कोदोको लागि प्रख्यात पाउदुरमा टमाटर खेतीप्रति आकर्षण



टंकराज अधिकारी, पोखरा
राम्रो आम्दानी हुन थालेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरस्थित रानीथोकबासी परम्परागत अन्नबाली छोडेर टमाटर खेतीतर्फ आकर्षित भएका छन् । अन्य बालीको तुलनामा टमाटर खेतीबाट आठ गुणासम्म बढी आम्दानी गर्न सफल भएपछि किसानको आकर्षण बढेको हो ।
स्थानीय कमला पौडेलले गत वर्ष टमाटरबाट दुई लाख ४० हजार रुपियाँसम्म आम्दानी भएको बताउनुभयो । ‘धान, मकै र कोदो खेतीबाट खासै आम्दानी हुन्न, खान पनि हम्मे–हम्मे पर्छ तर टमाटर खेतीबाट मनग्गे आम्दानी पाएकी छु’ पौडेलले भन्नुभयो । परिवारकै सहयोगमा गर्न सकिने टमाटर खेती अन्य खेतीभन्दा सहज रहेको अनुभव पौडेलको छ । उहाँले मौसमअनुसारका तरकारीसागै पछिल्लो समयमा किबी, भुइँस्याउ जस्ता फलफूलको खेतीसमेत गर्न थाल्नुभएको छ ।
पौडेलसँगै उहााका दुई दर्जनभन्दा बढी छिमेकीले र टमाटर खेती शुरू गरेका छन् । कृषिको आधुनिकीकरणमा ध्यान दिँदै करिब दुई रोपनी क्षेत्रफलमा टनेल निर्माण गरी लगाइएका टमाटरले राम्रो उत्पादन दिन थालेको र त्यही अनुरुप बजारको माग बढेपछि आफूहरूमा झनै उत्साह बढेको उहाँका श्रीमान् नारायणप्रसाद पौडेल बताउनु हुन्छ।
१७ वर्षसम्मको विदेश बसाईका क्रममा कृषि क्षेत्रको ज्ञानलाई व्यावसायिक कृषिमा उपयोग गर्ने गरेको उहाँले बताउनुभयो । ‘विदेशको बसाईका क्रममा पनि त्यहा“बाट विभिन्न जातका बीउ ल्याएर लगाउने गरेका थियौं,’ उहाँले भन्नुभयो–‘कतारबाट ल्याएको बीउबाट तयार गरिएका बिरुवामा एउटै बोटबाट आधा किलोसम्म फल्न थालेको छ ।’
पौडेल दम्पत्तिले एक रोपनी क्षेत्रफलमा चार वर्षदेखि किबी खेती पनि शुरु गर्नुभएको छ । परीक्षणकै लागि रोपिएको किबीले प्रशस्त फल दिएसँगै फल कुहिएर झरेकोमा चिन्ता प्रकट गर्नुभयो । किबी खेतीका बारेमा सुन्दै आए पनि खेती सफल हुन्छ भन्ने लागेकै थिएन, अहिले राम्रो फलेको देख्दा खुशी लागेको बताउनुभयो । प्राविधिक ज्ञानको कमी भएकाले गाउँपालिकाले किबी खेतीसम्बन्धी तालिम सञ्चालन गरी किसानलाई थप प्रोत्साहन गर्न अनुरोध गर्नुभयो ।
जीवन उपयोगी कृषक समूह गठन गरी पहिलो वर्ष चार जनाबाट शुरु गरिएको टमाटर खेतीबाट राम्रो उत्पादन भएसँगै दोस्रो वर्ष २० घरपरिवारले टमाटर लगाएको उहाँले जानकारी दिनुभयो ।
उत्पादित टमाटर एवम् तरकारीको बजारलाई समस्या नभएको बताउँदै उहाँले टनेलबाट दुई दिनमा करिब ५० किलोसम्म बिक्री गर्ने गरेको उल्लेख गर्नुभयो । उत्पादित तरकारी खोज्दै ग्राहक डोको लिएर बारीमा नै आउने गरेको उहाँको भनाइ छ ।
पौडेलको बारीमा मौसमअनुसार काउली, बन्दा, आलु, सागका साथै घिरौंला, लौका, काँक्रा आदिको पनि राम्रो उत्पादन हुने गरेको छ । व्यावसायिक कृषिमा लागेको आठ वर्ष पुगे पनि पौडेल दम्पत्तिले हालसम्म राज्यबाट कुनै सेवा सुविधा भने पाउनुभएको छैन ।
कोदोको राम्रो उत्पादन हुने स्थानका रुपमा पहिचान बनाएको थियो । अनिकालका समयमा पनि पाउदुरे कोदो कास्कीका विभिन्न स्थानमा पुग्ने गरेको र त्यही कुरामा आधारित भै ‘दुःखको पाउदुर’ भन्ने उखान प्रचलनमा रहेको पाइन्छ । पहिला पहिला एउटै घरमा वार्षिक सात आठ मुरीसम्म कोदो उत्पादन हुने गरेको भए पनि पछिल्लो समयमा जनशक्तिको अभाव, कोदो खेतीप्रति आकर्षण घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्