किशोर-किशोरीको स्लिम बन्ने चाहना



किशोर–किशोरीहरु र युवावस्थामा भर्खरै प्रवेश गरेका महिलाहरुमा स्लिम बन्ने चाहना अधिक देखिन्छ । तौल बढ्ला भन्ने चिन्ताका कारण उनीहरुमा खानपान नै छोड्ने, भोकभोकै बस्ने समस्या व्याप्त छ । के यसरी खाना छोड्नु ठीक हो ? यस लेखमा यसै बारेमा चर्चागर्ने प्रयास गरिएको छ ।

अवैज्ञानिक अभ्यास

शहरबजारमा रेस्टुराँका खाना खाने संस्कृति मौलाउँदै गएको छ । तयारी खाना र प्याक्ड फूड खाने चलन गाउँतिर पनि फैलँदै छ । आफुलाई आधुनिक देखाउन फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युटुब आदि सामाजिक सञ्जालबाट यस्ता खानेकुराको प्रचारप्रसार गर्ने होडबाजी विकृतिकै रुपमा फैलिँदै छ । आफन्तको जन्मदिन, वैवाहिक वार्षिकोत्सव आदिमा केक, पिज्जा, बर्गर, मम, चाउमिनलगायत तेलमा तारे/भुटेका, चीज–बटर तथा क्रिम बढी प्रयोग गरिएका खानेकुरा, मिठाई, आइसक्रिम आदि उच्च क्यालोरीका खानेकुराहरु प्रयोग गर्ने गरेको पाइन्छ । आफ्नो समूहमा खाने मात्र होइन, अरुलाई लोभ्याउने र उक्साउने गरी प्रचार गर्ने प्रचलन बढ्दो छ । यो अस्वस्थ र अवैज्ञानिक अभ्यास हो । यस्ता खाना बढी खाने र व्यायाम नगर्ने प्रवृत्तिले धेरैको तौल बढेको पाइन्छ ।

कतिपयले त यस्ता खाना खाएपछि हुने पश्चात्ताप र तनावका कारण खाएको खानालाई बान्ता गरेर निकाल्ने प्रयास पनि गर्दछन् । तर परिस्थिति अनुकूल नहुँदा उनीहरु चिन्ता र डिप्रेसनमा पनि पुग्छन् ।

डाइटिङ किन गर्छन् ?

दुब्लाउनको लागि खाना छोड्ने प्रक्रियालाई अंग्रेजीमा डाइटिङ भनिन्छ । खासगरी केटीहरु किशोरी भएपछि आप्mनो साथी–समूहमा रुप, शरीरको चियोचर्चा हुन थाल्छ । मोटो भएको, जीउ भद्दा देखिएको भन्ने सुनेपछि वा घरपरिवार र छिमेकमा पनि मोटा व्यक्तिहरुको शरीर देखेपछि उनीहरुमा मोटो भइएला भन्ने पिर पर्छ । तर पनि माथि उल्लिखित अप्राकृतिक तथा उच्च क्यालोरी भएका तयारी खाना एवं पेय छोडिहाल्न सक्तैनन् । मनलाई काबुमा राख्न नसकेर खाइहाल्ने तर खाएपछि बेकारमा खाएँ भनेर पछुताउँदै आफुलाई दोषी देख्ने (Guilt feel) गर्छन् । यसमा आफुलाई सच्याउने प्रयासस्वरुप एक्कासि खाना छोड्ने गर्छन् । यसरी खाना खाने र एक्कासि छोड्ने वा डाइटिङ गर्ने ठीक तरिका नमिलेका कारण विभिन्न स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छन् ।

आमसञ्चारमाध्यमहरु तथा सामाजिक सञ्जालहरुमा आउने सामग्रीमा दुब्लो शरीरलाई सुन्दर, स्वस्थ भनी प्रचार भएको देख्दा किशोरीहरु त्यसैलाई आदर्श ठान्छन् । आफ्नै  उमेरका साथीसंगी तथा ठूला व्यक्तिको देखासिकी, मनोसमस्या, खानपानको गडबडी (इटिङ डिस्अर्डर), आत्मविश्वास एवं आत्मसम्मानको कमी, हीनताबोध, गलत बुझाइ, एक्लो अनुभूति गर्ने जस्ता विविध कारणहरुले गर्दा सही निर्णय गर्न नसक्नेहरु डाइटिङ गर्न थाल्छन् । उनीहरु पत्रु खाना (जंक पूmड) र उच्च क्यालोरीका खाना खान पनि छोड्दैनन् र खाएपछि डाइटिङ गरिहाल्छु भन्ने गलत सोच पनि त्याग्दैनन् ।

