प्रशंसालाई सम्मान मान्ने मोतीशान्ति



ललितपुरमा सामाजिक सेवाको चर्चा गर्दा सधैं अग्रपंक्तिमा आउनुहुन्छ मोतीशान्ति शाक्य । अपांगमैत्री भवनको अवधारणा सरकारी कागजातमा मात्र पढ्न र मन्त्रीहरूको भाषणमात्र सुन्नुपर्ने बेलामा झन्डै एक दशकअघि पाटन सामुदायिक पुनःस्थापना केन्द्रमार्फत शाक्यले ललितपुर जिल्लाकै सम्भवतः पहिलो अपांगमैत्री भवन निर्माणको अगुवाइ गर्नुभएको थियो । विशेषतः ज्येष्ठ नागरिकको सेवा, आँखादानको अभियानसँगै भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक भीमसेन मन्दिर र ऐतिहासिक बौद्ध विहारको पुनर्निर्माणमा क्रियाशील शाक्य हाल दर्जनौं सामाजिक संघ–संस्था, वित्तीय संघ–संस्थाको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने जिम्मेवारी सम्हालेर सामाजिक कार्यलाई अघि बढाइरहनुभएको छ । समाजसेवी शाक्यसँग समाज सेवाका विविध पाटोमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गर्नुभएको कुराकानीको सम्पादित विवरण ः
० आजकल समय कसरी बितिरहेको छ ?
अहिले कोेरोना महामारीको जोखिमले गर्दा अधिकांश समय घरमै बितिरहेको छ । कोरोनाको जोखिमसँगै विशेषतः अपांगता भएका, ज्येष्ठ नागरिक, दैनिक काम गरेर खानुपर्ने मानिसलाई दैनिक जीवनयापनको समस्याले सताइरहेको छ । यसले गर्दा लकडाउनको समयमा राहत वितरण, ज्येष्ठ नागरिकका लागि औषधि वितरण कार्यमा सक्रिय भएँ । फ्रन्टलाइनमा खटिएका प्रहरीलाई मास्कलगायतका सहयोग सामग्री पनि वितरण ग¥यौं । त्यसबाहेकको समय समाज र आफ्ना अनुभव प्रतिबिम्बित कविता लेख्ने र साहित्य पढ्नेमा खर्च भइरहेको छ ।
० अहिलेसम्मको सामाजिक सेवाको यात्रालाई तपाईं आफैंले मूल्यांकन गर्नुहुन्छ ?
२०४४ सालदेखि पाटन लेडी जेसिसमा आबद्ध रहने क्रममा पाटन सामुदायिक पुनःस्थापना केन्द्र (पाटनसीबीआर) सँग मेरो सम्बन्ध जोडिएको थियो । सो संस्था अपांगता क्षेत्रमा क्रियाशील जिल्लाको अग्रणी संस्थाका रूपमा पहिचान बोकेको छ । सो संस्थाको २०६४ देखि २०६८ सालसम्म दुई कार्यकाल अध्यक्ष भएँ । त्यति बेला संस्थाको आफ्नो भवन थिएन । दातृ निकाय पनि सन् २००० को आर्थिक मन्दीका कारण सहयोग निरन्तर गर्न नसक्ने अवस्था थियो । भवन नभएकाले सुस्तमनस्थितिका कारण दैनिक जीवन सञ्चालन गर्न असहज, अशक्त भएका आफ्ना छोराछोरीलाई आवश्यक पर्ने अत्यावश्यक दीर्घकालीन सेवा एकै ठाउँबाट खुला वातावरणमा दिन कठिनाइ थियो ।
यसले गर्दा भवन बनाउने कार्यको अगुवाइ गरें । भवन बनाउने त भनियो, तर स्रोत जुटाउने कसरी ? स्रोत जुटाउन कहाँ हुन्छ, कसरी हुन्छ, कसलाई भनेर हुन्छ, सबै तिर धाएँ । आफैंले पनि आर्थिक सहयोग गरें । आफ्नो नातागोता, चिनजान भएका सबै, अरू त के श्रीमान् गौतम शाक्यसँग व्यावसायिक सम्बन्ध भएका सबै व्यक्तिबाट आर्थिक सहयोग जुटाएँ । मेरो टिममा भएका भवन निर्माण समितिका सचिव राजेश बज्राचार्य लगायत सबैको अथक प्रयासमा करौडौं रकम जुटाएर अपांगमैत्री भवन बनाउन सफल भयौं । यति बेलासम्म अपांगमैत्री भवनको अवधारणा सरकारी कागजातमै सीमित थियो । यस कार्यले मलाई समाजसेवीका रूपमा चिनाइदियो ।
