अयोग्य हुँदै जोकोभिच यूएस ओपनबाट बाहिरिए



न्युयोर्क, (एजेन्सी)

सर्बियाली टेनिस सुपरस्टार नोभाक जोकोभिच अयोग्य घोषित हुँदै न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा उनले प्रहार गरेको बल महिला लाइन निर्णायकलाई लागेपछि जोकोभिचलाई अयोग्य घोषित गरिएको हो। योसँगै प्रतियोगितामा उनको यात्रा अन्तिम १६ सम्म मात्र रह्यो। ३३ वर्षीय जोकोभिचले सर्भिस गुमाएपछि रिसाएर बल प्रहार गरेका थिए। त्यही बलले महिला लाइन निर्णायकको घाँटीमा लाग्दा उनी भुइँमै पछारिन पुगेकी थिइन्।

उक्त घटना हुनुअघिसम्म खेलमा जोकोभिच पहिलो सेटमा ६–५ ले अगाडि थिए। प्रतियोगितामा कारबाहीस्वरूप अयोग्य घोषणा गरिएपछि उनले हासिल गरेका सबै अंकहरू काटिएका छन्। जसका कारण उनले पाउनुपर्ने रकममा समेत कटौती हुने भएको छ।

ग्रान्डस्लामको नियमानुसार नियतवश बललाई कोर्टभित्रबाट हान्नु गलत हो। अमेरिकी टेनिस संघले जोकोभिचले नियतवश नै बल हिर्काएको स्पष्ट पार्दै उनलाई २०२० यूएस ओपनबाट निकालिएको वक्तव्यमा समेत उल्लेख गरेको थियो।

उनले निर्णायकलाई लाग्ने गरी बल हिर्काउनुअघि पनि निराश भएर बललाई जोडले हानेका थिए। जुन बल विज्ञापनको बोर्डमा जोडले ठोक्किएको थियो। तर, सो घटनामा भने खेल रेफ्रीले उनलाई चेतावनी दिएका थिएनन्, जबकि, टेनिसमा बललाई जोडले हान्नु नियमविपरीतको विषय थियो।

केवल खेलाडीले आफ्नै ¥याकेट भुइँमा बजारिँदा मात्र सामान्य रूपमा लिने गरिन्छ। त्यसमा पनि कहिलेकाहीं खेलाडीले चेतावनी पाउने गर्छन्।

रोजर फेडेरर र राफायल नाडालको अनुपस्थितमा यूएस ओपन टेनिस प्रतियोगितामा जोकोभिचले जित्ने सम्भावना धेरै थियो। उनलाई करियरकै १८औं ग्रान्डस्लाम जितेर फेडेरर र नाडालसँग अझ नजिक पुग्ने मौका पनि थियो।

मेन्स सिंगल्सतर्फ स्वीट्जरल्यान्डका फेडेररले सर्वाधिक २० ग्रान्डस्लाम जितेका छन् भने स्पेनका नाडालले १९ ग्रान्डस्लाम जितेका छन्। तर, रिसाहा जोकोभिचका लागि चौथो चरणको खेल महँगो सावित हुँदा उनका प्रतिद्वन्द्वीसँग दूरी कम गर्ने सुन्दर मौका गुमेको छ।

कोरोना भाइरसका कारण विश्वमा सबैजसो खेल स्थगित भएको अवस्थामा यूएस ओपन शुरू भएको पहिलो ग्रान्डस्लाम प्रतियोगिता हो। यसअघि विम्बल्डन रद्द गरियो भने पे्रmन्च ओपन यसपछि शुरू गर्ने योजनामा छ।

जबकि, यूएस ओपन हरेक वर्ष हुने ग्रान्डस्लाममध्ये वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगिता हो। फ्रेन्च ओपन दोस्रो हो भने विम्बल्डन वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता हो। वर्षमा हुने पहिलो ग्रान्डस्लाम अस्टे«लियन ओपन भने जनवरीमै समाप्त भइसकेको थियो।

जोकोभिचको विन्ती सुनिएन
जोकोभिचले सो घटनापछि प्रतियोगिताका रेफ्री सोइरेन फ्रिमेल र ग्रान्डस्लाम सुपरीवेक्षक एन्ड्रिस इग्लीसमक्ष क्षमाको विन्तीभाउ गरेका थिए। उनले निर्णय सुन्न कुरिरहेका थिए। तर, निर्णय उनलाई निष्कासित गर्ने आएपछि उनी स्तब्ध भएका थिए। त्यसपछि उनी पत्रकार सम्मेलन गरेर स्टेडियमबाट बाहिरिएका थिए। उनले आफ्नो इन्स्टाग्राममार्फत क्षमायाचना मागेका थिए।

नयाँ ग्रान्डस्लाम विजेता पक्का
जोकोभिचको बहिर्गमनले यूएस ओपन टेनिस प्रतियोगितामा मेन्स सिंगल्सतर्फ नयाँ विजेता आउने पक्का भएको छ। यसअघि जोकोभिच, नाडाल र फेडेररले नै उपाधिमाथि आधिपत्य जमाउँदै आएका थिए। यद्यपि, २०१६ मा स्वीट्जरल्यान्डका स्टान वावरिन्काले यूएस ओपन जितेर उनीहरूको अधिपत्यलाई तोडेका थिए। चार वर्षपछि फेरि एकपटक ती तीन सुपर स्टारभन्दा बाहिरका खेलाडीले उपाधि जित्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्