‘राम’ माथि राजनीतिक आशक्ति



  • पविता मुडभरी पुडासैनी

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीका अवसरमा रामायणको प्रसंग झिक्दै राम नेपालमै जन्मिएको र नेपालको सांस्कृतिक तथ्यहरुमाथि अतिक्रमण गर्दै भारतले कृत्रिम अयोध्या सिर्जना गरी रामलाई भारतमा जन्मिएको भ्रम फैलाएको बताए । नेपालको जनकपुर, अयोध्यापुरी र वाल्मीकि आश्रमको भौगोलिक निकटताको प्रसंग झिक्दै राम नेपालमै जन्मेको तथ्य विवादित नभएको पनि बताए ।

जनककी छोरी सीतासँग विवाह गर्ने भगवान् रामको जन्मस्थान अयोध्या नेपालमै रहेको जिकिर पनि गरे । सामाजिक सञ्जाल, युटुबलगायत पत्रपत्रिका र अन्य सञ्चारमाध्यममा उनको अभिव्यक्तिको आलोचना र समर्थनसँगै सांसदहरुले पनि अयोध्यापुरीको अनुसन्धान र उत्खनन गर्नुपर्ने माग गरे ।

प्रधानमन्त्रीको निर्देशनमा प्रमाण जुटाउन पुरातत्व विभागले विज्ञसहितको टोलीले ठोरीस्थित अयोध्यापुरीको उत्खनन र अनुसन्धान गर्ने निर्णय ग¥यो । यसअगाडि कहिल्यै कुनै नेतृत्वले खोजी नगरेको रामको जन्मभूमिसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति जे–जस्तो रुपमा बाहिरिएको भए पनि पर्सा ठोरीको अयोध्यापुरी अनुसन्धानको क्षेत्र बनेको छ, साथै आध्यात्मिक महत्व चुलिएको छ ।

रामको जन्मभूमिलाई लिएर भारतको अयोध्या पनि युगौँदेखि विवादित बन्दै आएको र नेपालको अयोध्यापुरीमा राम–सीताका पहिचानसँग जोडिने गुफा, पोखरी, मूर्ति, खम्बालगायतका प्रमाणहरु रहेकाले प्रधानमन्त्रीको अभिव्यक्ति र निर्देशनसँगै अयोध्यापुरीको उत्खननमा पुरातत्व विभाग जुटिसकेको छ ।

रामले यज्ञ गरी छाडेका अश्वमेध घोडा वाल्मीकि आश्रममा बसेका लव–कुशले बाँधेको र घोडा खोज्दै वाल्मीकि आश्रम पुगेका राम तथा लव–कुशबीच युद्ध भएको कथा रामायणमा पाइन्छ । पछि छोराहरुलाई चिनेर राम छोराहरु लिई अयोध्या फर्किएपछि सीता माताले पाताल प्रवेश गरेको स्थान वाल्मीकि आश्रममा अहिले पनि देख्न सकिने भएकाले अयोध्यापुरी मात्र नभई वाल्मीकि आश्रमसमेत उत्खनन र अनुसन्धानको क्षेत्र बनेको छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथका छोरा रामसँग जनकपुरका जनककी छोरी सीताको विवाह भएको र चौध वर्षे वनवासबाट फर्किएपछि रामले सीतालाई त्यागेको अनि लक्ष्मणले चितवनको माडीस्थित वाल्मीकि आश्रममा ल्याई छाडेकोमा त्यहीँ सीताले लव–कुश जन्माएको प्रसंग रामायणमा छ । भगवान् रामको जीवनकथामा आधारित ६ वटा रामायण लेखिएका छन्, जसमध्ये आफ्नै भूमिमा लेखिएको वाल्मीकि रामायणलाई आधार मानेर शास्त्रीय मान्यताअनुरुप अनुसन्धानमा जुट्नुपर्छ ।