यससँगै बौद्धिक अपांगता आमा समाजमा सक्रिय रही अभिभावकको मनोबल विकासका लागि कार्य गर्दै आएँ । त्यसपछि हाल इमाडोलमा रहेको ज्येष्ठ नागरिकको हेरविचार गर्ने संस्था मुदिता सेवा गृह स्थापनामा आबद्ध भएँ । ज्येष्ठ नागरिकको हेर–विचारका लागि पनि आफूले सक्दो जति सहयोग गरें । सामाजिक क्षेत्रमा रुचि बढ्दै गएकाले २०६३ देखि लायन्स क्लब अफ हारती माताको संस्थापक सदस्य भई निःशुल्क मोतियाबिन्दु शल्यक्रियासहितका आँखा शिविर अभियान र विभिन्न टोल वडामा आँखा शिविर कार्यक्रम सञ्चालन ग¥यौं । नेपाल आँखादान समाजमा पनि आबद्ध भई हालसम्ममा ५०औं शिविरको संयोजन पनि गरें । हाल पनि अहिले भीमसेन मन्दिर पुनर्निर्माण समिति, ललितपुरको विकासको लागि समाजलगायत जिल्ला, नगर र वडामा हुने सामाजिक गतिविधिमा संलग्न भइरहेको छु । मेरो आफ्नो भावना, जीवनको धेरै समय यस्तै बहुजनको हित हुने काममा खर्च गर्न पाएकोमा निकै सन्तुष्टि छु । सामाजिक सेवामा सक्रिय समय बिताउन पाउनुलाई जीवनको उपलब्धिका रूपमा लिएको छु । सामाजिक सेवामै मलाई खुसी र जीवनको सार्थकताको बोध हुने गर्दछ ।
० तपाईंको अनुभवमा समाजसेवा भनेको के हो ?
समाजसेवा भनेको आफूसँग भएको धन, समय वा श्रम अरूको हितका लागि दिनु हो । मानिसलाई आपत्विपद् पर्दा वा दुःखमा परेका बेला जसले पनि सहयोग, सद्भाव व्यक्त गरिरहेको हुन्छ । तर, सामाजिक सेवामा निरन्तर लाग्न आफ्नो दैनिक जीवनको व्यवस्थापनका लागि आवश्यक न्यूनतम आर्थिक चिन्ताबाट मुक्त भने हुनुपर्दछ । भनिन्छ– भोकाएको व्यक्ति मन्दिरमा एकचित्त भएर बस्न गए पनि उसले सम्झिने भनेको रोटी नै हो । त्यसैले आफू निश्चिन्त हुनुपर्दछ । मुख्यरूपमा अरूलाई परेको दुःख, पीडा, अप्ठ्यारोलाई मनदेखि महसुस गरेर सहयोग गर्ने प्रबल भावना पनि चाहिन्छ ।
० समाजसेवाको दौरान बिर्सिन नसक्ने त्यस्तो कुनै घटना छ ?
महिला बालबालिका तथा समाज कल्याणमन्त्री ऋद्धिबाबा प्रधान हुँदा जापान जाने एउटा सरकारी भ्रमण टोलीमा सहभागी हुने अवसर पाएको थिए । हप्तौं दिनको भ्रमणको क्रममा ७५ हजार रुपियाँ भत्ता पाएको थिएँ । आफूले पाएको भत्तामा ५० हजार थपेर सामाजिक क्षेत्रमा क्रियाशील ५ वटा संस्थालाई २५ हजारका दरले सहयोग गरें । त्यो देखेर त्यहाँका सचिव र सहसचिवले भनेका थिए– ‘अरू मानिस भत्ता पाउनका लागि सरकारी भ्रमण टोलीमा सहभागी हुन तँछाड–मछाड गर्छन् । तपाईंले पाएको भत्तामा पनि उल्टै ५० हजार थपेर सहयोग गरेको कुरो हामीले अहिलेसम्म देखेको त सुनेको पनि थिएनौं ।’ मप्रति मन्त्रालयका कर्मचारीले व्यक्त गरेको प्रतिक्रियालाई नै सम्मानको रूपमा लिएको छु । त्यो कुरोले मलाई घमण्डी नभई सामाजिक क्षेत्रमा लाग्न अझ बढी हौस्याएको छ ।
० तपाईं विभिन्न संस्थामा आबद्ध भई समाजसेवामा लाग्नुका साथै व्यक्तिगतरूपमा पनि निरन्तर लागिरहनुभएको छ । व्यक्तिगत र संस्थागतरूपमा सामाजिक काममा खटिँदाको बीचमा कस्तो फरक पाउनुभयो ?