कतिपयले त यस्ता खाना खाएपछि हुने पश्चात्ताप र तनावका कारण खाएको खानालाई बान्ता गरेर निकाल्ने प्रयास पनि गर्दछन् । तर परिस्थिति अनुकूल नहुँदा उनीहरु चिन्ता र डिप्रेसनमा पनि पुग्छन् । उनीहरुमा खानाप्रति नै वितृष्णा उत्पन्न हुन पुग्छ । यही वितृष्णाको विस्फोट नै डाइटिङ हो भनेर कुराकानीका क्रममा उनीहरु स्वीकार गर्दछन् ।

डाइटिङको असर

बढ्दो उमेरका किशोर–किशोरीहरुले यसरी ठप्पै खान छोडेर पटक–पटक वा लामो समयसम्म डाइटिङ गर्ने गर्दा यसबाट उनीहरुको उचाइलगायत शारीरिक वृद्धि–विकास रोकिने, ढिलाइ हुने हुन्छ । जंकफूड एवं चिल्लोयुक्त खाना पनि खाने र डाइटिङ पनि गर्ने प्रवृत्ति स्वास्थ्यका लागि घातक हुन्छ । यसबाट शारीरिक मात्र नभई मानसिक समस्याहरु पनि थपिन्छन् ।

शारीरिक असर

बढी क्यालोरीयुक्त तयारी तथा पत्रु खानाहरुले एकातिर तौल बढाउने र आवश्यक पोषण नपुग्ने हुन्छ भने त्यसपछि खानालाई चटक्कै छोड्दा पनि शरीर झन् कमजोर बन्दछ । सन्तुलित पोषणको आवश्यक पर्ने अवस्थामा खानपान त्याग गर्दा बढ्दो उमेरका व्यक्तिको शारीरिक विकासमा अवरोध आउँछ, जसबाट मांसपेशी, हाडजोर्नी आदि कमजोर हुन्छन् । अंगहरुको उचित विकास नभई उचाइ नबढ्ने, कुपोषण हुने, शरीरमा रगतको कमी हुने, रोग–प्रतिरोधक क्षमता घट्ने र विभिन्न रोगहरु लागिरहने हुन्छ ।

यस्ता व्यक्तिमा ग्यास्टिक, कब्जियत, पाइल्स, अल्सरजस्ता समस्याहरु भई पेट दुख्ने, फुल्ने, घोच्ने, पेट फुल्ने, वायु बढ्ने, छाती दुख्ने, कम्मर तथा टाउको दुख्ने, दिसा गर्न नसक्ने, मलद्वार च्यातिने तथा दुख्ने, मलद्वारबाट रगत आउने जस्ता लक्षणहरु हुन्छन् । यस्ता समस्या दीर्घकालीनरुपमा भएमा अन्य शारीरिक रोग तथा लक्षणहरु पनि जन्मिन्छन् । लामो समयसम्मको डाइटिङ गर्नाले गम्भीर कुपोषण भई पछि त खानै मन नलाग्ने वा खाए पनि बान्ता हुने, पखाला चल्ने, पेट दुख्ने आदि लक्षणहरु आउँछन् र शरीरमा दाग, चाया–पोतो आउँछ । कतिपय सुन्दरी कहलिएकाहरु डाइटिङकै कारण गम्भीर कुपोषणको सिकारबाट एक्कासि अस्वाभाविक तौल ह्रास भई कुरुप हुन पुग्छन् । त्यति मात्र नभएर अनुचित डाइटिङका कारण हृदयरोग, स्नायुरोग एवं मेटाबोलिक डिस्अर्डर भई अनेक रोग लाग्न सक्छ ।