प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिलाई लिएर भारतीयले मात्र होइन, धार्मिक आस्थामाथि राजनीतिक हमला भएको भन्दै नेपालीहरुबाटै पनि विरोधका स्वर उठेको देखियो । प्रधानमन्त्रीको अभिव्यक्तिलाई कांग्रेसले सत्ता उन्माद र व्यक्तिगत सनक भन्दै तीव्र आलोचना ग¥यो भने संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्ति भ्रमपूर्ण रहेको बताए । जनकपुरका महन्त रामतपेश्वर दासले सरयु नदीको किनारामा रहेको अयोध्या भारतमै रहेको टिप्पणी गरे ।

धर्मलाई अफिम मान्ने र विभिन्न जातिगत संस्कारलाई सामन्ती ठान्ने कम्युनिस्ट सिद्धान्तका पक्षधर प्रधानमन्त्री केपी ओलीले हालसम्म उपेक्षामा परेका र भत्की नाशिएका हाम्रा धार्मिक, सांस्कृतिक क्षेत्र एवं मठमन्दिरहरुको खोज–अनुसन्धान तथा उत्खनन संरक्षणका विषयमा हालै देखाएको चासोलाई राजनीतिक तिकडमका रुपमा अथ्र्याउनेहरुको कमी छैन ।

सांस्कृतिक उन्नयन, पर्यटन विकास र आर्थिक उपार्जनको पाटोसमेत लुकेको अयोध्यापुरी उत्खननलाई राजनीतिक तिकडमका रुपमा मात्र नहेरी हाम्रो गौरवमय प्राचीन सांस्कृतिक सम्पदाको पहिचान र संरक्षण जुनसुकै राजनीतिक सिद्धान्त बोकेका शासकबाट हुनु राम्रो हो । राम आध्यात्मिक पात्रमात्र नभई आदर्श नेतृत्वसमेत भएकाले जुनसुकै राजनीतिक विचारधाराका व्यक्तिले उनको आदर्श गुण र रामराज्य नीतिको अनुसरण गर्दा हुन्छ । दुई तिहाइ जनमतसहित पाँच वर्षे शासनकालको मौका पाएका केपी ओलीमाथि देशमा रामराज्य शासन व्यवस्थाको मार्गचित्र कोर्ने अवसर र अभिभारा पनि छ ।

त्रेतायुगको अयोध्या कहाँ थियो भन्ने पौराणिक तथ्यगत एकिन हालसम्म भई नसकेको अवस्थामा तत्कालीन अयोध्या भुमि नेपालकै अयोध्यापुरीमा पर्न सक्ने तर्क अघि सार्नु र अनुसन्धानमा जुट्नु कसैको धार्मिक आस्थामाथिको अतिक्रमण र उन्माद अवश्य होइन ।

तर यातायात र सञ्चारमाध्यमको सुविधा नभएको त्रेतायुगमा भारतको अयोध्यादेखि जनकपुरसम्म त्यति टाढा रामले विवाह गर्न आउनै नसक्ने र त्यति टाढादेखि लक्ष्मणले सीतालाई वाल्मीकि आश्रम ल्याइपु¥याउन सम्भव नै नभएको भन्ने प्रधानमन्त्रीको अतिवादी र एकांकी हल्का अभिव्यक्तिले रामसम्बन्धी अध्यात्म र अलौकिक आस्थाको बर्खिलाप भएको छ ।

त्रेता र द्वापरयुगका उन्नत समाज र सभ्य सुसंस्कृत मानव सभ्यता पनि हामीले धर्मग्रन्थहरुमा पढे, सुनेका छौँ । हाल जहाज चढेर केही दिनमै सात समुद्रपारि अमेरिका, युरोप पुग्न सक्ने प्रधानमन्त्रीले भगवान् श्रीराम एउटा समुद्र पार गरेर जनकपुरसम्म आइपुग्न नसक्ने कमजोर र एकांकी तर्क अघि सारेर राम नेपालमै जन्मेको दलिल पेस गर्नुचाहिँ नेतृत्वले आफ्नो चिन्तन र ज्ञानलाई कमजोर तुल्याउनु हो ।

