स्वतन्त्र राष्ट्रलाई स्वतन्त्रै रहन सघाऊ



बालकृष्ण मैनाली
मानव जिन्दगीको भरोसा छैन भन्ने बूढापाकाहरुको उखानलाई चुनौती दिँदै आएको समाज र पुस्तालाई वर्तमानले थप चुनौती थपिदिएको छ । मानवको गर्भधारणपश्चात् यो महिनामा मानवको जन्म हुन्छ भन्नेसम्मको आँकलन गर्न सकिए पनि जन्मपछिको मरण कहिले भन्ने कुरालाई आजसम्म कसैले चुनौती दिन सकेको छैन । यो अलौकिक सत्य र चमत्कार वर्तमानमा साक्षी बनेर उभिरहेको छ । नाङ्गो आँखाले देख्नै नसक्ने एउटा कीटाणुले विश्व ठप्प पारिरहेको छ । खर्बांै सम्पत्तिका मालिकले आफ्ना सन्तानहरुसमक्ष सामान्य रुघा लागेको कारण हाच्छिउँ गर्दा एकक्षणसम्म अगाडि बसिरहेका सन्तान तीन हात पर उफ्रेर भाग्ने र सन्तानले सामान्य हाच्छिउँ गर्दा घरमूली तीन हात पर भाग्नुपर्ने वर्तमानको नियति बन्न पुग्यो । यो नियतिबाट मानवले कहिले मुक्त हुने, कुनै टुङ्गो छैन । अरु त परै जाओस्, मानवले मानवलाई संक्रमणको दृष्टिकोणबाट नियाल्ने परम्पराको थालनी भएको हो कि भन्ने आशंकाले मानवको मनमा घर गर्न थालेको छ । यसलाई रोक्ने भूमिका पनि अरुमा भन्दा मानवकै काँधमा आइपरेको छ । यो कुरालाई मानवले बिर्सिने जमर्को ग¥यो भने मानवका लागि भयावह विपत्ति यो भन्दा अरु हुन सक्दैन ।
नेपालको इतिहासले देश कसैको पराधीनमा नपरेको खुलस्त गराउँदै आएको छ । तर पनि छिमेकीलगायत विश्वमा मै हुँ भन्ने शक्तिशाली देशहरुले यो वा त्यो नाउँमा आफ्नो गुदी लाद्न खोजेको र कतिपय अवस्थामा छिमेकी तथा ठूला शक्तिशाली देशहरुले साना एवं कमजोर देशहरुलाई आफ्नै रणनीतिमा भूलभूलैयामार्पmत केन्द्रित रहन बाध्य पारी आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न थालेको वर्षौं भइसक्यो । यी प्रयासहरु यद्यपि जारी नै छन् । नागरिक तहमा पनि विभिन्न प्रक्रियाहरुमार्पmत थुप्रै अनुरोधहरु गरिए तापनि ती अनुरोध अनुरोधको रुपमा नभई कमजोरवर्गको छटपटाहटको अर्थमा बुझियो र बुझिँदै छ । कुनै पनि स्वतन्त्र देश र भूमिमा अन्य देशका सिद्धान्त, विचार या कुविचार आदि लाद्ने कार्य मात्र होइन त्यस किसिमका कार्यको कोशिश पनि नगरिदिने सम्बन्धमा बेला–बेलामा भएका अनुरोधलाई स्वीकार्ने कार्यको कतै प्रयाससम्म भएको देखिएन । झन् पछिल्लो समयमा आएर ती कार्यहरु खुम्चिनुको सट्टा झन् फराकिलो हुँदै गइरहेको अनुभूति जनजनलाई हुन पुगेको छ ।
