पाटन-पञ्चेश्वर सडकखण्ड २ दिनदेखि अवरुद्ध



विनोद सिंह विष्ट, बैतडी।

बैतडीको पाटन– पञ्चेश्वर सडकखण्ड २ दिनदेखि अवरुद्ध रहेको छ ।

लगातारको बर्षाले मंगलबार रातीदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । उक्त सडकखण्ड अन्र्तगत पाटन नगरपालिका ६ स्थित गोइडाखोलामा आएको बाढीले सडक नै बगाएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।

बाढीले सडक नै बगाएपछि अवरुद्ध रहेको उक्त सडकखण्ड तत्काल सुचारु हुने सम्भावना नरहेको बताईएको छ । सडक बगाएको ठाउँमा ह्युम पाइप हालेर मर्मत गरेपछि मात्रै सञ्चालनको सम्भावना रहेको प्रहरीले जनाएको छ । ह्युम पाइप तथा सडक पुनः सञ्चालनको लागि पाटन नगरपालिका र सडक डिभिजन कार्यालयले पहल थालेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

गोइडाखोलामा पुल निर्माण सुरु गरेको लामो समय हुदा पनि सम्पन्न नभएपछि उक्त ठाँउमा वर्षेनी सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा पाटन भित्रिने र पाटनबाट मेलौली पञ्चेश्वर जाने सवारी ठप्प रहेका महाकाली बहुउद्देशिय यातायात प्रालिका पाटन बुकिङ इञ्चार्ज दिनेश विष्टले बताउनुभयो । जिल्लाको तल्लोस्वराड क्षेत्र जोड्ने मुख्य सडक नै २ दिनदेखि अवरुद्ध भएपछि उक्त क्षेत्रका नागरिकलाई आवतजावत गर्न समस्या भएको नारायणराम सार्कीले बताउनुभयो । सवारी साधन तथा यात्रुहरु पनि पाटन र सलेनामा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्