राम जन्मभूमिसम्बन्धी अभिव्यक्ति विशुद्ध रामसँग मात्र जोडिएको विषय नभई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत जोडिन पुगेको छ । त्यसो त धर्ममाथि सत्ता उन्मादी राजनीति र लहडी तर्क हाबी हुनाका दुष्परिणाम राष्ट्रका लागि कति घातक हुन्छ भन्ने दृष्टान्तका लागि भारतको अयोध्या नै काफी छ । मृगौला रोगले आक्रान्त प्रधानमन्त्रीको सत्ता उन्मादी र एकांकी अनगिन्ती अभिव्यक्ति बारम्बार विवादमा पर्दै आएका छन् ।

कोरोना महामारी र यसका उपचारबारे उनले दिएका हल्का र ठट्यौला अभिव्यक्ति पछिल्लो समय निकै आलोचित बन्यो । उनी देशका प्रधानमन्त्री भएकाले राष्ट्रिय ढुकुटी खर्र्र्र्चिएर महँगो र उत्कृष्ट उपचारसँगै उच्च गुणस्तरको औषधि सेवन गराइएको भए पनि वयोवृद्ध उमेर र लामो समयदेखि असाध्य रोगबाट आक्रान्त यस्ता बिरामीले सरकार प्रमुखको गहन जिम्मेवारीको बोझ र पार्टीगत किचलो अनि तनावका कारण सार्वजनिक सरोकारका विषयमा समेत उन्मादी, तथ्यहीन, भ्रामक र कपोलकल्पित अभिव्यक्तिहरु भुत्कन सक्छन् । नेपाली जनता यसको भुक्तभोगी पनि हुन् ।

कम्युनिस्ट विचारधाराका शासकले रामलाई नपुज्लान्, मठ–मन्दिर नधाऊलान् तर देशको धार्मिक, सांस्कृतिक धरोहरबारे जिज्ञासा राख्न सक्छन् । निर्माण तथा संसक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सक्छन् । केही दिनअघि मात्र रामको जन्मभूमि अयोध्या नेपालमै रहेको दोहो¥याउँदै माडी नगरपालिकाका जनप्रतिनिधिलाई बालुवाटारमै बोलाएर रामनवमीमा बृहत् धार्मिक मेला गर्न र अर्को वर्षको रामनवमीमा राम, लक्ष्मण र सीताको विशाल मूर्ति स्थापना गर्न निर्देशन दिएका छन् ।

राममाथिको आशक्ति आध्यात्मिक नभई राजनीतिक हो भन्ने तथ्य उनको पटक–पटकको अभिव्यक्ति र निर्देशनबाटै बुझ्न सकिन्छ । प्रधानमन्त्रीले माडी नगरपालिकाको वडा नं. ८ र ९ मा पर्ने अयोध्यापुरी नै राम जन्मभूमि हो भन्ने ठोस प्रमाण जुटाउन र योजना बनाएर काम अघि बढाउन निर्देशन दिए पनि भारतको उत्तर प्रदेशमा रहेको अयोध्या नै रामको जन्मभूमि हो भन्ने आमजनविश्वास सजिलै तोड्न उनीसँग थप चिन्तन र कार्ययोजना के–के छन् ?

