कांग्रेसमा नेतृत्व परिवर्तनको बहस



ज्ञानमणि नेपाल कालोटोपी
महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अबको नेतृत्व लिनका लागि नेताहरुले दौडधुप अघि बढाएका छन् । पार्टीले आगामी महाधिवेशन फागुन महिनामा गर्ने निर्णय गरेको छ । कांग्रेसको भावी नेतृत्वको लागि झन्डै आधा दर्जन नेताहरु अग्रसर भएका देखिन्छन् । वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापति पदमा लड्ने पक्षमा रहेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला पनि सभापति पदका आकांक्षी उम्मेदवार हुन् ।

यदि देउवा इतरबाट एकभन्दा बढी आकांक्षीहरु भएमा देउवाले पुनः सभापति पद जित्ने लगभग निश्चितजस्तै छ । तर देउवा इतरबाट पौडेल, कोइराला दाजुभाइ र प्रकाशनमान सिंहको बीचमा सहमति भएर एकजना मात्र उम्मेदवार भएमा देउवा कमजोर हुने देखिन्छन् । पौडेलले आफूलाई पार्टीमा शेरबहादुर देउवाभन्दा पनि सिनियर नेता बताउँदै आएका छन् । उनले अहिलेसम्म सभापति तथा प्रधानमन्त्री हुन नपाएको भन्दै आफू अन्तिमपटक सभापतिका लागि लड्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरिरहेका छन् । तर अर्का नेता शेखर कोइराला भने त्यसका लागि तयार छैनन् । उनले आफूले २ वर्षदेखि सभापति पदका लागि तयारी गरिरहेका कारण छोड्न नमिल्ने अडान लिइरहेका छन् ।

अर्का नेता शशांक कोइराला भने आफू बीपी–पुत्र भएको र महामन्त्रीमा समेत सबैभन्दा बढी मत ल्याएर जितेका कारण आफूलाई सभापतिको उपयुक्त उम्मेदवार ठानिरहेका छन् । शशांक र शेखरको बीचमा नै सहमति हुन सकेको छैन । सिटौला यसअगाडि नै देउवासँग सभापतिमा लडेर पराजित भइसकेका हुन् । सिंहले आफू उपसभापति भइसकेका कारण अब सभापतिमा लड्ने बताइरहेका छन् ।

देउवा क्याम्पबाट भने देउवाले नै अग्रसरता देखाएमा अन्य उम्मेदवार अगाडि आउने सम्भावना देखिंँदैन । आफू नेतृत्वमा हुँदा पार्टीले संसदीय निर्वाचनमा ठूलो हार खानुपरेको आरोप लागेकाले अब अन्तिम पटक सभापति भएर आफूले पार्टीलाई ठूलो अवस्थामा ल्याएपछि मात्र विश्राम लिने घोषणा देउवाले गरेका छन् । त्यस्तै अहिलेका उपसभापति विमलेन्द्र निधि पनि सभापति पदका लागि आकांक्षी देखिएका छन् ।पार्टीमा अबको सभापति को बन्ने बहस हुँदै गर्दा अबको युवानेताचाहिँ को हो भन्ने बहस पनि प्रारम्भ भएको छ ।

युवाहरुजसरी भए पनि पार्टीको पदाधिकारीमा निर्वाचित भएर आउने तयारीमा रहेका छन् । युवा नेता गगन थापा कम्तीमा यसपालि महामन्त्री पदमा निर्वाचन लड्ने पक्षमा रहेका छन् । त्यसैगरी अन्य युवा नेताहरु विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरेलगायतका नेताहरु पनि कम्तीमा पदाधिकारी पदमा निर्वाचन लड्ने पक्षमा छन् । युवाहरुलाई कुन स्थान दिने भन्नेमा दुवै समूहका उच्च नेताहरुको बीचमा कुनै पनि सहमति भएको छैन ।

