लेवान्डोस्कीको विशेष सिजन



बर्लिन, (एजेन्सी)
स्ट्राइकर रोबर्ट लेवान्डोस्कीका लागि यस सिजन विशेष भइरहेको छ। जर्मनको शीर्ष टोली बायर्न म्युनिखले शनिबार राति चेल्सीलाई ४–१ ले हराउँदा लेवान्डोस्कीको सहयोग शतप्रतिशत रहेको थियो। उनले दुई गोल गर्दा दुई गोल हुनका लागि एसिस्ट गरेका थिए। उनी हाल क्रिस्टियानो रोनाल्डोको कीर्तिमान नजिक पनि छन्।
३१ वर्षीय पोल्यान्डका लेवान्डोस्कीले यस सिजनमा सात च्याम्पियन्स लिग खेल्न पुगे । सबै खेलमा उनले गोल गरेका छन्। उनले हालसम्म व्यक्तिगत १३ गोल गरेका छन्। उनी कीर्तिमान तोड्न ५ गोलले टाढा छन्। रियल मेड्रिडबाट खेल्दा रोनाल्डोले सिजन २०१३–१४ च्याम्पियन्स लिगमा १७ गोल गरेर एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका थिए।
यदि, बायर्न म्युनिख फाइनलमा पुगेमा लेवान्डोस्कीले तीन खेल खेल्नेछ। रोनाल्डोको कीर्तिमान तोड्नेबारे मिडियाले प्रश्न गर्दा उनले भने– ‘यो मेरो लक्ष्यमा छैन। हामीसँग केही खेल बाँकी छ, म केवल गोलको सिर्जना गर्नमा खुसी छु।’
पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने सँचीमा शीर्ष स्थानमा छन्। उनले १ सय ३० गोल गरेका छन् भने दोस्रो स्थानमा रहेका लियोनल मेसीले १ सय १५ गोल गरेका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका राउलले ७१ गोल गरेका छन् भने लेवान्डोस्की ६६ गोलसँगै चौथो स्थानमा छन्। उनी राउलसँग ५ गोलले पछि छन्। २ गोल कम गरेर करिम बेन्जेमा पाँचौं स्थानमा रहेका छन्।
लेवान्डोस्कीले चेल्सीविरुद्धको दुवै लिगका खेलमा सानदार प्रदर्शन गरेका थिए। चेल्सीलाई पहिलो लिगमा ३–० ले हराउँदा उनले एक गोल गरे र दुई गोलका लागि एसिस्ट गरेका थिए। दोस्रो लिगमा ४–१ ले जित्दा उनले दुई गोल र दुई एसिस्ट गरेका थिए। उनले यस सिजनमा ४४ खेलबाट ५३ गोल गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्