युनाइटेड र इन्टर सेमिफाइनलमा प्रवेश



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र इटालियन सिरी ए क्लब इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

सोमबार राति भएको अन्तिम आठको खेलमा युनाइटेडले डेनिस क्लब कोपेनहेगनलाई तथा इन्टरले बायर लिभरकुसेनलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यो समेत युनाइटेड १७औं पटक युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । कोपेनहेगनलाई हराउन युनाइटेडले पेनाल्टीको सहारामा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

जर्मनीको कोल्न सहरमा भएको उक्त खेलमा ९० मिनेटपछि थपिएको इन्जुरी समयको पाँचौं मिनेटमा युनाइटेडले पेनाल्टी पायो थियो । जसमा पोर्चुगिज खेलाडी ब्रुनो फर्नान्डेजले प्रहार गर्दै युनाईटेडको जित पक्का गरे । डीबक्समा कोपेनहेगनका खेलाडीले युनाइटेडका एन्थोनी मार्सियाललाई फाउल गरेपछि युनाइटेडले उक्त पेनाल्टी पाएको थियो ।

तुलनात्मक रूपमा कमजोर टोली मानिए पनि कोपेनहेगनका गोलकिपर जोहन जोन्ससनले शानदार प्रदर्शन गर्दा युनाइटेडले गोल गर्न पेनाल्टीको सहारा लिनु परेको थियो । अब ओले गुनरको टोली युनाइटेडले सेमिफाइनलमा इंग्लिस क्लब उल्भ्स र स्पेनिस सेभियाबीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

त्यसैगरी सोमबार राति नै भएको अर्को खेलमा इन्टरले लिभरकुसेनलाई २-१ गोलअन्तरले हराएर अन्तिम आठमा स्थानमा पक्का गर्‍यो । खेलको १५ औं मिनेटमा निकोलो बरेलाले २० यार्डबाट प्रहार गरेको उत्कृष्ट सट सोझै गोलमा परिणत भएपछि इन्टरले अग्रता लिएको थियो । त्यसपछि २१औं मिनेटमा एस्ले योङको पासमा रोमेलु लुकाकुले लिभरकुसेनका डिफेन्डरलाई विट गर्दै गोल गरेपछि इन्टरले खेलमा दुई गोलको अग्रता बनायो ।

इन्टरका स्ट्राइकर लुकाकुले यो सिजनमा ३१ औं गोल गर्न सफल भए । यसका साथै उनको यो युरोपा लिगमा लगातार नवौं गोल पनि हो । लुकाकु यूइएफए कपमा लगातार नौ खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । दुई गोलले पछि परेको अवस्थामा चेल्सीमा आउने चर्चामा रहेका केइ हाभेर्टजले गोल गर्दै लिभरकुसेनको गोलअन्तर कम गरेका थिए । उनले खेलको २५ औं मिनेटमा डिबक्स भित्रबाट पाएको मौकालाई सदुपयोग गरेका हुन् ।

दोस्रो हाफमा दुवै टिमबाट पाएका मौकाको सदुपयोग हुन सकेन र इन्टर मिलानले अन्तिम चारमा स्थान बनायो । इन्टर सन् २०११ पछि पहिलो पटक उपाधि नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्