लामो लकडाउनपछि विद्यालयहरु पुनः सञ्चालन



कोलम्बो ।श्रीलङ्कामा कोरोनाभाइरसका कारण बन्द भएका सवै सरकारी विद्यालयहरु पुनः सञ्चालनमा आएका छन् । झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारदेखि सुचारु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पहाडी मुलुक श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई हजार आठ सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशिका लागु गर्दै सवै तहका विद्यालयको पठन पाठन शुरु गरिएको सरकारी अधिकारीहरुको भनाइ छ ।

विद्यालय सुचारु गर्नका लागि जारी गरिएको स्वास्थ्य निर्देशिकामा सवैले मास्क अनिवार्य लगाउनु पर्ने, सावुन पानीले हात सफा गरिरहनु पर्ने वा सेनिटाइजरको प्रयोग गर्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायत समेटिएको छ । सामाजिक दूरी कायम गर्दा कम्तीमा एक मिटर टाढा रहनु पर्ने निर्देशिकामा लेखिएको समाचारमा जनाइएको छ ।

शिक्षा मन्त्रालयले दुई सयभन्दा बढी विद्यार्थी भएको विद्यालयहरुमा आलोपालो अध्ययनको व्यवस्था गर्न पनि सूचित गरेको छ ।
केही विद्यालयहरु यसअघि गत जुलाईमा पनि खोलिएको थियो । तर सङ्क्रमितको संख्या बढ्न थालेपछि फेरी बन्द गरिएको थियो ।

श्रीलङ्कामा सोमबारसम्मको विवरण अनुसार देशभरी दुई हजार ८४४ जना सङ्क्रमित भएका छन् । ती मध्ये दुई हजार ५९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने अरु ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्