संस्थागतरूपमा काम गर्दा संस्थागत विधि, प्रक्रिया पालना गर्नुपर्ने, दायित्व सीमिति हुने, जिम्मेवारी बाँडफाँड र टिम वर्कबाट काम हुने गर्दछ । यसको छुट्टै मज्जा र बेग्लै संस्थागत महत्व रहन्छ । अर्कोतर्फ कहिलेकाहीं सम्झौता गर्नुपर्ने र आफूले भनेजस्तो मात्र नहुने पनि हुन सक्दछ । यसमा पनि आफ्नै नेतृत्वमा काम गर्ने र अरूको नेतृत्वमा काम गर्ने माहोलले फरक पार्दछ । अर्कोतर्फ व्यक्तिगतरूपमा स्वेच्छाले सामाजिक हितको काम गर्दा असीमित दायित्व, काम गर्ने क्रममा यदाकदा बढी तनाव भए पनि काम सम्पन्न हुँदा त्यतिकै मात्रामा आनन्द र सन्तुष्टि पनि पाइनेरहेछ ।
० समाजसेवा गर्ने व्यक्तिमा कस्तो गुण हुनुपर्दछ ?
आफ्नो इच्छामा दृढ संकल्प र आफूमा आत्मविश्वास हुनुपर्दछ । आफूले गर्ने कामप्रति इमानदारी र पारदर्शी हुनुपर्दछ । दृढ संकल्प नभईकन निरन्तर समाजसेवाको काममा लाग्न सकिँदैन । समाजसेवामा लाग्न आत्मबल बलियो हुनुपर्दछ, अनेक बाधा, अड्चन, आलोचना पनि सहनुपर्ने हुन्छ, कहिलेकाहीं निराशाको अनुभूति हुने गर्दछ । यस्तो बेला आत्मविश्वाससहित काममा लागिरहने शक्ति चाहिन्छ । साथसाथै पारिवारिक सहयोग, समर्थन र सौहार्दपूर्ण वातावरणले पनि काममा लाग्ने सधैं प्ररेणा मिलिरहन्छ ।
० समाजसेवा गर्ने व्यक्ति आर्थिकरूपले बलियो हुनु कतिको आवश्यक छ ?
आफ्नो आवश्यकता अरूको भरमा नभई आफैंले पूरा गर्न सक्ने, वा आपत्विपद्मा परेका व्यक्ति वा समूहलाई निःस्वार्थ भावले आर्थिक, भौतिकरूपमा सहयोग गर्नु नै समाजसेवा हो । अर्थात् सेवा भावना आर्थिक अवस्थाले मात्र निर्धारण हुन्न तर भावना मात्रले पनि निरन्तरता दिन सम्भव छैन । बृहत् सामाजिक हितका लागि आर्थिकरूपमा नसके पनि नैतिक र भौतिकरूपमा निरन्तर सक्रिय हुनु पनि समाजसेवा भित्रै पर्दछ ।
० तपाईंलाई जीवनमा अघि बढ्ने सदैव उत्प्रेरित गर्ने विचार वा त्यस्तो कुनै भनाइ छ ?
मलाई जनकवि दुर्गालाल श्रेष्ठको एउटा कविताले सधैं प्रेरित गर्दै आएको छ । नेपालभाषाको त्यो कविता मनमा गुनगुनाउँदा पूरै शरीर सधंै जोश, जाँगरले भरिन्छ । त्यो कविता हो–
‘गनं गनं पंगः दई, अन जिगु निम्ति न्हुगू लँपु दई ।’ (जहाँजहाँ बाटो छेकिन्छ, त्यहाँ–त्यहाँ नयाँ बाटो भेटिन्छ… ।) यस कविताको भावले जस्तै बाधा, अड्चन आए पनि पूरै जाँगरका साथ अघि बढ्न प्रेरित गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्