हरेकजसो राजनीतिक दलमा यतिबेला युवा नेताहरुको सक्रियता बढेको पाइन्छ । कांग्रेसमा पनि युवा नेताहरुले नेतृत्व पाउनुपर्ने दबाब कार्यकर्ताहरुले दिइरहेका छन् । अब अग्रज पुस्ताले सल्लाहकारको भूमिकामा बसेर नेतृत्व युवापुस्तामा हस्तान्तरण गर्न सके समय परिवर्तनअनुसार पार्टी अघि बढ्न सक्ने कार्यकर्ताहरुको बुझाइ छ । यसो गर्न सके अन्य दलहरुको भन्दा फरक किसिमले सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । तर कांग्रेसको अग्रज पुस्ता यो सोचमा तत्काल पुगिसकेको छैन ।

यता युवा नेताले पनि यसमा कस्तो सोच बनाएका छन् भन्ने विषय खुलेर सार्वजनिक गरेका छैनन् । पछिल्लो समयमा कांग्रेसभित्र मौलाएको गुटगत राजनीतिले तल्लो स्तरका कार्यकर्ताहरुमा पनि निराशा देखाएको छ । अबको नेतृत्वले उनीहरुमा पनि आशा पलाउन सक्ने वातावरण बनाउनुपर्ने आवाजहरु आइरहेका छन् ।

यसअघि विगतमा कांग्रेसले पाएका नेतृत्व कति सफल भए वा असफल भए भन्ने समीक्षा गरेर पनि आगामी महाधिवेशनमा जानुपर्ने अधिकांशको सल्लाह–सुझाव छ । यसतर्फ पार्टीले कसरी सोचेको छ, त्यो त भोलिका दिनहरुले पक्कै देखाउनेछ । अब आउने नेतृत्वले पार्टीमा देखिएको गुटगत राजनीतिको सफल अवतरण गराउनुपर्ने चुनौती एकातिर छ भने कोभिड–१९ पछि देशमा बढेको बेरोजगारी अन्त्य र धराशायी भएको आर्थिक अवस्थालाई सुधार गर्न भूमिका खेल्नु पनि जरुरी छ ।

यतिमात्र होइन, पार्टीका भ्रातृ संगठनहरुमा पनि भाँडभैलो छ । नेविसंघ, नेपाल तरुण दललगायतका भ्रातृ संगठनहरुमा पनि जरैदेखि सुधार गर्नुपर्ने अवस्था छ । कांग्रेसको मूल नेतृत्व सक्षम भएन भने यी विषयहरु अन्योल हुने पक्का छ । सबैको अपेक्षा आगामी महाधिवेशनले यी सबै विषयलाई सम्बोधन गर्न सक्नुपर्ने नै हो । तर यही अवस्था रहिरहे पार्टीभित्र अहिले देखिएको समस्या समाधान हुनुको सट्टा थप बल्झिन पनि सक्छ ।

नेपाली कांग्रेसभित्र यति बेला नेतृत्व परिवर्तनको बहस चलेको छ । आसन्न १४ औं महाधिवेशनको तयारीमा शीर्ष नेतादेखि वडास्तरका कार्यकर्तासम्म सबैले चासो दिएका छन् र तयारी पनि गरिरहेका छन् । वडादेखि केन्द्रसम्म नै बलियो नेतृत्वको आवश्यकता देखिएको कांग्रेसमा भावी सभापति को होला भनेर चासो रहनु स्वाभाविक हो । वर्तमान सभापति शेरबहादुर देउवाले सही नेतृत्व गर्न नसकेको भन्दै ०७४ को निर्वाचनमा भएको पराजयपछि नै नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग उठेकै हो तर कांग्रेसको पराजय नेतृत्व कमजोर भएर नभई दुई ठूला कम्युनिस्ट पार्टीमा भएको एकताले भएको निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशनको मुद्दा सेलायो । उता सभापति देउवाले चुनावमा हारजित स्वाभाविक रहेको बताउँदै आफ्नो बचाउ गरिरहे ।

कांग्रेसमा गुट–उपगुटको राजनीति मौलाएको छ । यो आजको मात्र समस्या होइन । तत्कालीन सभापति स्व.गिरिजाप्रसाद कोइरालाकै समयमा पनि कोइराला पक्ष र देउवा पक्षका छुट्टाछुट्टै गुटहरु नभएका होइनन् । कोइरालाको निधनपछि पनि संस्थापन पक्ष र संस्थापनइतर पक्ष भन्दै गुटहरु बनाइए । यतिबेला पनि स्पष्टरुपमै देउवा पक्ष, पौडेल पक्ष र सिटौला पक्ष भनेर अलग–अलग गुटहरु बनेका छन् ।

