देउकी प्रथा : एक सामाजिक कुरीति



देउकी प्रथा नेपालमा प्रचलित सामाजिक कुप्रथाहरूमध्येको एक प्रथा हो । नेपालको सूदुरपश्चिमाञ्चलको सेती र महाकाली अञ्चलमा मन्दिरहरूमा देवी–देवताको सेवा गर्न कन्याकेटी चढाउने प्रचलन छ । यसरी चढाइएकी कन्या देउकी हुन् भने चढाउने प्रचलन प्रथा हो । महारोग लागेमा, छोरा नभएमा, मुद्दा जित्नुपरेमा वा आफ्नो मनोकांक्षा पूरा गर्नुपरेमा, कुनै भाकल पूरा गर्नुपरेमा आफ्नै छोरी वा गरिब परिवारकी अबोध बालिका किनेर देवी–देवताको मन्दिरमा चढाउने गरिन्छ ।
यसरी चढाइएका कन्याहरूको विवाह गर्न नहुने तर शारीरिक सम्पर्क गर्न हुने अन्धविश्वास रहेको पाइन्छ । बैतडी जिल्लाको मेलौली देवीको मन्दिर यो प्रथाको केन्द्रविन्दु हो । मन्दिरमा चढाएको सामग्रीहरूबाट मात्र जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ ।
डोटीमा जुम्लाको रैका मल्ल राजा वंशज नागीमल्लले कत्युरी नरेश (राजा)को राज्य विजय गरेपछि चलाएको ‘देउकी’ प्रथा र इतिहासकारका भनाइअनुसार प्रा.डा. सूर्यमणि अधिकारी बाइसे राज्यको इतिहास (वि.सं. २०६०) पेज २७८ देखि २७९ का अनुसार डोटी राज्यमा राजा नागमल्लका पालादेखि देवदासी चढाउन थालिएको बताइन्छ ।
स्थानीय विश्वासअनुसार भागेश्वर देवता र राजा नागीमल्लबीच ठूलो विवाद खडा भयो । नागीमल्लले भागेश्वरलाई तुरुन्त पानी बर्साउने चुनौती दिए । घडीभरमा चारैतिर बादल उठी घनघोर वर्षा भयो । नागीमल्लको कोट काम्न लाग्यो, उनका रानीहरू मूच्र्छा परे, नागीमल्लले पराजय स्वीकार गरी निम्नानुसार भाकल गरे ।
जुम्लाको रैका मल्ल राजा वंशज नागीमल्लले भागेश्वरलाई चढाएकी केटी नै डोटी राज्यकी प्रथम देवदासी अर्थात् देवकी थिइन् भनिन्छ । उनले रावल थरका दुई कन्या किनेर भागेश्वर देवतालाई चढाएको बताइन्छ । डोटेली समाजमा अद्यापि नेगी, नायक, भुल, खत्रीजस्ता थरका कन्या कामना सिद्धिका लागि संकल्प गरी देवकी बनाई मन्दिरमा अर्पण गर्ने चलन छ । देवकीले आफूलाई चढाएका देवदेवीको मन्दिर लिपपोत र सरसफाइ गरी आजन्म अविवाहित रहनुपर्दछ ।
पुरानो डोटी राज्यमा जुम्लाको रैका मल्ल राजा वंशज राजा नागीमल्लका राज्यकालदेखि देवकी, द्यौकी, देवदासी, देउकीको चलन चलेको अद्यापि कायम छ । डोटेली सामाजमा नेगी, नायक, भुल, पुजारा, खत्रीजस्ता थर भएका मानिसहरू पनि बस्छन् । उनीहरूका गोत्र एक–आपसमा फरक हुन्छन् तापनि उनीहरूले भाकल गरी छोरी देवी देवतालाई चढाउँछन् । त्यति मात्र होइन, अन्य व्यक्तिले पनि उनीहरूका कन्या किनेर देवी–देवतालाई चढाउँछन् ।
द्यौकी पनि दुई प्रकारका हुन्छन्– चढाएकी द्यौकी र ती द्यौकीबाट जन्मेकी बाबुको निर्णय नभएकी खेलुवा द्यौकी, तर ती खेलुवा द्यौकीको विवाह गर्न हुन्छ । खेलुवा द्यौकी बनाउन सकिन्छ । तर खेलुवा द्यौकीबाट जन्मिने केटो ‘द्यौको(देउको) हुन्छ । त्यस्ता द्यौकाहरूले आफ्नी आमालाई चढाउनेका घरमा कामधाम गरिदिनुपर्दछ । त्यसरी काम गरिदिएबापत ‘खलो’ भनेर एक सुप्पो अन्न दिने चलन छ । विवाह र व्रतबन्ध पर्वमा निजलाई बकसस्वरुप ‘थितो’ भनेर दिने चलन छ । ती देउका तथा द्यौकाहरूलाई कहीँ नायक, कहीँ नेगी, भूल, खत्री र देउचेलो भन्ने चलन छ ।