मानसिक असर

अवैज्ञानिक तथा अव्यावहारिकरुपले खाना छोड्नु आफैमा पनि मानसिक समस्याको एक परिचायक मानिन्छ । यदि राम्रै विचारले यस्तो गर्न चाहेमा पनि यसबाट तनाव, चिन्ता र डिप्रेसनको समस्या जन्मिन्छ । हीनताबोधका कारण मानसिक समस्याहरु बढ्दै निराशा, अनिद्रा, खाने बानीमा झनै गडबडी हुने, सोच्ने–निर्णय गर्ने क्षमतामा ह्रास आउने, बौद्धिक विकासमा कमी आउने जस्ता समस्या आउन सक्छन् । मानसिक कारणले मनोशारीरिक गडबडी वा रोगहरुसमेत उत्पन्न हुने सम्भावना हुन्छ ।

मनोसमस्या बढेमा व्यवहारमा नकारात्मक प्रभावहरु पर्दछन् र स्वभावमा परिवर्तन आउने, रिसाउने, चिड्चिडाहट हुने, रुने, कराउने, सही ढंगले कार्यसम्पादन गर्न कठिनाइ हुने, असफलता बढ्ने आदि समस्या पनि देखिन सक्छन् । पढ्ने, बौद्धिक विकास गर्ने र मानसिकरुपले तगडा हुनुपर्ने समयमा अनावश्यकरुपले भोकै बस्दा मानसिक क्षमता पनि घट्छ । साथै थप मनोवैज्ञानिक प्रभावहरु पनि पर्न सक्छन् ।

तौललाई नियन्त्रण गर्ने उपाय

किशोर–किशोरीहरुले घरमै बनेका खानेकुराहरुलाई प्राथमिकता दिनुपर्दछ । कतिपयले होटल संस्कृति घरमै भित्र्याएको पनि पाइन्छ । बढी क्यालोरीयुक्त खानेकुरा जस्तै– पिज्जा, बर्गर, केक, चाउमिन, पकोडा, समोसा, मिठाईहरु, हलुवा, पुरी आदि घरमै पकाएर खाने अभ्यास भएको पनि पाइन्छ । युट्युब भिडियो हेर्दै पकाउन सिक्ने र बारम्बार घरमै पनि यस्ता खानाहरुको अत्यधिक प्रयोग गर्ने वा रेस्टुराँका खाना होम डेलिभरी गराएर खाने गरेको पाइन्छ । यसलाई रोक्नुपर्छ । साथै साथीहरुसँग विद्यालय–कलेजका क्यान्टिनमा अस्वस्थकर खाना खाने पनि गरिन्छ । यसलाई रोकेर घरका स्वस्थ खाना खाने बानी बसाल्नुपर्छ ।

तौल बढेको महसुस भएमा सर्वप्रथम चिकित्सकसँग भेटी परामर्श लिनुपर्दछ । यदि मोटाएकै भए पनि खाना छोडेर होइन पेटभर खाएरै तौल नियन्त्रण गर्न सकिन्छ । दैनिक हरियो तरकारी, सलाद आदि रेसा भएका खाना धेरै प्रयोग गर्ने र बढी चिल्लोयुक्त तथा क्यालोरी बढी हुने खाना कम प्रयोग गर्नुपर्छ । यसरी तौलमा सन्तुलन ल्याउन सकिन्छ । चिकित्सक वा पोषणविज्ञले तपाईंलाई के–कति खानुपर्छ भनेर आहार–चार्ट बनाइदिन सक्छन् । तपाईंको शरीरलाई दैनिक कति क्यालोरी आवश्यक पर्छ र दुब्लो भएमा कति थप्ने वा मोटो हुनुहुन्छ भने दैनिक कति क्यालोरी घटाउने भन्ने कुरा उहाँहरुले भन्नुहुनेछ ।

इन्टरनेटमा राखिएका तौल घटाउने किसिमका सन्देशको भर पर्दा हानि पुग्न सक्छ । किनभने यस्तो सामग्री जसले पनि राख्न सक्छ । यसको आधिकारिकता, जवाफदेहिता हुँदैन । दोहोरो संवादको सम्भावना पनि हुँदैन । हरेक व्यक्तिको लागि एउटै किसिमको सामग्री राखिएको हुन्छ, जुन तपाईंका लागि उपयुक्त नहुन सक्छ ।

