म्याग्दीमा सञ्चारको पहुँच बढ्दै, ९० हजार म्याग्दीवासी सञ्चार सेवामा जोडिए



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीका अधिकांश सर्वसाधारणहरु सञ्चारको पहुँचमा पुगेका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लामा पछिल्लो समय क्रमिक रुपमा सञ्चार क्षेत्रमा म्याग्दीवासीहरुको पहुँच बढ्दै जान थालेको हो । नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीको पछिल्लो तथ्याङ्कअनुसार जिल्लाका ९० हजारभन्दा बढी सर्वसाधारणहरु सञ्चार क्षेत्रसँग जोडिएका हुन् ।

२०६८ सालको जनगणनाअनुसार १ लाख १३ हजार ६ सय ४१ जनसङ्ख्या रहेको म्याग्दीमा गत आर्थिक वर्ष २०७६/०७७ सम्म कुल ९० हजार ३१ जना अर्थात् ८० प्रतिशत जनसङ्ख्या सञ्चार क्षेत्रमा आबद्ध रहेको टेलिकमले जनाएको छ ।

टेलिकमले वितरण गर्ने नमस्ते मोबाइलको सिम प्रयोग गर्नेहरु जिल्लामा कुल ७२ हजार ४ सय १९ जना रहेकोमा ७० हजार १ सय ३८ जना प्रिपेड र २ हजार २ सय ८१ जना पोस्टपेडका प्रयोगकर्ताहरु रहेको टेलिकम म्याग्दी शाखाका प्रमुख विष्णुदेव शाहले जानकारी दिनुभयो । यसैगरी सिडिएमए (स्काई) प्रिपेड प्रयोग गर्नेहरु १५ हजार ५ सय ९५ र सिडिएमए टेलिफोनका प्रयोगकर्ताहरु ३ सय ९५ जना रहेको उहाँले बताउनुभयो । यसैगरी कपरवायर विस्थापित गरी लिजफोन (फाइबर) प्रयोग गर्नेहरु जिल्लाभर कुल १ हजार १ सय ७७ जना छन् ।

यसमध्ये सदरमुकाम बेनीबजारमा १ हजार १८, दरबाङमा १ सय २४ र पर्यटकीयस्थल घोरेपानीमा ३५ जना ग्राहकहरु रहेको टेलिकमका प्रमुख शाहले बताउनुभयो । त्यस्तै लिडफोनको फाइबरतर्फ इन्टरनेट जडान गर्नेहरु बेनीमा ६ सय ७८, दरबाङमा १ सय ३ र घोरेपानीमा २८ जनासहित कुल ८ सय ९ ग्राहक रहेका छन् ।

जिल्लामा अप्टिकल लिजलाइन प्रयोग गर्ने कुल ३६ जना ग्राहकहरु रहेको प्रमुख शाहको भनाइ छ । म्याग्दीमा टेलिकमको बिटिएसतर्फ मोबाइल टावर २६ रहेको छ भने सिडिएमएतर्फ ५ र वाईम्याक्सका ४ वटा टावरहरु सञ्चालन गरिएको टेलिकमको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लाको सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, क्याम्पसचोक, पुलाचौर, गलेश्वर, अन्नपूर्णको दोवा, दाना, शिख, घोरेपानी, पोखरेबगर, हिस्तान, राम्चे, मंगलाको बराङ्जास्थित झाँक्रीपानी र आल्डाँडामा मोबाइल टावरको बिटिएस स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

त्यसैगरी मालिकाको रुन्मा, ओखरबोट, बिम, धवलागिरीको गूर्जा, मुदी, ताकम, रघुगंगाको बेगखोला, राखुभगवती, पाखापानी र पर्यटकीय क्षेत्र टोड्केमा टावर सञ्चालनमा रहेको छ । टेलिकमले अब छिटै रघुगंगा गाउँपालिकाको कुईनेमङ्गले, चिमखोला र धवलागिरीको मुदीको बगरामा समेत मोबाइल टावरको बिटिएस स्थापना गर्ने तयारी गरेको जानकारी दिएको छ ।

टेलिकमले विद्युत सेवा पुगेको सबै ठाउँमा सञ्चालित टावरमा इन्टरनेट जडान गरी फोरजी सेवा सञ्चालन गर्ने भएको छ । टेलिकमको आगामी कार्यक्रमतर्फ फाइबर टु दि होम (एफटिटिएच), इन्टरनेटको फोरजी विस्तार तथा बिटिएस टावर थप गर्ने योजना रहेको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्