ललितपुर महानगरका प्रमुख महर्जन पुगे पाटन अस्पताल, आर्थिक संकट टार्न प्रयास गर्ने प्रतिबद्धता



न्युज अफ नेपाल, ललितपुर । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका पाटन अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिएका छन् ।

उपचाररत कोभिडका बिरामीको अवस्था बुझ्न र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भेट्न बिहीबार अस्पताल पुगेका महानगर प्रमुखले अस्पतालमा कार्यरत सबैको खुलेर प्रशंसा गरे । नेपाल सरकारले पाटन अस्पताललाई कोरोना विशेष उपचार अस्पताल घोषणा गरेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा भरत यादवले पाटन अस्पताल आर्थिक संकटमा रहेको बताए । उनले भने ,‘निकट भविष्यमै तलब खुवाउन सक्ने अवस्था हुँदैन, यस्तो अवस्थामा पनि स्टाफहरुले उच्च मनोबलका साथ काम गरिरहनु भएको छ ।’ कोरोना संक्रमण फैलन नदिन लकडाउन आवश्यक भएको उनले बताए । पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएकाले एक महिना लकडाउन गर्नुपर्ने उनको धारणा थियो । उपकुलपति डा यादले अस्पतालका चिकित्सकहरुलाई क्वारेन्टिनमा राख्नु पर्ने अवस्था आए त्यसबेला अस्पतालले खर्च गर्न नसक्ने बताउँदै क्वारेन्टिनको व्यवस्था मिलाइदिन महानगरपालिकालाई अनुरोध गरे । उनले मास्कको प्रयोग गर्न , जथाभावी हिड्डुल नगर्न, सामाजिक दुरी कायम गर्न चेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्ने धारणा राखे । महानगरपालिका भीडभाड नियन्त्रण गर्न लाग्नुपर्ने बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा विष्णु शर्माले २०७२ सालको भूकम्पका कारण छ, महिना वर्षदिन तलब खुवाउनै गाह्रो परेको स्मरण गर्दै कोभिडले त्यस्तै अवस्था सिर्जना गरेको बताए । उनले भने, ‘यहाँ काम गर्नहरु सबैजना उच्च मनोबलका साथ काम गरिरहनु भएको छ, पैसाको आशमा गर्नु भएको होइन, गर्नुपर्छ भनेर गर्नु भएको हो , तर पनि सरकारले दिन्छु भनेर बोलिदिएपछि स्टाफबाट माग भएर आएका निवेदन मेरोमा अहिले एक चाङ छ । ’ उनले मान्छेको जीवन रहेमात्रै चाडपर्व हुने भएकाले चाडपर्वका नाममा हुने भीडभाड नियन्त्रण गर्न महानगरसँग अनुरोध गरे । नागरिकको अट्टेरीपनाका कारण कोरोना भाइरसको संक्रमण बढ्दै गएको बताए ।

महानगर प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पताललाई परेको आर्थिक संकट टार्न सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘ आर्थिक अभावको विषय समावेश गरेर महानगरलाई एउटा चिठ्ठी लेख्नुस्, बोर्ड बैठकमा राखेर के कसरी सहयोग गर्न सकिन्छ, त्यस बारे छलफल गर्छौ । उनले सिसिएमको बैठकमा समेत पाटन अस्पतालमा भएको आर्थिक संकटको विषयमा छलफल गर्ने बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत लिलाराज आचार्यले कोरोना संक्रमण फैलिरहेकाले महानगरले पर्याप्त क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्था गर्नुपर्ने बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासन अधिकृत तीर्थ राज भुजेलले सुरक्षा निकाय सहित स्थानीय क्लबहरुको सहभागितामा वडास्तरीय संयन्त्र निर्माण गर्नुपर्ने बताए । जसले कोभिड संक्रमणको शंका लागेकोका निगरानी गर्नेदेखि चेतना जगाउन समेत सहयोग गर्ने बताए । कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा वडा २४ का वडा अध्यक्ष दिनेश कार्की, विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं १२का अध्यक्षको पनि उपस्थिति थियो । उनीहरुले कोभिड संक्रमण नियन्त्रणका लागि महानगरका प्रत्येक वडाले चेतनामूलक कार्यक्रम संचालन गरेको, माइकिङ गरेको बताए । कोभिड नियन्त्रणका लागि महानगर र पाटन अस्पतालको सहकार्य महत्वपूर्ण हुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्