तौल बढी भई नियन्त्रण गर्नुपर्ने छ भने आवेगमा नआई शान्त किसिमले व्यवहार गर्नुपर्छ । सकारात्मक भावका साथ शारीरिक अभ्यास गर्ने, सही मात्रामा पानी पिउने, ठीक समयमा सुत्ने–उठ्ने, निद्रा पुर्‍याउने, मन प्रसन्न राख्ने, घरायसी काम गर्न नहिच्किचाउने, घरको सरसफाइ, करेसा बारीको रेखदेख, अभिभावकलाई काममा सहयोग गर्ने गर्नुपर्छ । दैनिक खानपान र व्यायाममा सन्तुलन कायम राख्नुपर्छ ।

तौल कम भएका किशोर–किशोरीहरुले डाइटिङ गर्ने होइन, सन्तुलित र स्वस्थकर खानपान प्रयोग गरी हृष्टपुष्ट बन्नुपर्दछ । खासगरी बढ्दो उमेरमा सही पोषण प्राप्त भएमा अंगप्रत्यंग बलियो हुने, अग्लो हुने, मानसिक क्षमताहरु बढ्ने र अध्ययन तथा मानसिक विकासमा सहयोगी हुन्छ ।

उपवास पनि लाभदायक

उपवास भनेको पानी मात्र पिएर बस्ने हो । वैज्ञानिकरुपमा गरिने उपवास राम्रो हुन्छ । तर जंकपूmडहरु नखाई प्राकृतिक खानपान गर्ने बानी गरेपछि मात्र उपवास गर्नुपर्छ । जंकपूmड त्याग्ने, दिनहुँ स्वस्थकर प्राकृतिक खानेकुरा खाने बानी गरेपछि २ हप्तामा एकपटक वा प्राकृतिक चिकित्सकको निर्देशनमा आवश्यकताअनुसार विधिसंगत उपवास गर्न सकिन्छ ।

यस बेला पेटमा मडथेरापी (माटोपट्टी लगाउने), एनिमा (पेट सफा गर्ने) र अरु प्राकृतिक चिकित्सा विधिहरु अपनाउँदा आन्द्राको सफाइ हुने, शरीरको विकार निस्कने र जंकपूmडको असर कम हुनेलगायत डाइटिङबाट उत्पन्न भएका नकारात्मक समस्याहरु हट्छन् । उपवास गर्नुअघि र पछि फलाहार, रसाहार गर्नुपर्छ । यसरी महिनामा एक–दुईपटक नियम पुर्‍याई उपवास गर्दा भने डाइटिङजस्तो हुँदैन, शारीरिक तथा मानसिक दुवै रुपमा पनि लाभदायक हुन्छ ।

योग अभ्यास

योगले शारीरिक तथा मानसिक लाभ प्रदान गर्दछ । योगमा नियमितरुपमा यम र नियमको अभ्यास गर्नुपर्छ, जसले व्यक्तिलाई अनुशासनमा राख्छ । यसपछि सूक्ष्म व्यायाम, स्थूल व्यायाम र आसनहरुको प्रयोग लाभदायक छ । अंगप्रत्यंगको सहज व्यायाम र उत्तानो सुतेर (उत्तानपादासन, नौकासन, पवनमुक्तासन, सर्वांगासन, मत्स्यासन, शवासन आदि), घोप्टो परेर (सलभासन, भुजंगासन, विपरीत हस्तपाद उत्थित्तासन, धनुरासन, मकरासन, शिथिलासन वा बालसयनासन आदि), बसेर (सुखासन, पुतली आसन, पद्मासन, वज्रासन, शशंकासन, मण्डूकासन, उष्ट्रासन आदि), उभिएर (वृक्षासन, ताडासन, त्रिकोणासन हस्तपादासन र मिश्रित (सूर्य नमस्कार, प्रज्ञायोग आदि) आसनहरुको अभ्यास गर्न सकिन्छ ।

यसरी नै प्राणायाम (अनुलोम–विलोम, भ्रामरी, भस्त्रिका आदि), ध्यान र क्रियाहरु (अग्निसार, जलधौति, वस्ति, कपालभाँति आदि) यौगिक विधिहरु सन्तुलितरुपमा नियमित अभ्यास गर्नाले नकारात्मक विचारहरु हट्ने, तौल सन्तुलन गर्ने, भोक लाग्ने भएर पनि भोकमा नियन्त्रण गर्ने क्षमता बढ्ने, नकारात्मक खानपानतिर सोच नजाने जस्ता अनेक लाभहरु पाउन सकिन्छ ।

योग मोडेल : मिरी बराकोटी
प्रतिक्रिया दिनुहोस्