पर्वतको कुस्मामा करदाता सेवा कार्यालय स्थापना



न्युज अफ नेपाल, पर्वत ।

आन्तरिक राजश्व कार्यालयले सेवा कार्यालयले सोमबार देखि पर्वतको कुस्मामा करदाता सेवा कार्यालय स्थापना गरेको छ । निजामति सेवा दिवसको अवसर पारेर करदाता सेवा कार्यालयले सेवा प्रारम्भ गरेको हो ।

बागलुङ्गबाट दिदै आएको सेवा लिन पर्वतबासीलाई अपायक भएको गुनासो आएपछि पर्वतमै सेवा कार्यालय स्थापना गरिएको आन्तरिक राजस्व कार्यालय बागलुङ्गले जनाएको छ । सरकारले २४ जिल्लामा करदाता सेवा कार्यालय स्थापना गर्ने लक्ष्य अनुसार पर्वतमा पनि कार्यालय स्थापना गरिएको प्रमुख कर अधिकृत हेमराज सुबेदीले बताउनुभयो ।

कार्यालय स्थापनापछि करचुक्ता प्रयोजन तथा ब्यवसायलाई मूल्य अभिबृद्धि कर तथा स्थायी लेखा नम्बर लिनका लागि बागलुङ जानुपर्ने बाध्यता हटेको छ । जिल्लमा झण्डै ७ हजार भन्दा बढि करदाताहरु रहेका छन । पछिल्लो समय पर्वतमा मुल्यअभिबृद्धि करबाट कारोबार गर्नेको संख्या पनि पर्वतमा बढिरहेको छ । सरकारले कर्मचारीको ब्यक्तिगत पान नम्बर समेतलाई अनिवार्य गरेसंगै करदाताको संख्यामा अझै धेरै बृद्धि हुदै गएको छ । पर्वतको दक्षिणी क्षेत्रका करदातालाई बागलुङ जिल्ला अपायक भएको गुनासो ब्यवसायीहरुले गर्दै आइरहेका थिए । शिक्षक, कर्मचारी लगायत अन्य रोजगारीमा रहेकाहरुको ब्यक्तिगत पान नम्बर लिनुपर्ने ब्यबस्थाका कारण पनि कार्यबोझ बढेको अबस्थामा नयाँ कार्यालयले कुस्माबाटै सेवा दिन थालेको छ।

कार्यालयको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पहिलो सेवाग्राहीलाई पान नम्बर दिएर सेवा शुभारम्भ गर्नुभयो । प्रजिअ रेग्मीले सेवा शुभारम्भ गर्दै दर्ता भएका करदातालाई बिना झण्झट सहज र सरल रुपमा सेवा दिनुपर्ने कुरामा जोड दिदै कर तिर्न योग्य भएका सबैलाई करको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

आन्तरिक राजश्व कार्यायलले करदाता सेवा कार्यालय कुश्मामा स्थापना गरेपछि पर्वतका ब्यवसायीहरुलाई ठूलो राहत मिलेको पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले आन्तरिक राजस्व कार्यालयले लिने अन्त शुल्कको काम कोलेनिकाबाट हुँँदै आएकोमा पर्वतमा नै सेवा कार्यालय खुलेपछि आफ्नो कार्यालयको कार्यबोझ समेत घटेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारी, करदाता सेवा कार्यालय पर्वतका प्रमुख सुन्दर श्रेष्ठ र आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत बुद्धिप्रसाद आचार्यले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्