शीर्ष नेताहरु खुलेरै पार्टी सभापति देउवाको नेतृत्व अक्षम भएको भन्दै आरोप–प्रत्यारोपमा उत्रिन थालेका छन् । साउन १४ गते कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवाकै कारण कांग्रेसको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाए । उनले आगामी महाधिवेशनमा अब नेतृत्व परिवर्तनको विकल्प नभएको पनि बताए । देउवाले नै विधानले तोकेको काम, कर्तव्य र अधिकारअनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको नेता सिंहको आरोप थियो । पार्टीको विधान र नियमावलीले निर्देशित गरेअनुरुप काम नगर्दा पार्टी अप्ठ्यारो अवस्थामा पुगेको उनको भनाइ थियो ।

उता पौडेल पक्षले पनि देउवाले गर्दै आएका कामप्रति असन्तुष्टि जनाउँदै खुलेरै विरोध गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । साउन १४ गते नै पार्टी कार्यालयमा भेला भएका पौडेल समूहका नेताहरुले विधान विपरीत विभाग गठनको काम नगर्न आग्रह गरेका हुन् । पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनका काम रोक्न पौडेल पक्षका नेताहरुले आग्रह गरे । वरिष्ठ नेता पौडेलले आफूले सभापति देउवालाई भेटेरै पछिल्ला काम र क्रियाकलापप्रति लिखितरुपमै असन्तुष्टि राखेको बताए ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि आचारसंहिता लागू भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरीत भएको बताएका छन् । आगामी महाधिवेशनमा आफू सभापतिको दाबेदार भएको बताउँदैै कोइरालाले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका थिए ।

यस्तै केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने भए पनि विधान विपरीत अहिले गठन भइरहेको कुराको विरोधस्वरुप भेला आयोजना गरिएको बताएका थिए । यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन् भनेर सभापति देउवालाई पत्र पठाइएको उल्लेख गर्दै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिँड्ने अधिकार सभापतिलाई नभएको बताएका थिए ।

नेताहरुका उल्लिखित भनाइहरु हेर्दा सरासर अनुमान लगाउन सकिन्छ कि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस राम्रैसँग उठेको छ तर वर्तमान सभापति देउवाले सजिलै नेतृत्व अरुमा दिने संकेत गरेका छैनन् । उनले आफू अर्को कार्यकालका लागि पनि सभापतिमा लड्ने यसअघि नै बताइसकेका छन् । यसकै तयारीस्वरुप उनी आफ्नो शक्ति थप मजबुत बनाउन सक्रिय भएका छन् । हालै उनले पार्टीको महिला विभागलाई पूर्णता दिएका छन् भने अन्य विभागहरुमा पनि आफूखुशी आफ्नो प्यानलका नेताहरुलाई नियुक्त गरिरहेका छन् । हालै मात्र देउवाले पार्टी हित विपरीत लागेको, बागी उमेदवारी दिएको लगायतका आरोप लगाउँदै पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजनालाई कारबाही गर्ने निर्णयसमेत गरिसकेका छन् ।

यसरी हेर्दा कांग्रेसभित्र पनि विभिन्न आन्तरिक कलह देखिन्छ । यो रोग कांग्रेसमा पनि स्पष्टरुपमा देखिएसँगै कार्यकर्तामा निराशा पैदा भएको छ । उनीहरुको अपेक्षा यो छ कि पार्टीमा आगामी दिनमा यस्तो नेतृत्व आओस्, जो बलियो होस् । भलै प्रतिपक्षमा रहनुपरे पनि बलियो प्रतिपक्षको भूमिका निभाउन सक्ने होस् । आन्तरिक विवाद मिलाउँदै पार्टीलाई बलियो बनाओस् । आगामी निर्वाचनमा सुधार गर्दै तल्लो स्तरसम्म आफ्नो विरासत जोगाउन सक्ने होस् । तर कार्यकर्ता र शुभचिन्तकहरुको यो अपेक्षा पूरा होला वा नहोला, त्यो त आगामी दिनमा थाहा होला नै । तर योचाहिँ पक्कै हो कि अब कांग्रेसमा जरैदेखि सुधार जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्