सन्दर्भः कुशेऔंसी

विज्ञानको कसीमा कुशको मुठो



  • रोहिणी घिमिरे

पानीमा कुश डुबाउँदा सो पानीमा अक्सिजनको मात्रा बढ्ने एक अनुसन्धानले पुष्टि गरेको छ । भारतको दापोली अर्बन बैंक सिनियर साइन्स कलेजको बोटानी विभागका सहप्राध्यापक सचिन सखाल्कर र सोही कलेजकी एमएस्सीमा अध्ययनरत नैना काम्बलेद्वारा कुशको बायोलोजिकल अध्ययन गरी शोधपत्र तयार गर्ने क्रममा यो अनुसन्धान गरिएको थियो । सन् २०१४ मा प्रकाशित एक रिसर्च जर्नलमा उल्लेख भएअनुसार, ल्याब परीक्षणका क्रममा उनीहरुले कुश नराखेको पानीको टाइट्रेसन गर्दाको ब्युरेट रिडिङ टिपोट गरे ।

त्यसपछि १० दिनसम्म कुश राखेर सो पानीको पनि ब्युरेट रिडिङ टिपे । यही ब्युरेट रिडिङलाई विज्ञानको फर्मुला प्रयोग गरेर घुलेको अक्सिजनको मात्रा निश्चित गरे । यस अनुसन्धानअनुसार कुश नहालेको पानीमा अक्सिजनको मात्रा २.६८ ग्राम प्रतिलिटर र कुश हालेपछिको पानीमा अक्सिजनको मात्रा १९.०४ ग्राम प्रतिलिटर देखियो । यसबाट पुष्टि हुन्छ कि कुश राखेको पानीमा बढी अक्सिजन घुल्दो रहेछ । कुश नहाल्दाभन्दा कुश हाल्दा झन्डै ७ सय प्रतिशतले अक्सिजन बढेको देखियो । यसैले हिन्दू परम्परामा पनि पानीसँगै कुशको प्रयोग गरिएको बुझिन्छ ।

कुश पानीमा डुबाउँदा सो पानीमा अक्सिजनको मात्रा बढ्ने कुरा प्रमाणित भएपछि ती अनुसन्धानकर्ता सहप्राध्यापक सचिन र नैनाले अर्को प्रयोग गरे । कुशमा सुचालन क्षमता कत्तिको हुन्छ भन्ने पत्ता लगाउन उनीहरुले कन्डक्टिभिटी टेस्ट भनेर दोस्रो प्रयोग गरेका थिए । उनीहरुले १ ग्राम कुशका टुक्रा पिसेर पानीमा घोले । त्यसपछि १ मिलिलिटर सो घोल ९ मिलिलिटर डिस्टिल्ड वाटर भएको अर्को टेस्ट ट्युबमा हाले ।

यसै गरी सिरियल डिलुसनको तरिकाबाट अरु ४ वटा टेस्ट ट्युबमा पनि सो घोल हाले । अब कन्डक्टोमिटरको सहायताले सबै टेस्ट ट्युबमा भएको घोलको सुचालन क्षमताको मापन गरियो । यस प्रयोगबाट कुश राखेको पानीमा बढी नै सुचालन क्षमता पाइएको थियो । सो कुश राखेको पानीमा फ्री आयोन्सहरु हुँदारहेछन् ।

कुशमा सुचालन क्षमता भएकै कारण मानवस्वास्थ्यका लागि लाभदायक मानिन्छ । त्यसैले पञ्चगव्य (गहुँत) मा पनि कुशको प्रयोग गरिएको हुन सक्छ । सुचालन क्षमता भएकै कारण कुशले शरीर शुद्धीकरण गर्ने कुरा यस अनुसन्धानले देखाएको छ ।

ती शोधकर्ताहरुले कुशमा एन्टिअक्सिडेन्ट प्रोपर्टीको पनि प्रयोग गरेका थिए । कुशको मात्रा बढाएको खण्डमा एन्टिअक्सिडेन्ट प्रोपर्टी पनि बढ्दै गएको पाइयो । एन्टिअक्सिडेन्ट प्रोपर्टी कुशको मात्रा र इन्कुबेसन अवधिमा निर्भर हुन्छ । कुशको मात्रा र अवधि बढ्दा एन्टिअक्सिडेन्ट प्रोपर्टी पनि बढ्ने अनुसन्धानबाट पुष्टि भएको थियो । यसले पनि मानवस्वास्थ्यका लागि कुश धेरै महत्वपूर्ण साबित भएको छ ।

त्यस्तै कुशले हानिकारक विकिरण शोषण गर्न सक्ने भारतकै डा. सदाशिव रावले गरेको प्रयोगले पुष्टि गरेको छ । डा. रावले एक मुठा कुशले आफ्नो हात बेरेर सहयोगीलाई एक्सरे गराउन लगाए । एक्सरेबाट आउने ६० प्रतिशत विकिरण कुशले पो शोषण गरेर लिएछ । अनि डा. रावलाई कुशमा हानिकारक विकिरण शोषण गर्न सक्ने क्षमता धेरै रहेछ भन्ने कुरा विश्वास भयो ।

