ज्योतिष शास्त्रबारे केही तथ्यहरु



ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन एवं विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

वेदको प्राकट्यसँगै अपौरूषेयरूपमा स्थापित ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । वेदमा सम्पूर्ण ज्ञान, विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वान्हरूले पनि स्वीकार गरेका छन् । त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ । वैज्ञानिकहरूले आज कम्प्युटर, दुर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोगशालामा वर्षौं बसेर पूरा ब्रह्माण्डकै अध्ययन गर्दै आएका छन् ।

ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचीन सभ्यतामा नै भएको थियो । ग्रिस हुँदै भारतमा र नेपालमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वान्हरूको धारणा छ । भारतीय उपमहाद्वीपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ । र, पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ । यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो । प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो । पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो ।

राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ । यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०–३० डिग्रीको । यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ । यी राशीका नाम हुन्– मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन । एकमा मेष र एवम् क्रमले बाह्रमा मीन ।

यिनीहरूले मोटामोटीरूपमा यिनै शब्दहरूले संकेत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन्– मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि । अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मंगल, बृहस्पति र शनि जम्मा सात । यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ । यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन् । त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरीत दिशामा रहेका हुन्छन् ।

ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ । राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ । जस्तै– मेष–मंगल वृष–शुक्र मिथुन–बुध, कर्कट–चन्द्र, सिंह–सूर्य, कन्या–बुध, तुला–शुक्र, वृश्चिक–मंगल, धनु–बृहस्पति, मकर–शनि, कुम्भ–शनि र मीन–बृहस्पति ।

राशी स्थिर रहन्छ । ग्रहहरू गतिशील । कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ । सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन् । आफा्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ । आ–आफ्ना घरमा भएका बेला यिनीहरू बलवान् हुन्छन् । ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ । शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ । ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन् ।

मंगल ग्रहको रंग रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाइँ आदिको संकेत गर्दछ । त्यस्तै बृहस्पतिलाई देवगुरु मानिन्छ र बृहस्पतिले शिक्षा र विद्वताको संकेत गर्दछ । बृहस्पति प्रधान भएको व्यक्ति विद्वान् हुन्छ भनेर ज्योतिषीहरू भविष्यवाणी गर्दछन् । शुक्र दानवगुरु हुन् । त्यसैले बृहस्पति शुक्रको शत्रु भयो । शुक्रले यौनको पनि संकेत गर्दछ । शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ । शनि पाप ग्रह हो । यसको प्रभाव पाप कर्ममा हुन्छ । धन पनि पाप कर्म हो । शनिको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ । चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो । यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ ।

कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात् यो कुण्डलीमा १२, ३, ६ र ९ अंक भएका घरहरूलाई केन्द्र भनिन्छ । पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ । चौथो घरबाट मातृपक्ष, शरीर आदि । सातौँ घरबाट पति–पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ । केन्द्रमा शुभ ग्रह हुनु शुभ संकेत हो । त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ । द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ । द्वितीय घरले आफन्तसँग विछोड अर्थात् परदेशको संकेत गर्दछ । आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ । किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको षष्ठम घरबाट स्वास्थ्य, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ । कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ ।

पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ । एउटा हो दृष्टि । ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन् । कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर) मा ठाडो दृष्टि दिन्छ । यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान् दृष्टि मानिन्छ । त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि । शनि ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मंगल ग्रहले चौथो र अष्टम घरमा र बृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ । फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो ।

दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ । त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त । राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो । उदाउँदो ग्रहको प्रभाव बलवान् हुन्छ ।

ग्रहका आफ्ना भोगकाल हुन्छन् । त्यसलाई दशा भनिन्छ । बृहस्पतिको १६ वर्ष, शनिको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि । दशाहरू पनि विभिन्न खालका हुन्छन्– विंशोत्तरी दशा, योगिनी दशा आदि । योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ । फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् । एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ । त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ । लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू । यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ ।

ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो । यसमा कसैको शंका नरहोस् भन्ने भनाइ ज्योतिषीहरूको रही आएकोछ । तर समयसँगै यसमा धेरै विकारहरू आएका छन् । यो विद्यालाई आज पैसा कमाउने भाँडाको रूपमा प्रयोग गरिएको छ । आदियुगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिषशास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृततुल्य हुन पुगेको छ ।
–चेतन अधिकारी, कलंकी, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्