स्मरण के रहन आवश्यक छ भने, दृश्य–अदृश्यरुपमा भैरहने यस किसिमको रणनीतिक प्रयास नहटेसम्म विरोधरुपी आन्दोलन जारी राखिराख्ने कुरामा जनजन प्रतिबद्ध देखिएका छन् । पछिल्लो समय जनजनले के ठानेका थिए भने, समय–समयमा भएका र सफल ठानिएका विभिन्न आन्दोलनपश्चात् अब देशले काँचुली फेर्नेछ । विकासमा नयाँ–नयाँ मोडेलहरुले नेपाली जनजनमा उत्साहित तुल्याउनेछ । युवाहरुलाई रोजगारको लागि विदेश–विदेशमा भौंतारिरहनुपर्ने छैन । प्रत्येक छिमेकीलगायत शक्तिशाली देशहरु अनि नेपाललाई राम्रोसँग चिनेका विदेशी शक्ति नियोग तथा एजेन्टहरुले नेपाली परम्परा र संस्कृति सुहाउँदो खालको साथ–सहयोग र समर्थन रहने र गर्ने कुरामा विश्वस्त थिए । शुरुवाती चरणमा कता–कता सकारात्मक संकेत देखिएको अनुभूति पनि गरिएको थियो । विडम्बना ! वर्तमान दिनसम्म आइपुग्दा नेपाली जनजनको विश्वास झुटो साबित हुन पुगेको छ ।
आजको दिनसम्म आइपुग्दा वैदेशिक चलखेलले आफ्नो भूमिमा हरेक सीमा पार गरिसकेको नेपाली नागरिकहरुलाई अनुभूति भएको छ । राजसंस्था हुँदा दरबारलाई नै प्रभावमा पारी आफू अनुकूलको नीति अख्तियार गर्दै आएको भन्ने कुरा जनजनले त्यति बेला पनि सुनिआएका र अनुभूति गर्दै आएका थिए । त्यति बेलादेखि वर्तमानसम्म आइपुग्दा त्यो भन्दा पनि बढी वैदेशिक रणनीतिक स्वार्थले भूमिका खेलेको अनुभूति वर्तमानमा हुन पुगेको छ । कहिलेकाहीँ स्वाभिमान व्यक्ति सरकार प्रमुख भएको बेलामा बाहेक अन्य बेलामा वैदेशिक चलखेलले उत्कृष्ट स्थान नै ओगटेको हुन्थ्यो र त्यो परिपाटी वर्तमानमा पनि कायमै छ । पञ्चायती प्रशासनमा वैदेशिक चलखेल भए पनि अहिलेको जस्तो खुल्लेआम भने थिएन भन्छन् त्यति बेलाका जनजनहरु । दरबार र तत्कालीन व्यवस्थालाई नै आघात पुग्ने गरी गरिएको कतिपय चलखेललाई आफ्नो ज्यानको बाजी राखेर भए पनि त्यति बेलाको कुनै–कुनै सरकारले निस्तेज बनाउन कुनै कसर बाँकी राख्दैनथ्यो भन्ने कुरा इतिहासलाई नियाल्दा स्पष्ट हुन्छ । यसै कारणले गर्दा त्यति बेला चलखेल गर्ने तत्वहरुले बडो सतर्कताका साथ आफ्नो पाइला चाल्ने गर्दथे । हिजोआजको जस्तो खुल्लंखुल्ला छुट कतै थिएन । दिवंगत भइसकेका केही देशभक्त प्रधानमन्त्रीहरुले वैदेशिक रणनीतिअन्तर्गत गरिने विभिन्न खाले चलखेललाई खुल्लेआम प्रमाणसहित चुनौती दिने हिम्मत राख्थे र त्यसलाई असफल पार्दथे ।
नेपाली जनजनलाई अनुभूति भैसकेको छ, विभिन्न नियोग तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु दुईवटा ‘ध’को माध्यमबाट नेपालजस्ता साना तथा अविकसित देशलाई प्रभाव पार्ने कोशिशमा रहन्छन । ती मध्ये पहिलो ‘ध’ धन र दोस्रो ‘ध’ धम्की हुन् । धन र धम्कीको मारमा हामीजस्ता साना तथा अविकसित देशहरु पिल्सिरहनुपरेको यथार्थता विश्वसामु कायमै छ । विशेष गरी विभिन्न जातजाति, स्थानीय गैरसरकारी संस्था र राजनीतिक शक्तिहरुलाई पहिलो ‘ध’ अर्थात् धनको माध्यमले प्रभावमा पारी आफ्नो अभिष्ट पूरा गर्दै आइरहनु वैदेशिक सहयोगरुपी अवधारणाहरुको नियति नै बनिसकेको छ । चाहे त्यो पीडितको नाममा सहयोग गर्ने बहाना होस् या सामाजिक