‘विश्व रक्तदाता’ विमोचित



कटमाडौं, (नेस)
बहुभाषिकरूपमा समेटिएको पुस्तक ‘विश्व रक्तदाता’ विमोचन भएको छ । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का संस्थापक सदस्य एवं स्वयंसेवी रक्तदाता तथा रक्तदान अभियानका उत्प्रेरक अर्जुनप्रसाद मैनालीले विश्वव्यापीरूपमा रगत दान गर्न र गराउन गरेको प्रयास साथै अन्य विषयवस्तु समेट्दै ‘द गिफ्ट अफ लाइफ’ नामक आत्मकथाको प्रथम, दोस्रो संस्करणपश्चात् हाल अंग्रेजीसहित नेपालका अन्य १० भाषामा लिखित पुस्तक विश्वमा महामारीका रूपमा फैलिरहेको कोभिड–१९ लाई ध्यानमा राखेर विज्ञप्तिमार्फत विमोचन गरिएको थियो ।

यस संस्करणले नेपालका विभिन्न भाषा बोल्ने समुदायहरुलगायत अंग्रेजी भाषा बोल्ने विश्वका विभिन्न देशका जनतामाझ स्वयंसेवी रक्तदाता अझ बढी उत्प्रेरित गर्न मद्दत पुगी नेपाललगायत विश्वको स्वयंसेवी रक्तदान अभियानको अभिवृद्धिमा विशेष टेवा मिल्नेछ भन्ने ब्लोदानले विश्वास लिएको विज्ञप्तिमा जनाइएको छ ।

ज्ञानु अधिकारीद्वारा संकलन गरिएका नेपाली भाषालाई मैथिलीमा सुजितकुमार झा, थारूमा सोमप्रसाद चौधरी, तामाङमा अमृत योञ्जन तामाङ, रञ्जना लिपि र नेपाल लिपिमा पवित्र कसाः, नेपाल भाषामा मचाकाजी महर्जन, मगर भाषामा हिरामती राना र विष्णुकुमारी सिङ्जाली, लिम्बु लिपिमा भूपेन्द्र लिम्बु, गुरुङ भाषामा डा. रसकुमारी गुरुङ र टेक गुरुङ, शेर्पा लिपि तथा भाषामा सोनाम याङ्जी शेर्पा संस्कृत भाषामा डा. नवराज कट्टेल तथा अंग्रेजी भाषा प्रकाश सिंह र श्याम थापाले अनुवाद गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्