गते बाराको उम्जनअन्तर्गत् पिप्रा वसतपुरबाट बारा इनर्वासिरा गाविस–८ बस्ने पत्रकार वीरेन्द्र साहलाई हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, कुन्दन फौजदार भनिने नरेन्द्रकुमार फौजदार, रामएकवाल सहनी र मनेजर गिरीसमेत ५ जनाले अपरहण गरे ।

उनको गोली हानी हत्या गरियो । उनको शव बाराको डुमरवाना वडा–७ स्थित जंगलमा खाल्टो खनी गाडिएको अबस्थामा सोही वर्ष कात्तिक २२ गते फेला परेको थियो । टाँगियाबस्ती नजिक गाडिएको शवसँगै फेला परेको डट्पेन र डायरी हाल पनि नेपाल पत्रकार महासंघमा सुरक्षितरुपमा राखिएको छ ।

उक्त कर्तव्यज्यान मुद्धाका अभियुक्त हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी बल्ल पक्राउ परेका छन् । पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्त करिब ४५ वर्षीय कुर्मी बाराका विभिन्न स्थानमा लुकेर बसेको प्राविधिक अनुसन्धान तथा विशेष सुराकीका आधारमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बिहीबार दिउँसो करिब साढे २ बजे बाराको कोहल्वी नगरपालिका वडा–४, सपही टोलमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको हो ।

बारा जिल्ला अदालतको २०६८ जेठ १६ गते, पुनराबेदन अदालत हेटौंडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसलाले अभियुक्त कुर्मीको हकमा फरार करार गरी मुद्धा मुल्तबीमा थियो ।

बाराको इनर्वासिरा गाविस–९ बस्ने गिरीलाई २०६५ असोज १९ गते र बाराको खोपवा गाविस–८ बस्ने सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी अदालतमा पेश गरिएकोमा उनीहरुलाई सर्वस्वसहित जन्मकैद हुने फैसला भएको थियो ।

बाराको गडहल गाविस–५ बस्ने कुन्दन भनिने नरेन्द्र २०७६ फागुन २५ गते पक्राउ परेर बारा जिल्ला अदालतको फागुन २९ गतेको आदेशले पुर्पक्षका लागि कारागार चलान भएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्