ग्रहण लागेको समयमा पानीमा कुश डुबाउने र अन्य खाद्यपदार्थलाई पनि कुशले ढाक्ने गर्नुको वास्तविक कारण पनि हानिकारक अल्ट्रा भायोलेट विकिरणबाट पानी एवम् खानेकुरा दूषित नहोस् भन्ने नै हो । ग्रहणको समयमा आउने हानिकारक विकिरण पानीमा घोलिन नदिई कुशले शोषण गरेर लिने भएकाले नै पानीमा कुश डुबाइएको हुन सक्छ । तर यसरी पानी शुद्धीकरण गर्ने प्रक्रियालाई परम्परागत संस्कृतिका रुपमा मात्र लिन थालिएकाले कुशको महत्व कम हुँदै गएको महसुस गर्न थालिएको छ ।

कुशमा केही चुम्बकीय शक्ति पनि हुन्छ । त्यसैले यसबाट बनाइएको पवित्र (औंठी) हातमा लगाउनाले हाम्रो स्वास्थ्यमा चुम्बकीय उपचारसमेत हुने बताइन्छ । कुनै पनि धार्मिक वा पैतृक कार्यमा हातको औंलामा प्रायः सबैले पवित्र (कुशको औंठी) धारण गर्नुको पछाडि पनि यही रहस्य हुनुपर्छ । औंलामा पर्ने कुशको चुम्बकीय प्रभावले रक्तसञ्चारलाई सहजीकरण बनाइदिन्छ र मानसिक तरंगहरुमा पनि सकारात्मक प्रभाव पारी शरीर स्वच्छ बनाइदिन्छ ।

यसै गरी धार्मिक कार्य गर्दा कुशको आसन (कुशासन)मा बस्नुपर्ने नियम पुरानै हो । सुकेको कुशको आसनमा बस्दा मानव ऊर्जा जमिनतिर जानबाट रोकिन्छ । त्यसैले कुशको आसनमा बस्दा मस्तिष्क क्षमता पनि बढ्ने बताइन्छ । साथै कुशासनमा बस्नाले मानसिक एकाग्रता बढ्छ र गर्न लागेको कार्यमा ध्यान एकत्रित हुन मद्दत पुग्छ । मानवशरीरमा कुशको स्पर्श हुँदा बुद्धि तीक्ष्ण हुन्छ भन्ने विश्वास पनि गरिन्छ । कुशले शीतलता प्रदान गर्ने हुँदा शारीरिक एवम् मानसिक स्वस्थतामा समेत वृद्धि हुन्छ । भनिन्छ, बुद्ध पनि कुशबाट बनेको आसनमा बसेर नै बुद्धत्व प्राप्त गरेका थिए रे !

ढोकामाथि कुश सिउरिने चलन धेरै पुरानो हो । ढोकामाथि सिउरेको कुशले ढोकाबाट प्रवेश गर्ने हानिकारक विकिरण (युभी रे) ढोकैमा शोषण गर्ने हुनाले घरभित्रको वातावरण स्वच्छ हुन्छ । कुशले शीतलता प्रदान गर्ने हुनाले त्यस घरभित्र शीतलताको अनुभूति हुन सक्छ ।

आजकल होटल, रेस्टुरेन्ट वा अन्य स्वागत कक्षमा तामाको भाँडोमा पानी राखी त्यस पानीमा विविध किसिमका फूल छरेर सजाइएको पाइन्छ । यसले शीतलता प्रदान गरी स्वागत कक्षको वातावरण स्वच्छ बनाउँछ । वास्तवमा भन्ने हो भने कुशसहितको पानी यस्ता भाँडामा राख्नुपर्ने हो । यसमा टुप्पोसहितको कुश डुबाएर राखेमा झनै प्रभावशाली हुन्छ ।

भिजेको कुशमा फोनेटिक भाइब्रेसन सुचालन क्षमता अधिक हुने भएकाले त्यहाँको वातावरण झनै स्वच्छ हुन्छ । सुकेको कुशभन्दा भिजेको कुशको विकिरण सोस्ने क्षमता पनि बढी हुन्छ । त्यसैले धार्मिक कार्यहरुमा कुशको प्रयोग प्रायः पानीसँगै हुने गरेको पाइन्छ ।

