पितृपूजामा सीमित भयो न्वागी



न्युज अफ नेपाल,  हेटौंडा ।

मकवानपुरमा विशेष बसोबास रहेका सीमान्तकृत चेपाङ समुदायको सबभन्दा प्रमुख पर्व छोनाम (न्वागी) सीमित दायरामा रहेर मनाइएको छ ।

नेपाल चेपाङ संघ केन्द्रीय समितिले यसपटक औपचारिकरुपमा कार्यक्रम नगर्ने तर घरमै बसेर भने पर्व मनाउन भनेको थियो । संघले आफ्नो मौलिक परम्परागत्रुपमा चेपाङ समुदायलाई न्वागी मनाउन भनेको थियो । चेपाङ संघले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङबहुल क्षेत्रमा न्वागी मनाउँदै आएको थियो ।

हरेक भदौ २२ गते मनाइने न्वागीलाई चेपाङको विशेष पर्वका रुपमा लिइन्छ । नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेषपूजा गर्दै यस पर्व मनाइने प्रचलन छ । यस पर्वमा चेपाङले घैया (धान) को चामल, पिंडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउँछन् । आपसी भ्रातृत्व र मित्रताको पर्वमा चेपाङले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खुवाउँछन् । नाचगान गरी सुखदुःख साट्ने गर्छन् ।

साँस्कृतिकरुपमा चेपुवामा परेका चेपाङ समुदायका लागि यस पर्वले विशेष महत्व राख्ने मकवानपुरका चेपाङ अगुवा तथा पूर्वसभासद् गोबिन्दराम चेपाङले बताउनुभयो । गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्छन् । यस दिन न्वागी फलाक्ने झाँक्रीका साथै अन्यले साँस्कृतिक नाच र गीत प्रस्तुत गर्छन् । उनीहरु कुखुराका बली दिन्छन् ।

चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वमा कोरोना संक्रमणका कारण असर परेको छ । न्वागी पर्वका बेला आयोजना हुने सबै औपचारिक कार्यक्रम रद्ध गरिए । परम्परागत्रुपमै गाउँघरमा ढ्याङ्ग्रो बजाएर पितृपूजा गरी न्वागी पर्व मनाइएको नेपाल चेपाङ संघले जनाएको छ ।

भदौ २२ गतेलाई राष्ट्रिय चाडका रुपमा घोषणा गरी चेपाङ समुदायले न्वागी मनाउँदै आएका छन् । यस पर्वलाई छोनाम पर्व पनि भनिन्छ । न्वागी पर्वलाई आफ्नो नयाँ वर्षको सुरुवातका रुपमा उनीहरुले मनाउँदै आएका छन् ।

छोनाम पर्वमा नयाँ उत्पादन भएको मकै, घैया आफ्ना दिवंगत पितृलाई चढाएर मनाउने गरिएको नेपाल चेपाङ संघ मकवानपुर अध्यक्ष पूर्णबहादुर प्रजा (चेपाङ) ले बताउनुभयो । बिगतमा वर्षमा हुने गरेका साँस्कृतिक कार्यक्रमसहित औपचारिक कार्यक्रम आयोजना नगरिएको अध्यक्ष पूर्णबहादुरले बताउनुभयो ।

उहाँका अनुसार राक्सिराङ, कैलाश र मनहरीका चेपाङ बस्तीहरुमा व्यक्तिगतरुपमा पान्दे (झाँक्री) हरुले ढ्याङ्ग्रो फलाकेर यस वर्ष न्वागी मनाइएको छ । यस वर्ष बढ्दो कोरोना संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरिएको संविधानसभा सदस्य एवम् संघ पूर्वकेन्द्रीय अध्यक्ष गोबिन्दराम चेपाङले बताउनुभयो ।

न्वागीको दिनलाई चेपाङहरुले वारनाका रुपमा मनाउने गर्दछन् । ‘वारनामा कोही चेपाङ काममा निस्कँदैनन्,’ संविधानसभा सदस्य चेपाङले भन्नुभयो । चेपाङहरु मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरु जंगलका गिठा÷भ्याकुर खाएर जीवन धान्ने भएकाले बनजंगलसँग राम्रो साइनो गाँसिएको छ । त्यसैले प्रकृतिको पूजा उनीहरुका लागि महत्वपूर्ण हुन्छ ।

मकवानपुरको चेपाङबहुल राक्सिराङ गाउँपालिकाले चेपाङको न्वागी पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षा अनुशासन कायम गरेर भीड नहुने गरी न्वागी पर्व मनाउन आग्रह गरेको थियो । पालिका अध्यक्ष राजकुमार मल्लले सूचना प्रकाशन गरी सार्वजनिक बिदा दिइएको जानकारी दिनुभएको थियो ।

उक्त गाउँपालिकाका करिब ३० हजार जनसंख्यामध्ये करिब १३ हजारभन्दा बढी जनसंख्या चेपाङ जातिको छ । चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा साँस्कृतिक सिमानाले बाँधेको देखिन्छ । जन्मदेखि मृत्युसम्मका उनीहरुको सँस्कार भूमिसँग सम्बन्धित हुन्छ । उनीहरुको मूलथलो गाउँघर, खोलानाला, भिरपहरा आदिको नाम चेपाङ भाषाबाटै राखिएका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ तथा प्रजा जातिको जनसंख्या ६८ हजार ३ सय ९९ छ । मकवानपुर, चितवन, धादिङ, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रुपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको देखिन्छ ।

चेपाङ बाहुल्य जिल्लामध्ये सबभन्दा धेरै चितवनमा चेपाङको जनसंख्या २८ हजार ९ सय ८९ छ । चितवनको कुल जनसंख्यामा चेपाङको संख्या सातौं स्थानमा छ । दोस्रो चेपाङ बाहुल्य जिल्ला मकवानपुरमा यो संख्या १९ हजार २ सय ३३ छ ।

जिल्लाको जातिगत हिसाबले मकवानपुरमा चेपाङ पाँचौं स्थानमा छन् । तेस्रो चेपाङ बाहुल्य जिल्ला धादिङमा १४ हजार ४ सय ९२ रहेका छन् । उक्त जिल्लामा जातिगत हिसाबले चेपाङ आठौं स्थानमा पर्छन् । गोरखामा चेपाङको जनसंख्या ३ हजार ४ सय ५४ छ भने जातिगत हिसाबले उक्त जिल्लामा चेपाङ १३ औं स्थानमा छन् । कालिका नगरपालिका वडा–१० र ११ लाई चितवनको साविक सिद्धि गाविसलाई चेपाङको ‘राजधानी’ मानिन्छ ।

एकमात्र चेपाङ सांसद सन्तबहादुर चेपाङले चेपाङ समुदायले मनाउँदै आएको छोनाम (न्वागी) पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–७ निवासी सन्तबहादुर बामगती प्रदेशसभा सांसद् हुनुहुन्छ ।

उहाँले सोमबार शुभकामना सन्देश प्रकाशन गरी समस्त चेपाङ जातिमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरस संक्रमणका कारण भीड नगरी पर्व मनाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्