काममा सहयोग गर्ने बहानामा होस्, यी सहयोगहरुका भित्री मनसाय कमजोर राष्ट्रहरुका सबै मूलभूत पक्षहरुलाई आफ्नो अधीनमा राख्न खोज्नु नै हो भन्नेमा कतै विमति देखिँदैन । यी सहयोगहरुको उद्देश्य भनेको कथंकदाचित पहिलो ‘ध’ अर्थात् धनले काम नगरेको कतिपय अवस्थामा दोस्रो ‘ध’ अर्थात् विभिन्न प्रकारको धम्कीको प्रयोगमार्पmत भए पनि आफ्नो अभीष्ट पूरा गर्ने प्रयत्न गर्नु हो भन्ने कुरा हामी प्रत्येक जनजनले छर्लंग बुझेको वास्तविकता हो ।
पछिल्लो चलेको प्रसंग भनेकोचाहिँ भारतीय सञ्चारमाध्यममा आपूmअनुसार नेपाल नचलेको भन्दै मच्चाइरहेका कोकोहोलो र चीनका राजदूतले देशको आन्तरिक राजनीतिमा प्रभाव पार्ने प्रयासस्वरुप भएका विभिन्न राजनीतिक तहका पछिल्लो भेटघाट र साथसाथै विश्वशक्ति कहलिएको अमेरिकी रणनीतिअन्तर्गत देशको संसद्बाटै परित गर्न खोजिएको एमसीसी प्रकरण अनि त्यसमा भैरहेको माथापच्चीलगायत हालै नेपालको चर्चित एक पत्रिकामा नेपालका लागि चीनका राजदूत महामहिम होउ यान्छीले दिएको पछिल्लो अन्तर्वार्ताबाट पनि नेपाली जनजनलाई स्वतन्त्रपूर्वक आफ्नो भूमि, परिवेश, हावापानी, संस्कृति सुहाउँदो विकासको बाटोमा लाग्न प्रत्यक्ष–अप्रत्यक्षरुपमा समस्या खडा गरिदिएको अर्थको रुपमा नेपाली जनजनलाई अनुभूति गराएको छ ।
यो पक्कै हो, पटक–पटक हामीले छनौट गरेर हाम्रा आस्थाका पुञ्ज भनी पठाएका हाम्रा अग्रज नेताहरुले जनजनलाई राजनीतिक सेवा प्रदान गर्नुको सट्टा राजनीतिक व्यवसायलाई प्राथमिकतामा राख्दै अवस्था र समयअनुसार वैदेशिक रणनीति र स्वार्थ केन्द्रित विषयलाई नै प्राथमिकता दिँदै आएको कारण देश यो अवस्थाबाट गुज्रिरहनुपरेको वास्तविकताबाट जनजन अनभिज्ञ छैनन् । आफ्नै देशका राजनीतिक व्यवसायीहरुका कारण देशले आफ्नो खुट्टामा उभिन अभैm केही थप समय लिने पक्कै जस्तो भैसक्यो । यस मानेमा पनि स्वार्थरहित वैदेशिक सहयोगको खाँचो देशलाई आवश्यक परेको छ ।
नेपाली जनजन आत्मनिर्भर हुँदा कुन छिमेकी वा शक्तिशाली देशलाई नकारात्मक असर पर्छ भन्ने कुरा नेपाली जनजनको दिमागले अभैm बुझिरहेको छैन । कहिले सीमित र तोकिएको कार्य मात्र गर्न स्वीकृत पाएको युरोपियन युनियनले जनजनलाई असर पर्ने गरी आफ्नो भड्काउ प्रतिवेदन सार्वजनिक गर्छ । कहिले कुन छिमेकीले आफ्नो स्वार्थ अनुकूल बनाउन आफ्ना सञ्चार क्षेत्रलाई प्रयोग गर्छ, त्यतिले नपुगेर आफ्नो दूतसमेत पठाएर सम्बन्धित सरोकारवालाहरुलाई भेटेर प्रभाव पार्ने प्रयास गर्छ । कहिले कुन छिमेकीले आफ्नो राजदूत प्रयोग गर्छ, कहिले कुन छिमेकीले । आफ्नो स्वार्थ नबाझेसम्म अरु मुलुकको स्वतन्त्रता सम्बन्धित मुलुककै हो भनेर कहिल्यै नथाक्ने दूतहरु आफ्नो स्वार्थ बाझिनासाथ तीन हात माथि उफ्रेर खबरदार ! त्यो मुलुकलाई केही गरौला भन्ने अभिव्यक्ति सार्वजनिक हुन्छ ।
