कोहली एसियाकै सर्वाधिक फलोओर्स भएका सेलिब्रेटी



नयाँदिल्ली, (एजेन्सी)
भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहली हाल सामाजिक सञ्जाल इन्स्टाग्राममा एसियाकै सर्वाधिक फलोओर्स भएका सेलिब्रेटी बनेका छन्।

कोरोना भाइरस महामारीका कारण भारतमा हाल क्रिकेट गतिविधि शान्त रहे पनि विराट कोहलीका समर्थकहरूको संख्या भने बढ्ने क्रम जारी छ। कोहली हाल सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलोओर्स भएका भारतीय सेलिब्रेटी बनेका हुन्।

इन्स्टाग्राममा उनको फलोओर्स ७ करोड ५८ लाख पुगिसकेका छन्। उनी एसियामै सबैभन्दा बढी फलोओर्स भएका व्यक्ति बनेको बताइएको छ। यसक्रममा कोहलीले बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा र दीपिका पादुकोनलाई समेत पछि पारेका छन्। प्रियंकाको ५ करोड ६० लाख र दीपिकाको ५ करोड २० लाख फलोओर्स छन्।

मार्चयता मैदानमा नउत्रिएका कोहलीको पछिल्लो १५ दिनमै ३२ लाख फलोओर्स बढेका हुन्। केही दिनअघि मात्रै सामाजिक सञ्जालमा कोहलीले अमेरिकन बास्केटबल स्टार तथा लस एन्जल्स लेकर्सका लेब्रोन जेम्सलाई पछि पारेका थिए। जेम्सको ७ करोड ९ लाख फलोओर्स रहेका छन्। कोहलीको फेसबुकमा ३ करोड ६९ लाख तथा ट्वीटरमा ३ करोड ७३ लाख फ्लोअर्स छन् ।

प्रतिक्रिया दिनुहोस्