राम जन्मभूमिको विषय उठाएर केपी ओली नेपाल हुँदै भारत र श्रीलंकासम्म चर्चामा छन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमा मोदीसँगको राजनीतिक तिक्ततासमेत जोडिएकाले अयोध्यापुरी अनुसन्धानमा राजनीतिक अभीष्ट हाबी नहोस् भन्नेतर्फ पुरातत्व विभाग सचेत रहनुपर्ने देखिन्छ । यो संकटको घडीमा वर्तमान नेतृत्व रामको जन्मभूमिका विषयमा मात्र नअल्झिएर कोरोना महामारीले आक्रान्त नागरिकका लागि राहतको व्यवस्था तथा औषधोपचार प्रणालीलाई चुस्त बनाई आफ्नो हातमा नेतृत्व आएका बेला देशलाई रामराज्य बनाउने रणनीतिमा हेलिनुपर्छ ।

भगवान् श्रीरामको आदर्श व्यवहार र रामराज्य शासनको अनुशरण गर्नतिर प्रधानमन्त्रीको ध्यान खिचिनुपर्छ । त्रेता र द्वापरयुगका धार्मिक, सांस्कृतिक पात्रको जन्मभूमि र जीवनयात्राका शास्त्र रट्ने मात्र नभई तिनका उच्च चिन्तन र आदर्श जीवन दर्शनबाट पाठ सिकेर समृद्ध राष्ट्रनिर्माणमा जुट्नुपर्छ । दुई तिहाइ मतको बलमा देशको नेतृत्व सम्हाल्ने अवसर पाएका ओलीले रामको आदर्श व्यवहार र नेतृत्व क्षमताबाट पाठ सिकेर देशलाई रामराज्य बनाउने अवसरको भरपुर उपयोग गर्नै पर्छ ।

केही वर्षअघि मात्र जनकपुर–अयोध्या बस चलाउने भन्दै एउटै पोशाकमा उभिएर भारतीय प्रधानमन्त्री मोदीसँग सहमति जनाएका केपी ओलीले हाल आएर राम जन्मभूमिबारे मोदीलाई चिढ्याउने गरी दिइरहेका अभिव्यक्तिले राममाथिको उनको राजनीतिक आशक्ति प्रस्ट भएको छ । यता दुई तिहाइ जनमत बोकेर एकलौटी सत्ता सम्हालेको तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी ओलीले एउटा उद्योगधन्दा खोल्ने योजनासम्म अघि सारेका छैनन् । विदेशबाट नेपाल भित्रिएका लाखौँ युवाका लागि थप दीर्घकालीन रोजगारीको खाका उनीसँग छँदै छैन ।

विकास बजेट काट्दै तीन तहका सरकार र अनगिन्ती जनप्रतिनिधिका सेवा–सुविधाका नाउँमा खर्च हुने अर्बौं रकम घटाएर उत्पादनमूलक उद्योग र रोजगारीका क्षेत्रमा लगाउने चिन्तन र रणनीति उनमा कत्ति पनि देखिँदैन ।

आफ्नो शासनकालको चुलिँदो भ्रष्टाचार, घुसखोरी र आर्थिक अनियमितता कत्ति पनि रोक्न सकेका छैनन् । नेपाललाई धर्मनिरपेक्ष बनाउने केपी ओली नास्तिक हुन् । संस्कृत शिक्षा मास्ने र संस्कृत पुस्तक च्यात्ने कम्युनिस्ट सिद्धान्त बोकेका केपी ओलीको राम जन्मभूमिसम्बन्धी अभिव्यक्तिलाई जीवनको उत्तराद्र्धमा आएर आफू कम्युनिस्ट भएकोमा पश्चात्तापको क्रन्दनका रुपमा अथ्र्याउनेहरु पनि छन् ।

रामको जन्मभूमिसम्बन्धी अयोध्या अभिव्यक्ति ‘यात्री’ कविताका रचनाकार महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम घडीमा आर्यघाटमा छट्पटाउँदै गर्दा व्यक्त गरेका वाक्य ‘न ज्ञान भो भक्ति न भो विवेक, आखिर रहेछन् श्रीकृष्ण एक’ भनेझैँ जीवनको उत्तराद्र्धमा हिँड्दै गर्दा ईश्वरीय तत्वबोध प्रधानमन्त्री केपी ओलीमा पनि भएको हो कि !

प्रतिक्रिया दिनुहोस्