प्रत्यक्ष वा अप्रत्यक्षरुपमा भइरहने विभिन्न हस्तक्षेपकारी कार्यलाई बेला–बेलामा विभिन्न कूटनीतिक माध्यमलगायत आवश्यक पर्दा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न विरोधको माध्यमबाट जानकारी तथा सजग गराउँदा पनि परिधि र सीमाभित्र रहेर आपूmबाट हुन जाने सम्भावित हस्तक्षेपरुपी कार्यहरु रोक्ने र विगतबाट आवश्यक पाठ सिकी अन्तर्राष्ट्रिय मापदण्ड एवं भियना सन्धिको अधीनमा रहेर त्यसलाई पालना गरी सजगतापूर्वक आपूmले स्वीकृत पाएको काममा मात्र ध्यान केन्द्रित गरी द्विपक्षीय वा बहुपक्षीय सम्बन्ध विस्तारका लागि आवश्यक कार्य गर्नुपर्ने हो । तर हामी शक्तिशाली हौं, हामीलाई कसैले केही गर्न सक्दैन र हामी बलिया राष्ट्रका व्यक्तित्वहरुबाट प्रतिनिधित्व गराइएका समूह हौं भन्ने आडम्बरका साथ हामीले जे गरे पनि हुन्छ र कमजोर राष्ट्रका कानुनले हामीलाई छुनेवाला छैन र अन्य अन्तर्राष्ट्रिय कानुनलाई हामी आफ्नो अनुकूलअनुसार व्याख्या गर्न सक्छौं भन्ने अभिमानका साथ कार्य गर्नु भनेको कुनै पनि सरोकारवाला पक्षहरुलाई सुहाउने कुरा हुँदै होइन ।
नेपालजस्तो सानो मुलुकमा युरोपियन युनियनदेखि लिएर विभिन्न अन्य वैदेशिक शक्तिहरुले पनि बेला–बेलामा नेपालको आन्तरिक मामिलामा दखल दिँदै आएका छन् । शक्तिशाली कहलाइएका र बलिया छिमेकी कहलाइएका देशहरुका यस्ता क्रियाकलापले साना विकासशील मुलूकहरुमा विश्वव्यापीरुपमा भएका र मानिआएका सन्धि, अभिसन्धि र अन्र्तराष्ट्रिय मूल्य–मान्यताहरु खाली विश्वका शक्तिशाली राष्ट्रहरुका लागि मात्र हुन् कि विश्वका सबै राष्ट्रहरुका लागि समान हुन् भन्ने प्रश्नलाई शंकाको घेरामा पारेको छ । नेपाललगायत अति कम विकसित देशहरुका लागि यी सबै सन्धि, अभिसन्धि र अन्तर्राष्ट्रिय मूल्य–मान्यताहरु खोस्टा हुन् ? भन्ने प्रश्न आज पनि जीवन्त बनिरहेको छ । यदि यी अन्तर्राष्ट्रिय मूल्य र मान्यताहरु खोस्टा होइनन् भने विश्वव्यापीरुपमा भएका र मानिआएका सन्धि, अभिसन्धि र अन्तर्राष्ट्रिय मूल्य–मान्यताहरुलाई कार्यान्वयन गर्ने सवालमा युरोपियन युनियनलगायत अन्य देशका प्रतिनिधि तथा एजेन्टहरु यस्ता मामिलामा नेपालमा मात्र होइन सरोकार राख्ने र राखिने हरेक मुलुकमा आफ्नो कार्यलाई प्रवेश गराउँदा वा विस्तार गराउँदा गम्भीर बन्नै पर्दछ । यदि विश्वलाई शान्तिको गोरेटोमा डो¥याउने हो भने विश्वमा शक्तिशाली कहलिएका देशहरुले अन्य साना र अविकसित मुलुकहरुप्रति लिएको वर्तमान रणनीतिहरु उपयुक्त छन् या छैनन् भन्ने कुरालाई पुनर्विचार गर्नुपर्ने आवश्यकता खाँचो भइसकेको छ ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्