न्युजिल्यान्डमा एकैपटक फेला परे १३ नयाँ कोरोना संक्रमित



अकल्यान्ड (एजेन्सी) । 

सय दिन भन्दा लामो समयसम्म कोरोना भाइरसको कुनै संक्रमित नदेखिएको न्युजिल्यान्डमा एक रातमै १३ नयाँ पोजिटिव फेला परेका छन् ।

सय दिनसम्म कोरोना संक्रमित नेदेखिएकोमा खुसी भइरहेको न्युजिल्यान्ड फेरी एक पटक अक्टोबरसम्म लकडाउन गर्नु पर्ने स्थितिमा पुगेको छ । देशमा उत्पन्न स्थितिलाई ध्यानमा राख्दै सरकारको मन्त्रिमन्डलले शुक्रबार यस विषयमा बैठक गर्ने बताइएको छ । लकडाउन र आगामी चुनाव स्थगन गर्ने विषयमा बैठकमा चर्चा हुने बताइएको छ ।

शुरुमा देखिएका दुई नयाँ केस तोकोरोआको भएको र उक्त स्थान केन्द अकल्यान्डबाट २ सय किलोमिटर टाढा रहेको डेलिमेल अनलाइनको समाचारमा स्वास्थ्य महानिर्देशक डा एस्ली ब्लुमफिल्डले बताएका छन् । तोकोरोआको केस यसै हप्तामात्र संक्रमित पाइएका अकल्यान्डको एक परिवारसँग सम्बन्धित छ । अहिलेसम्म एउटा केसको कनेक्सन भने पत्ता लगाउन सकेको छैन ।

शुक्रबार भेटिएको दुई नयाँ केस अमेरिकोल्ड फ्रोजन फेसिटीसँग जोडिएको छ । त्यसपछि स्वास्थ्य विभागले फ्रोजन फुड सिपमेन्टले भाइरस फैलिरहेको हुन सक्ने विषयमा अनुसन्धान थालेको छ । पाँच संक्रमित केस कामदारको भएको र ७ उनीहरुको परिवार सदस्य भएको बताइएको छ । अझै १४ कामदारको परीक्षण नतिजा आउन बाँकी छ ।

यसबीच अकल्यान्डमा एक बच्चामा कोरोना पोजिटिव भेटिएपछि एउटा स्कुल बन्द गरिएको छ र ६ सय परिवार र कर्मचारीलाई सेल्फ आइसोलेसनमा बस्न भनिएको छ ।

चीनको फ्रोजन फुडमा पनि भाइरस

यसैबीच चीनका स्वास्थ्य अधिकारीहरुले फ्रोजन चिकेन विंग्स र फुड प्याकेजिंगमा कोरोना भाइरस भेटिएको बताएका छन् । ब्राजिलबाट सेनजेन आएको फ्रोजन चिकेन विंग्समा कोरोना भाइरस थियो, यसलाई लिएर नागरिकहरुलाई सचेत रहन भनिएको छ । त्यसैगरी सियानमा फ्रोजन स्रिम्पमा पनि कोरोना भाइरस भेटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्