देवकी प्रथा दक्षिण भारतको तमिलनाडुमा पनि छ । त्यहाँ कन्याकेटीलाई मन्दिरको हेरविचार गर्न लगाउने चलन पहिलेबाटै छ । उनीहरूले पनि परपुरुषसँग संसर्ग गर्दछन् । त्यसो गरेबापत उनीहरूले रकम वा कुनै वस्तु माग्दैनन् । मानौं, त्यो उनीहरूको आतिथ्य हो । उनीहरूबाट जन्मेको सन्तानलाई उच्च जातमा लिने परम्परा छैन । ती नारीहरूले विवाह गर्दैनन् र उनीहरूलाई देवदासी भनिन्छ ।
देवदासीहरूले त्यहाँ राम्रा–राम्रा गीत गाउँछन् र नाच्छन् । उनीहरूको मुख्य काम मन्दिरको सुरक्षा, झारुबडारु तथा लिपपोत गर्नु हो । त्यस्तालाई मानिसहरू देवताका दासी मान्दछन् । हाल भारतमा देवदासीको परम्परा कानुनले उन्मूलन भए पनि कर्णाटक राज्यको बेलगाउँ भन्ने ठाउँमा एकै वर्षमा हजारौं केटीहरू धलम्मादेवीलाई चढाउने चलन अद्यापि छ । लतामङ्गेसकर, उषामङ्गेसकरजस्ता गायिकाहरूका थर बन्नुको कारण देवदासीका सन्तान भनेर नै हो ।
नेपालमा बुद्धधर्मावलम्बीहरूमा आफ्ना माहिलो छोरालाई लामा (ढावा) र माहिली छोरीलाई झुमा (झोवा) राखी गोम्पो (गुम्बा) हरूमा पठाउने र विवाह नगराइराख्ने चलन अद्यापि छ । काठमाडौंको शाक्यकी छोरीलाई कुमारी बनाएर सिँगारपटार गरिन्छ । ती कुमारीले विवाह गर्न हुँदैन भन्ने परम्परा छ । तर ती कुमारीलाई लुकाएर विवाह गर्ने गरिन्छ । कुमारीको विवाह खुलस्तरुपमा गर्ने चलन छैन । माथिका उदाहरणबाट के बुझिन्छ भने, बुद्धधर्म मान्नेहरूमा गुम्बा वा देवीका नाममा कन्यालाई प्रयोग गरी समर्पण गरिने चलन रहेछ ।
अब अर्को प्रश्न उठ्छ कि पश्चिम नेपालको डोटी र कुमाउँमा देवदासी प्रथा कसरी शुरु भयो भने, पश्चिम नेपालको पूर्वमध्यकालीन इतिहासको अध्ययनबाट त्यहाँ खस मल्ल राजाहरूले शासन गरेको प्रमाणित हुन्छ । उनीहरू बुद्धधर्मावलम्बी थिए र पछि हिन्दू धर्मलाई अंगीकार गरे । उनीहरूमा पनि देवदासी प्रथा हुनुपर्ने भन्ने अनुमान हुन्छ, तर त्यस विषयका प्रमाणहरू पाइएका छैनन् ।
देवकीहरु माडौमा चढाउने खास समय देजाँत, चैतको नवरात्र, आश्विन नवरात्र आदिको अवसर पारेर गाउँका मुखियाले ठूलाठालु भेला गरी, माडौमा पूजारीसमक्ष साक्षी राखी, जात्रा–उत्सव गरी विधिवत् देवकी बनाइन्थ्यो । आजकाल कानुनी बन्देज हुनाले घरभित्र सामान तयार गरेर सम्बन्धित माडौको प्रसाद ल्याई देवकी बनाउने चलन अद्यपि छँदै छ । देवकी बनाउनलाई छोरी बेच्ने पेसामा नायक, विष्ठ, नेगी, पुजारा र देउका थर भएका मानिसहरु सम्मिलित छन् ।
वि.सं. २०५० सम्मको तथ्यांक खोजी गर्दा डोटी क्षेत्रमा दार्चुला शिखरपुर गाविसको मालिकार्जुन माडौ, वैतडी तल्लो सोराडस्थित मेलौली देवीको माडौ, बैतडीको बासुलिंग माडौ, बैतडीको त्रिपुरासुन्दरी मन्दिर, बैतडीपाटन ठाकुर उदयदेवको माडौ, डडेल्धुरा पीपलकोटको अर्धनारीश्वरी माडौ, डोटी सिलगडीकी शैलेश्वरी (शीलादेवी) गरी जम्मा १० वटा माडौमा २५०० देवकी थिए ।
– लालबहादुर कार्की, जुम्ला ।

 

प्रतिक्रिया दिनुहोस्