त्यस्तै कुशको टुप्पोमा फोनेटिक भाइब्रेसन सुचालन (कन्डक्टिङ) क्षमता उच्च हुन्छ । संस्कृत शब्दहरु फोनेटिक साउन्डमा आधारित हुन्छन् । त्यसैले स्पष्ट उच्चारणसहित तोकिएका संस्कृत मन्त्रहरु पढ्दै अभिमन्त्रित कलशको पानीमा कुशको टुप्पो चोबेर सेचन गर्ने गरिएको हो । कुशको टुप्पोमा फोनेटिक भाइब्रेसन सुचालन गर्ने क्षमता हुने भएकाले यसरी सिञ्चन गरिएको पानीले मानवलाई स्वच्छ, स्वस्थ एवम् पवित्र बनाउँछ ।

साथै शरीरमा सकारात्मक तरंग प्रवाह गराउँछ । यस्तो जल छर्किएको स्थान स्वच्छ हुन्छ । तर कुशको टुप्पो छैन भने सुचालन क्षमता कम हुन्छ । यसरी कुशलाई संस्कृत फोनेटिक ध्वनि अर्थात् साउन्डसहित प्रयोग गरेमा कुशको क्षमता अझ वृद्धि हुने भारतको मुक्कुरका स्व. श्री रामभट्टाचार्यले पनि बताएका थिए ।

शब्द, बोली तथा स्वरमा ध्वनि प्रतिविम्बित हुन्छ । उक्त ध्वनिको निश्चित फ्रिक्वेन्सी÷कम्पन हुन्छ । यसको उच्चतम उपयोग गर्न सकेमा शक्ति पैदा हुन्छ भन्ने कुरा पहिलेदेखि नै मानी आएको हो । पहिलेका ऋषिमुनिहरूले मन्त्रले आगो पार्ने, ठोस वस्तु पगाल्ने, घाउ–खटिरा सन्चो पार्ने गर्थे भन्ने गरिन्छ, त्यो पनि त्यही ध्वनि आवृत्ति शक्तिको उदाहरण भएको कुरा वीर अस्पतालका मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालको भनाइ छ ।

उनका अनुसार अहिलेसम्म पनि मन्त्र पढेर रोग निको पार्ने प्रयास गरेको पाइन्छ । तर मन्त्र उच्चारण नमिलेर वा आवृत्ति फरक परेर वा शक्ति निकाल्न नसकेर त्यो प्रभावहीन बन्दै गएको पनि भनिन्छ । स्वस्थ र बिरामी व्यक्तिमा फरक–फरक फ्रिक्वेन्सी÷कम्पन देखा पर्ने कुरा वैज्ञानिक डा. जेन्नीले व्याख्या गरेका छन् । त्यस्तो व्याख्याको आधारमा नै ध्वनि चिकित्सा, ध्वनि उपचार, जैविक उपचारको उपयोग गरिएको डा. खनालको भनाइ छ ।

डा. खनालले साधना हेल्थ पत्रिकामा भनेका छन्– ‘फ्याबेन मामान तथा मासारु इमोटो नामका व्यक्तिले क्यान्सर रोगको कोषिकामा संगीतले पार्ने प्रभावको व्याख्या गरेका छन् । इमोटोले त जमेर क्रिस्टल बनेको पानीका आकृतिहरुमा मानवध्वनिको प्रभाव परेको विभिन्न स्वरूपको तस्वीर नै खिचेर देखाइदिएका थिए ।’ इमोटोको यो प्रयोग युटुबमा पनि हेर्न सकिन्छ ।

यसरी शब्द, स्वर वा भाषाले भौतिक वस्तुमा त असर गर्छ भने मान्छेको भौतिक, मानसिक तथा भावनात्मक स्वास्थ्यमा झनै असर पु¥याउने डा. खनालको तर्क छ । त्यसैले फोनेटिक साउन्डमा आधारित संस्कृतका लयात्मकमन्त्रहरु पढ्दै टुप्पोसहितको कुशले शेचन गरिएको पानीले मान्छेमा धेरै सकारात्मक प्रभाव पार्ने कुरा इमोटोले बरफमा गरेको प्रयोगले समेत पुष्टि गर्दछ ।

कुश जति पुरानो हुँदै जान्छ, यसको महत्व पनि घट्दै जान्छ । त्यसैले हरेक वर्षको कुशेऔंसीमा नयाँ कुश ग्रहण गर्नुपरेको हो । कुश काटेको ६ महिनासम्म यसको क्षमता रहिरहन्छ, त्यसपछि बिस्तारै यसको क्षमता ह्रास हुँदै जाने र अन्त्यमा एक वर्षपछि यो निष्क्रियजस्तै हुन्छ । फेरि हामीकहाँ बजारमा बेच्न राखिएको कुशमा अत्यधिक मिसावट हुने गरेको छ । साथै यसको प्रयोग कर्मकाण्डीरुपमा मात्र हुँदा ढोकामाथि कुशको मुठा सिउरिने हाम्रो संस्कृति नै लोप हुने अवस्थामा पुगिसकेको छ । त्यसैले अब कुशलाई धर्म–संस्कृतिका रुपमा मात्र नभएर विज्ञानसँग जोडेर हेर्नुपर्ने बेला आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्