राउटे समुदायको घर निर्माण योजना एकदशक देखि अलपत्र



????????????????????????????????????

राम धामी, डडेल्धुरा ।

भित्रिमधेस क्षेत्रका राउटे समुदायका लागि सरकारले बनाई दिन थालेका घर निर्माण कार्य अलपत्र परेको छ ।

नेपाल सरकारको २०६८ देखि घर आवास कार्यक्रम मार्फत राउटे समुदायका लागि घर निर्माण थालेको हो । कार्यक्रम लागू भएको एक दशक बित्न लाग्दासमेत अझै कतिपय राउटे परिवारका घर निर्माण हुन सकेका छैनन् ।

परशुराम नगरपालिका वडा नम्बर १२ आम्पानी र वडा नम्बर ४ रज्यौटामा राउटे समुदायको बसोबास छ । दुबै गाँउमा गरेर ८६ घरधुरी राउटे समुदायका ब्यक्तिहरुका लागि घर निर्माण थालिएको हो । नगरपालिकाको केन्द्र जोगबुडा नजिकै रहेको आम्पानी गाँउका राउटे समुदायका घर निर्माण भइसके पनि परशुराम नगरपालिका–४ रज्यौडामा निर्माणाधिन १४ घरहरु अलपत्र परेका छन । रज्यौडा गाँउका ४१ परिवार राउटे समुदायका लागि घर निर्माण गर्ने भनिए पनि १४ परिवारको घर अझै बन्न नसकेको स्थानीय अगुवा नन्दकिशोर राउटेले बताए ।

घर निर्माणका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटीसँग सम्झौता भइ निर्माण कार्य शुरु गरिए पनि त्यसबेलानै भित्रिमधेस क्षेत्रका एक सय आठ सामुदायिक वनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा विचाराधिन रहेको भन्दै सो क्षेत्रमा काठ कटान गर्न रोक लगाइए पछि काठ अभावमा घर निर्माण कार्य प्रभावित भएको स्थानीय बताउछन । “वनको मुद्दा पछि काठ उपलब्ध भएन र घर निर्माणको काम रोकियो ।” स्थानीय शान्तिदेवी राउटेले भनिन् ।

विषेश अदालतको फैसला अनुसार भित्रि मधेश क्षेत्रका सामुदायिक वनमा काटीएको काठ अहिले विक्रि भई सकेको छ । तर काठ अभावमा राउटे समुदायकाका निर्माणाधिन घरहरु अलपत्र परेका छन । घर निर्माणका लागी राउटे समुदायका ब्यक्तिहरुको निर्माण समिति बनाईएको थियो । आर्थिक बर्ष २०६८/२०६९ भित्रै निर्माण कार्य सम्पन्न गर्नेगरि काम थालिए पनि काठ पाउन नसकेका राउटे समुदायका ब्यक्तिहरुले अझै घर निर्माण गर्न नसकेका हुन ।

????????????????????????????????????

काठ नपाए पछि निर्माणाधिन घरको काम पनि रोकिएको स्थानीय बताउछन । राउटे समुदायका एक दर्जन घर निर्माण थालिएको एक दशकसम्म पनि निर्माण हुन नसकेपछि निर्माण नसकिदै हाल जिर्ण बन्न थालेका छन । सामुदायीक वनका उपभोक्ता भए पनि काठ नदिँदा घर अधुरै रहेको राउटे समुदायका ब्यक्तिहरुको गुनासो छ । केहीले सालको ठाँउमा जमुनाको काठ प्रयोग गरी घर बनाएका छन ।

तोकिएको समयमा घर बन्न नसक्दा १४ घर निर्माण कार्यको रकम निकासा नभएको स्थानीय उदय सिंह राउटेले बताए । “कसैले १२ हजार मात्रै पाएका छन भने कसैलाई २४ हजार रुपैयाँ निकासा भएको छ । सामुदायिक वनले काठ नदिएपछि घर निर्माण कार्य सम्पन्न नहुँदा रकम पाउन नसकिएको हो ।” उनले भने ।

भित्रिमधेस क्षेत्रका सामुदायिक वनहरुले सालको गोलिया काठ बर्षेनी ठेक्का मार्फत बेच्ने गरेका छन । तर वनमा जिविकोपार्जन गर्ने राउटे समुदायलाई काठ उपलब्ध हुन नसक्दा घर निर्माण समेत रोकिएको छ । हाल सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटी कार्यालयनै समायोजनमा परेपछि सहरी विकास तथा भवन निर्माण आयोजनाका रुपमा स्थापित भएको हो । सो आयोजनाले राउटे समुदायको घर निर्माण योजनाका बारेमा जानकारी नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्