विराटनगरमा एकै दिन ६० संक्रमित

आइसोलेसन बनाउन प्रदेश–१ सरकारले बाँड्यो १ करोड ६० लाख



सरोज यादव, विराटनगर
विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगर–९ वडाका रहेका छन् । सो वडामा ५ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै विराटनगर १२ मा ८ पुरूषलाई संक्रमण पुष्टि भएको छ । विराटनगर २ मा २, ३ मा ५, ५ मा ४, ६ मा ५, ७ मा २, ८ मा ६, १० मा ४, ११ मा २, १३ मा २, १६ मा १ र १७ मा ४ जनालाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको जनाएको छ ।

वडा नखुलेका ५ पुरुष र १ महिला गरी अन्य ६ जना पनि विराटनगरकै छन् । विराटनगरमा बिहीबार ६० जना थपिएसँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् । कोरानोबाट महानगरभित्रै ६ जनाको मृत्यु भएको छ । विराटनगरमा ६० सहित प्रदेश–१ मा बिहीबार १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका २२ महिला ३८ पुरुष, बूढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरानमा १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको बिर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

प्रदेश–१ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । प्रदेश–१ बाट बिहीबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

यसैबीच विराटनगरस्थित कोसी अस्पतालका थप एक नर्सलाई बिहीबार कारोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ल्याबमा गराएको कोरोना परीक्षण रिपोर्टअनुसार एक नर्सलाई कोरोना पुष्टि भएको हो । योसँगै अस्पतलामा संक्रमितको संख्या १८ पुगेको कोसी अस्पतालका सुपरिटेन्डेन्ड डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

यसैबीच पछिल्लो समय कोरोना संक्रमितको सख्या बढ्दै गएपछि प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पताललाई रकम उपलब्ध गराएको छ । आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख प्रदेश सरकारले उपलब्ध गराएको हो । स्थानीय तहहरूलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो ।

त्यस्तै ११ वटा जिल्ला अस्पताललाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ । केही दिनअघि मात्र थप आइसोलेसन बेडको व्यवस्था गर्न प्रदेशस्तरीय सीसीएमसी बैठकले निर्णय गरेको थियो ।

प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउन महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ । १ सय बेड क्षमताको आइसोलेसन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, वि.जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, चतरामा १ सय बेड क्षमताको आइसोलेसनका लागि १५ लाख र सोलु दूधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश–१ का ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरका जिल्ला अस्पतालहलाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन स्थापना र सञ्चालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ ।

कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपियाँ आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको छ ।

त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ दूधकोसी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि ५–५ लाख प्रदेश सरकारले निकासा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्