नेपाली महिला क्रिकेटरको बीमा



काठमाडौं, (नेस)
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बीमा गरेको छ।
गत शनिबार पुरुष टोलीका २१ खेलाडीसहित कुल ५१ जनाको कोरोना बीमा गरेको मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै १८ जना महिला क्रिकेटरको कोरोना बीमा पनि गरेको क्यानले बताएको छ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले गत मंसिरमा नेपालमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) टी–२० क्रिकेट टोलीमा रहेका महिला टोलीको कोरोना बीमा भएको जानकारी गराएका छन्। यसअघि क्यानले महिला टोलीको कोरोना बीमा आवश्यकता अनुकूल गर्न सकिने जनाएको थियो।
कोरोना महामारीका कारण यो वर्ष महिला र पुरुष टोली दुवैको अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना न्यून छ। अन्तर्राष्ट्रिय तालिकाअनुसार पुरुष टोलीको आगामी डिसेम्बरमा बंगलादेशमा एसिया टिम्स एसिया कप हुनेछ। कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुने निश्चित भने छैन। गतवर्ष मंसिरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो। उक्त सागमा माल्दिभ्सलाई हराउँदै महिला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो।

क्यानको साधारणसभा स्थगित
कोरोना भाइरसको बढ्दो संक्रमण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ।
क्यानका सचिव अशोकनाथ प्याकुरेले मंंगलबार प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा स्थगित भएको जानकारी गराएका हुन्। यसै महिनाका लागि साधारणसभा गर्ने तयारीमा रहेको क्यानले कोरोना महामारीका कारण अर्को सूचना नभएसम्मका लागि साधारणसभा स्थगित गरेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
गतवर्ष असोज दोस्रो साता चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको नयाँ कार्यसमिति चयन भएको थियो। त्यसपछि पहिलो साधारणसभा गर्ने तयारीमा रहे पनि अहिलेको कोरोना महामारीका कारण उब्जेको विभिन्न परिस्थितिजन्य अवस्थाले गर्दा पनि सम्भव नभएको हो। कोरोना महामारीकै कारण यो वर्ष नेपाली राष्ट्रिय पुरुष र महिला टोली दुवैको अन्तर्राष्ट्रिय खेल हुने सम्भावना पनि कम हुँदै गएको छ।
क्यानको नयाँ कार्यसमिति गठन भएको ११ महिना बितिसक्दा पनि आशा र अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बाहिरिन थालेको छ। क्यान आन्तरिक कुरामै अल्मलिएको भन्दै आलोचित हुँदै आएको छ। निर्वाचनपछि क्यानले पूर्णरूपमा काम गर्न पाउने वातावरण अझै बनाउन सकेको छैन। जसले गर्दा क्यानले कतिपय महŒवपूर्ण निर्णय लिन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्